पढ्न / लेख्न सुरु गर्दा निकै गाह्रो लाग्यो । कखरा र बाह्रखरी समेत मलाई थाहा थिएन । छोराछोरीबाटै सिकें। सबै अभिभावकले आफ्नो बच्चालाई सिकाउँछन् तर मेरो सवालमा भने ठ्याक्कै उल्टो भयो। मैले बच्चाहरुसंग सिक्नुपर्यो । मैले सिकाउनुपर्दा सायद दुई चार थप्पड हिर्काउँथे पनि हूँला । तर म आमा जो परें, बच्चाहरु कहिलेकाहीं झर्को मान्थे तर पनि मलाई सिकाई नै रहे । त्यसैले मैले नियमित साँझ/ बिहान छोराछोरीसंगै पढ्ने प्रयास गरिरहें। बच्चा मलाई गृहकार्य ( होमवर्क) दिएर विद्यालय जान्थें , हामी फर्किंदा यति काम सकेको हुनुपर्छ है ममी भन्थे। म पनि बच्चाहरुको निर्देशनअनुसार गृहकार्य फत्ते पार्थें । पढ्ने-लेख्ने चाहना भएर होला, मैले एक हप्ताभित्रै कखरा सिकें । तीन महिनामा बाह्रखरी सिकें। पूरा अक्षर सिक्न अलि सजिलो लागे पनि आधा अक्षर सिक्न भने निकै समस्या भयो।
लेख्ने हात बसाउन पत्रपत्रिकामा छापिएका अक्षर कापीमा उतार्थें । यो काम नियमित झैँ भयो । जबसम्म लेख्नमा हात बसेन, मैले त्यसलाई जारि राखें । सभासदको जिम्मेवारी एकातिर थियो, पढाईको जिम्मेवारी अर्कोतिर। कहिलेकाहीं कामको सिलसिलामा बाहिर जानुपर्ने हुन्थ्यो । कहिले घर जान ढिलो हुन्थ्यो । कहिले बिहानै उठेर समितिको बैठकमा जानुपर्थ्यो । त्यसले मेरो नियमित पढाईको काममा बाधा पुर्याउंथ्यो।
जिल्ला बाहिर जाँदा भने बच्चाहरुले मलाई नोटबुकमै गृहकार्य दिएर पठाउँथे । म नोटबुक लिएरै जान्थें र समय मिलेको बेला त्यसलाई पूरा गर्थें। फर्केर आउँदा बच्चाहरुलाई देखाउँथे। मलाई कुनै पनि हालतमा जतिसक्दो छिटो पढ्न/ लेख्न जान्नेपर्छ भन्ने तिव्र इच्छा जागेको थियो । सायद मेरो इच्छा र आकांक्षाले पनि यसमा निकै सहयोग गरेको थियो । फुर्सद नभए पनि दिनको एक पाना लेख्ने र अलिकति भए पनि पढ्ने गर्थें । गर्दागर्दै अलिअलि पढ्न लेख्न सक्ने भएँ । आधा अक्षर बाहेक पूरा अक्षर पढ्न सकें । निरन्तर प्रयासले अहिले म पढ्न, लेख्न सक्ने भएकी छु । अंग्रेजीको एबिसीडी पढ्न सक्छु। अक्षर चिन्न सक्ने भएपछि सभासद भएर काम गर्न निकै सहयोग पुग्यो ।
( शान्ता चौधरीको आत्मकथा कमलरीदेखि सभासदसम्म पुस्तकबाट यो अंश साभार गरिएको हो । यस पुस्तकमा शान्ता चौधरी के कारणले कमलरी बनिन्, कमलरी हुँदा कस्ता परिस्थितिहरुको सामना गरिन्, कमलरी जीवनबाट कसरि बाहिर आइन्, कसरि सामाजिक अगुवा बन्दै राजनीति क्षेत्रमा आइन, कसरि सभासद भइन् र उनले झेलेका पीडा / संघर्ष र सफलताको बारेमा उल्लेख गरिएको छ। )