परिचय

कार्ल मार्क्स एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्ति हुन्, जसको विचार र सिद्धान्तको आधारमा वैज्ञानिक समाजवादको जन्म भएको हो । उनको जन्म ५ मे १८१८ मा भएको थियो ।

प्रारम्भिक जीवन

कार्ल मार्क्सको जन्म प्र्सिया(Prussia) राज्यको लोअर रीन् (Lower Rhine) प्रान्तको ट्रायर् (Trier) भन्ने ठाउँमा भएको हो । उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकील थिए जसले प्रसियाको संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए । उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए । तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए। ६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाईयो ।

मार्क्सका आमाबुवाले उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए । त्यसपछि उनलाई युनिभर्सिटी अफ बोन्मा भर्ना गरिएको थियो । त्यहाँ पढ्दा उनले कविहरुको कलब लगायत विभिन्न क्लबमा आबद्ध भएर ती क्लबमा सक्रिय रुपमा लाग्न थाले। यसले गर्दा उनको पढाइ खस्कियो । त्यसैले कार्ल मार्क्सका बुवाले उनलाई अनुशासनमा कडाई गर्ने युनिभर्सिटी, युनिभर्सिटी अफ बर्लिनमा भर्ना गरिदिए ।

युनिभर्सिटी अफ बर्लिनमा पढ्दा कार्ल माक्स पढाइमा केन्द्रित भए र उनले विशेष गरि कानुन विषयमा आफ्नो रुचि देखाए। त्यसैक्रममा उनी प्रख्यात दार्शनिक जी.डब्लु.एफ हेगलबाट प्रभावित भए र हेगलका सिद्धान्तहरुलाई स्थापना गरिरहेको स्थानीय समूहमा आबद्ध भए ।

कार्ल मार्क्सका बुवाको असमायिक निधन भएपछि उनीहरुको आर्थिक स्थिति कमजोर बन्यो। त्यसैले उनले लेखनबाट अर्थोपार्जन गर्न थाले । जब कार्ल मार्क्सलाई महसुस भयो कि, उनको रुचि इतिहास र दर्शनमा छ, उनले लेखन कार्य छोडे।

सन् १८४२ मा कार्ल मार्क्स कोलोन गए । त्यहाँ उनी एक पत्रिकाको सम्पादक बनेर काम गरे । पत्रिकामा काम गर्नुको मूख्य उद्देश्य परिवारको आर्थिक अवस्थाको लागि सहयोग गर्नु थियो । र, दोस्रो उद्देश्य आफ्ना विचारहरु बाहिर ल्याउनु । उनले त्यस पत्रिकामा काम गर्दा सामाजिक मुद्धा, अर्थशास्त्रीय विषय सम्बन्धि लेख लेख्नुका साथै रुसी शासकको विरुद्धमा, शोषणको विरुद्धमा लेखे । जसले गर्दा सन् १८४३ मा उक्त पत्रिका नै बन्द गराइयो ।

राजनीतिक यात्रा

कार्ल मार्क्स सन् १८४३ मा पेरिस गए । उनी त्यहाँ एक पत्रिकाको सह-सम्पादक बनेर काम गर्न थाले । उनले उक्त पत्रिकामा आफ्ना दुई लेखहरु , एउटा यहुदीहरुको सम्बन्धमा र अर्को हेगेल दर्शन सम्बन्धि लेखेका थिए। यी मध्ये सन् १८४४ मा एक मात्र लेख प्रकाशित भयो र प्रकाशन भएको लेखबाट धेरै पाठक तथा समिक्षकहरुले उनलाई चिन्न थाले। जर्मनी राज्यले उक्त पत्रिका निषेध गरेपछि कार्ल मार्क्सले पेरिसकै अर्को पत्रिका फरवार्डसमा काम गर्न थाले । त्यही समयमा उनले हेगेलका विचारहरुलाई आधार बनाएर समाजवाद सम्बन्धि आफ्ना विचारहरु लेखे र त्यतिबेला युरोपमा फैलिएका अरु समाजवादीहरुको आलोचना गरे ।

सन् १८४४ अप्रिलमा कार्ल मार्क्सको मित्रता फ़्रेदरिच एङ्गल्ससंग बाँधियो । फ़्रेदरिचले कार्ल मार्क्सलाई उनका सिद्धान्त तथा विचारलाई परिस्कृत गरेर बाहिर ल्याउन मद्दत गरे । राजनीतिक अर्थशास्त्रका सिद्धान्तको अनुसन्धान तथा प्रकाशनमा पनि उनलाई फ़्रेदरिचले ठूलो मद्दत गरे। राजनीतिक अर्थशास्त्र कार्ल मार्क्सले गरेको मूख्य काम मध्येमा पर्छ । मार्क्सको राजनीतिक अर्थशास्त्रमा हेगेलको सिद्धान्त, अंग्रेजी अर्थशास्त्र र फ्रान्सको पौराणिक समाजवादलाई मिलाइएको छ । उनले आफ्ना सबै विचार तथा सिद्धान्तहरु सन् १८४४ को अगस्टमा प्रकाशन गरेका थिए ।

फरवार्डस पनि बन्द गरिएपछि कार्ल मार्क्स सन् १८४५ मा साथी फ़्रेदरिचसंगै ब्रुसेल्स गए । त्यहाँ उनले फ़्रेदरिचसंग मिलेर जर्मन विचार सम्बन्धि पुस्तक लेखेर र छोटो बेलायति भ्रमणको क्रममा समाजवादी क्रान्ती गरिरहेका नेताहरुलाई भेटे । सन् १८४७ मा कार्ल मार्क्सले ‘द पोभरटि अफ फिलोसोफी’ पुस्तक लेखे । त्यसपछि उनले परिवर्तनको लागि क्रान्ति आवश्यक भएको भन्दै आफूले सार्वजनिक गरेका ती सिद्धान्तहरु कार्यन्वयन हुनुपर्ने बताउन थाले ।

कार्ल मार्क्स साथी फ़्रेदरिचसंगै लेग अफ द जस्ट नामक संस्थामा आबद्ध भए । उनी त्यस संस्था मार्फत आफ्नो आवाज बुलन्द होस् भन्ने चाहन्थे, तर त्यसको लागि उक्त संस्था बाहिर निस्किएर राजनीतिक पार्टीको रुपमा चिनिनुपर्थ्यो । यो बुझेका कार्ल मार्क्सको प्रयासमा नै उक्त संस्था सन् १८४७ मा ‘द कम्युनिस्ट लेग’ नाम राखेर राजनीतिक पार्टीको रुपमा बाहिर आयो । उनले त्यहाँ आफ्ना सिद्धान्तहरु राख्न थाले समाजवादको पक्षमा सन् १८४८ मा पार्टीले ‘ कम्युनिस्ट घोषणापत्र’ जारि गर्यो । कम्युनिस्ट क्रान्ति सुरु भएपछि उनलाई फ्रान्स फर्किनको लागि दबाब भयो ।

सन् १८४८ मा कार्ल मार्क्स फ्रान्स फ़र्किएपछि उनले पेरिसमा कम्युनिस्ट पार्टीको मूख्य कार्यालय बनाए र फ्रान्समा भएका समाजवादीहरुलाई एकै ठाउँमा ल्याउने काम गर्न थाले । त्यसपछ जर्मनीमा समाजवादी चिन्तन फैलाउने लक्ष्य लिएर उनी कोलोन गए र त्यहाँ कम्युनिस्ट घोषणापत्रको सारांशको रुपमा जर्मनीमा कम्युनिस्ट पार्टीको माग शिर्षकमा प्रकाशन गरे। त्यसपछि उनले आफ्ना सिद्धान्तहरु पनि प्रकाशन गर्न सहयोग हुने, कम्युनिस्ट कार्यहरु प्रकाशन गर्न सहायो हुने हुनाले त्यहाँ दैनिक पत्रिका संचालन गरे। पत्रिका संचालन गरेको केही समयमै उनलाई प्रहरीले पक्राउ गर्यो । प्रसुयाली राजा कार्ल मार्क्सको कामको विपक्षमा उभिएपछि कार्ल मार्क्सलाई सन् १८४९ मा देश निकाला गरियो। देश निकाला भएका कार्ल मार्क्स लन्डन गए, जहाँ उनको बाँकी जीवन बितेको थियो ।

सन् १८४९ मा कम्युनिस्ट लेगमा दरार आएपाछि कार्ल मार्क्स जर्मनी समाजवादी मजदुरको एजुकेशनल सोसाइटीमा आबद्द भए, तर त्यहाँ मतभिन्नता भएपछि उनले १८५० सेप्टेम्बर १७ मा राजिनामा दिएका थिए । घरको आर्थिक अवस्था नाजुक भएका कारण उनले आफ्नो क्रान्तीकारी कदमसंगै लेखनकार्यलाई अगाडी बढाएका थिए । पेरिसका जनताहरुले सरकार ढाल्नको लागि गरेको आन्दोलनमा जनताको समर्थन गर्दै कार्ल मार्क्सले ‘द वार इन फ्रान्स’ लेखेका थिए। जीवनका पछिल्ला दिनहरुमा उनी अस्वस्थ बने र आफ्नो सिद्धान्तको लागि धेरै हठी भएको पनि स्वीकारे । तर राजनीतिबाट विश्राम लिएपछि पनि उनले रुसी क्रान्तिकारीहरुलाई साथ दिएका थिए ।

कार्ल मार्क्सले सन् १८४३ जुन १९ मा जेन्नीसंग विवाह गरेका थिए । उनीहरुका सात सन्तान थिए। जेन्नीको सन् १८८१ मा निधन भयो, जसले गर्दा उनी विक्षिप्त भए । त्यसपछि सन् १८८३ मा जेठी छोरीको पनि निधन भएपछि उनी पीडाले झन् थालिए र त्यसै वर्ष अर्थात १८८३ मार्च १४ मा उनको निधन भयो ।

सफलता

कार्ल मार्क्स मार्क्सवादका पिताको रुपमा संसारभर परिचित छन् । सन् १८४८ मा प्रकाशित भएको कम्युनिष्ट घोषणापत्रलाई विश्वकै सबैभन्दा बढी प्रभावशाली राजनीतिक घोषणापत्रको रुपमा लिइन्छ। त्यस्तै मार्क्सवादी अर्थशास्त्र पनि विश्वभर प्रसिद्ध छ । कार्ल मार्क्स गएर पनि जीवित छन् र अझै पनि विश्वको राजनीति उनको नामले तरंगित हुन्छ।

जसले आफ्नो जीवनमा केही कुरा सिर्जना गर्न, केहि कुरा प्रतिपादन गर्न, आफ्नो नयाँ परिचय बनाउन चाहन्छ, उसले आफ्नो सपनालाई आफ्नो गर्भमा बोक्ने साहस गर्नुपर्छ र त्यसलाई जन्माउँदा हुने प्रसव पीडालाई सहने हिम्मत गर्नुपर्छ, आफ्नो ज्यानको बाजी थापेर उसलाई जन्माउने जोखिम मोल्नुपर्छ । जसरि एउटी आमाले आफ्नो सन्तानलाई जन्म दिन्छिन्।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text