विद्यार्थी जीवन भनेको, जीवनकै सुन्दर कालखण्ड हो, जहाँ हामीले धेरै कुराहरु सिक्न सक्छौं, हरेक दिन नयाँ कुरा बुझ्न पाउँछौं र नयाँ साथीहरु पनि बनाउन सक्छौं । विद्यार्थी जीवनलाई राम्रो बनाउन सक्यौं भने त्यसले हाम्रो भविष्यलाई आकार समेत दिन्छ ।

विद्यार्थी जीवनको लागि सफलताका सुत्र

तिम्रो अहिलेको लक्ष्य परिक्षा पास गर्नु हुनसक्छ । तर तिम्रो पढाइले तिम्रो करियरमा, भविष्यमा भूमिका खेल्छ । त्यसैले तिमीले एउटा लक्ष्य निर्धारण गर, आफ्नो पढाइलाई आफ्नो भविष्यसंग जोड र त्यही अनुसारको तयारि गर। पास गर्नुछ भनेर होइन, मैले केही सिक्नुछ, केही गर्नुछ भनेर पढ ।

पढाइलाई सिकाइको रुपमा लेऊ । घोकेर भन्दा बुझेर पढ । तिमीलाई कुन विषय पढ्दा रमाइलो लाग्छ र तिमी कुन विषयलाई राम्रोसंग बुझ्न सक्छौ, कुन विषयमा तिम्रो रुचि छ भन्ने जान्न सक्यौ भने, त्यसले तिम्रो लक्ष्य निर्धारण गर्न सहयोग पुग्छ । तिमी आज जुन विषयप्रति आकर्षित छौ, त्यो विषयको क्षेत्रमा तिम्रो लागि करियरको राम्रो सम्भावना हुन सक्छ ।

ऐच्छिक विषय छान्दा, साथीहरुको लहैलहैमा लागेर विषय छनोट नगर । विकल्पमा भएका विषय मध्ये तिमीलाई कुन विषय पढ्न रमाइलो लाग्छ, तिम्रो भविष्यको लक्ष्यलाई कुन विषयले सहयोग गर्न सक्छ भन्ने जानेर छनोट गर ।

आफूले नजानेको कुरामा प्रश्न गर्न अप्ठ्यारो नमान। आज प्रश्न गर्न लाज अथवा अप्ठ्यारो मान्यौ भने, कुनै दिन त्यही कुरा नजान्दा तिमीलाई ठूलो पछुतो हुनेछ । नजान्नु लाज मान्नुपर्ने विषय होइन, यदि तिमी नजानेर पनि जाने जस्तो गर्छौ भने त्यो लाजको विषय हो ।

आफ्ना प्राथमिकताहरु छुट्टाऊ । पढाइलाई आफ्नो मूख्य प्राथमिकता बनाऊ र काम, खेल तथा मनरोञ्जन आदिलाई पढाइ पछिको प्राथमिकता देऊ । तिमीलाई जुन क्षेत्रमा रुची छ, त्यो क्षेत्रको कामलाई पढाइपछि अर्थात दोस्रो प्राथमिकतामा राख । यी सबैको लागि समय-तालिका छुट्टाएर आफ्नो दैनिकी बनाउन सक्छौ।

समयको महत्वलाई ध्यान देऊ। हरेक दिन केही नयाँ सिक्ने प्रयास गर। पाठ्यक्रमभन्दा बाहिरको किताबहरु पनि पढ्ने गर, जसले गर्दा तिम्रो ज्ञानको दायरा फराकिलो हुन्छ । यो समय भनेको तिमीले जिम्मेवारीहरुको भारि नबोकी आफ्नो व्यक्तित्व विकास मात्र गर्न पाउने सुनौलो अवसर हो ।

आफ्नो स्वास्थ्यलाई ध्यान देऊ । स्वास्थ्य राम्रो भयो भने, तिमीलाई आफ्नो पढाइमा केन्द्रित हुन सजिलो हुन्छ। त्यसैले स्वस्थ खाना खाने, सरसफाईमा ध्यान दिने गर।

घरको काममा सहयोग गर । फुर्सदको केही समयलाई घरको काममा सहयोग गर्नको लागि सदुपयोग गर्यौ भने, तिमीले व्यवहारिकता सिक्छौ। तिमीमा जिम्मेवारी बहन गर्न सक्ने क्षमता, आफ्नो काम आफै गर्ने क्षमतामा वृद्धि हुन्छ जसले गर्दा तिमीमा आत्मविश्वास पनि बढ्दै जान्छ र करियरमा पनि त्यसले ठूलो सहयोग पुर्याउँछ ।

आफ्नो रुचिका क्षेत्रमा आफूभन्दा ठूला व्यक्तिहरुसंग कुरा बुझ्ने प्रयास गर। यसले तिमीलाई आफ्नो लक्ष्य निर्धारण गर्न, भविष्यको योजना बनाउन सहयोग हुन्छ ।

आफ्नो समाज, देश तथा विश्वमा घटेका घटनाहरुको बारेमा जानकारी राख्ने गर। यसले तिमीमा विभिन्न जानकारी बढ्छन्, ज्ञान बढ्छ र तिम्रो दिमागमा विचारहरुको उत्पत्ति हुन थाल्छ । पढाइ भनेको किताब रटाइ होइन, तिम्रो चौतर्फी विकास हो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text