सुन्ने गरिन्छ – नेपालमा पश्चिमबाट घाम उदाउन सक्छ । यसको मतलब हो, प्रकृतिले दिएको अतुलनिय वरदान प्राकृतिक स्रोतलाई उपभोग गर्न सकियो भने , नेपालमा राती पनि बिजुली बत्ति बालेर काम गर्न सकिन्छ।
भारतलाई गाली गरेर आफूलाई राष्ट्रवादी ठान्ने नेताहरुले प्रकृतिले दिएको वरदानको सदुपयोग गरेर नेपालीलाई भारतको गल्लीगल्लीमा ढोका ढकढक्याएर काम खोज्न जानुपर्ने बाध्यताबाट खोइ बचाउन सकेका ? बरु उनीहरु युवाहरुलाई विदेशिन बाध्य बनाएर बाल र वृद्धवृद्धालाई मात्र शासन गर्न खोज्दै छन् । ती युवाहरुलाई विदेशिनबाट बचाउनु पो राष्ट्रवाद।
तराईको अपराध जताततै गुइठा बलेर धुवाँले छोपिएको छ। जंगल फांडीएर चारकोसे झाडी मरुभूमि जस्तो नाङ्गो हुन लागेको छ।
देश अन्धकारमा डुबेको देख्दा कर्णाली नदी सुत्केरी आमाले बच्चालाई दूध चुसाउन नपाएर मानिए जस्तै भएकी छिन्। देश अन्धकार देख्दा कर्णालीको छातीमा असहज पीडा हुन्छ।
देशको दु : ख देखेर मसंगै यात्रा गरिरहेकी रमिलाले भनिन् – ” कस्तो दु:ख रहेछ, है ! ”
मैले भनें – ” हामी आफूलाई दुखी ठान्थ्यौं । यी दु:खका अगाडी हाम्रा दु:ख त कति साधारण रहेछन्, है ! अब हामी आफ्नो दु:खमा कहिल्यै दुखी नहुने है त । ”
दूबोलाई जति कुल्चेपनि अलिअलि हरियोपन बाँकी नै रहन्छ। लाग्यो, यी मानिसहरु दूबो हुन्। यीनमा अझै पनि हरियोपन छ । राजनीतिक मौसम राम्रो भए यी मानिसहरुको जीवनको बगैंचामा अवश्य वसन्त आउनेछ। उनीहरुको जीवनको दूबो मौलाउनेछ।
एक पटक अमेरिकाको कनेक्टिकट राज्यमा हाम्रो कार्यक्रम हेरेर तारानाथ शर्माले गम्लङ्ग अङ्गालो मारेर भने- ” भाइ, तिमी यो देशमा जन्मेको भए कहाँ पुग्ने थियौ ! ”
मैले भनें- ” होइन दाइ, अमेरिकामा जन्मेको भए ठूलो घाटा पर्ने थियो । म अमेरिकामा जन्मेको भए मलाई तारानाथ शर्मा जस्ता मान्छेले यसरि अङ्गालो हाल्ने थिएनन् ।
तारानाथ शर्माले ‘कस्तो कुटनीतिक जवाफ दियौ तिमीले’ भनेर फेरी अङ्गालो मारे । साँच्चिकै म नेपालमा जन्मेर नेपाली हुन पाएँ । नेपालमा जन्मेर होमन्जय आचार्य र गणेशकुमारीको छोरो हुन पाएँ, मेरा दिदीहरुको भाइ हुन पाएँ, मिरा र रमिलाको श्रीमान हुन पाएँ । त्रिलोक र मोहितको बाबु बन्न पाएँ, मदनकृष्ण श्रेष्ठको साथी हुन पाएँ । सबै नेपाली दाजुभाइ, दिदीबहिनीको एउटा कलाकार हुन पाएँ, नेपाल देशलाई आमा भन्न पाएँ।
म नेपालमा जन्मन पाएकोमा गर्व गर्छु – जय नेपाल !
( नेपाली कलाक्षेत्रका सफल कलाकार हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको अन्तिम अध्याय आँशुको रङ्गबाट यो छोटो अंश साभार गरिएको हो । उनको आत्मकथा ‘चिना हराएको मान्छे’ ले जीवन बुझ्न मद्दत गर्दछ । त्यसैले यो पुस्तक जोकोहीका लागि पनि उपयुक्त पुस्तक हो । )