हामीलाई अरु कसैले बचाउन सक्दैन। हामीलाई बचाउने भनेको, हामी आफू स्वयंले हो।

-गौतम बुद्ध

परिचय

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि उनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । वैशाख पूर्णिमामा जन्मेका उनले वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, उनले वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे ।

प्रारम्भिक जीवन

गौतम बुद्धको जन्म ५६३ बि.सीमा वैशाखशुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी मा भएको थियो । राजा शिद्धोदन र रानी महामायाँदेविको विवाह भएर २० वर्षपछि मात्र सुपुत्र सिद्धार्थ गौतले गर्भमा वास लिएका थिए । एक दिन रानी महामायादेवी कपिलवस्तुबाट सुसारेहरु सहित आफ्नो माइत देवदह जाँदै गर्दा बीच बाटोमा पर्ने लुम्बिनी बगैंचामा एउटा सालको रुखमुनि आराम गर्दा गर्दै सिद्धार्थ गौतमको जन्म भएको थियो। ती शिशु अर्थात सिद्धार्थ गौतमले जन्मने बितिकै सात पाइला हिंडेका थिए भन्ने मान्यता समेत रहीआएको छ । सिद्धार्थ गौतमकी आमा अर्थात मायादेवीको सिद्धार्थ जन्मेको केही दिनमै निधन भएको थियो । त्यसैले उनलाई आमाको अभाव महसुस हुन नदिइ अर्की आमाले हुर्काइन्।

सिद्धार्थ गौतमका बुवा सुद्धोदन शक्तिशाली राजा भएका कारण उनको बाल्यकाल सुखसयलमा बित्यो । १६ वर्षको उमेरमा उनको विवाह यशोधरासनग भयो र विवाहको लामो समयपछि उनीहरुबाट एउटा छोरा जन्मिए। छोराको नाम राहुल राखिएको थियो । त्यतिबेलासम्म सिद्धार्थ गौतमलाई संसारमा दु:ख र अभाव पनि हुन्छ भन्ने नै थाहा थिएन।

दार्शनिक यात्रा

एकदिन राजकुमार सिद्धार्थलाई दरबार बाहिर गाउँमा घुम्न जान मन लाग्यो। उनी आफ्नो सहयोगीका साथ बाहिर निक्सिए। बाहिर निस्किएर वृद्ध व्यक्ति, सहव लिएर हिंडेका मानिसहरु, दुखी अनुहारहरु देख्दा उनलाई अचम्म लाग्यो । उनी आफ्ना सहयोगीलाई ‘यो के हो ? किन यस्तो ?’ भनेर सोध्थे र सहयोगीलाई उनलाई यो संसारको रित हो भनेर जवाफ दिन्थे । सहयोगीले अनेक तरहले सम्झाउँदा पनि उनलाई आफूले उत्तर नभेटेको जस्तो लाग्यो । दरबारमा फ़र्किएअ पनि सिद्धार्थ गौतमको मन अशान्त नै रह्यो । त्यसपछि २९ वर्षका उनी तिनै उत्तरको खोजी गर्न भनेर एकदिन सुटुक्क घर छोडेर निस्किए ।

दरबार छोडेर सिध्दार्थ गौतम आफ्ना सहयोगी छन्दकका साथ अनोमा नदी किनारमा पुगे र घोडाबाट ओर्लिएर नदिको किनारमा उभिएर आफूले लगाएका कपडाहरु उतारे | ती कपडाहरु छन्दकलाई दिंदै, घोडा समेत लिएर कपिलवस्तु फर्किन आग्रह गरे । छन्दक रुँदै घर फर्किए भने सिद्धार्थ गौतमले आफैले केश मुण्डन गरेर गेरु वस्त्र धारण गरि जंगलको बाटो लागे ।

सफलता

बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ । सिद्धार्थ गौतमले बोधगयामा एक पिपलको रुखमुनी ६ वर्षसम्म तपस्या गरेपछि उनले बोधीज्ञान प्राप्त गरेका थिए| त्यसपछि उनले आफूले प्राप्त गरेको ज्ञान सही छ कि छैन भनेर फेरी सात हप्तासम्म चिन्तन मनन गरेका थिए | त्यसपछि उनी गौतम बुद्ध बने । त्यतिबेला उनको उमेर ३५ वर्ष थियो ।

गौतम बुद्धले आफूले प्राप्त गरेको ज्ञान सबैभन्दा पहिले आफूसंगै ध्यानमा बसेका भिक्षुहरुलाई सुनाएका थिए। त्यसपछि गौतम बुद्धले अरु मानिसहरुलाई पनि त्यो ज्ञान दिनथाले । उनले ज्ञान बाँड्नुको मूख्य उद्देश्य मानिसहरुलाई संसारिक दु:ख र कष्टको मुक्ति मार्ग देखाउनु थियो । गौतम बुद्धको जिवनकाल नै जगतको कल्याणका निम्ति समर्पित थियो । आफूले ज्ञान प्राप्त गरेपछि गौतम बुद्धले ४५ वर्षसम्म गाउँगाउँमा पैदल यात्रा गर्दै लोककल्याणका निम्ति बुद्ध धर्म बारे प्रवचन दिएका थिए । ज्ञान बाँड्दा बाँड्दै ८० बर्षको उमेर हुँदा कुशिनगरको रम्निय जङ्गलमा गौतम बुद्धले प्राण त्यागेका थिए । गौतम बुद्ध भौतिक रुपमा नरहेतापनि उनका अनुयायीहरुले उनको ज्ञानलाई फैलाए र बुद्ध धर्म संसारभर फैलियो ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text