नेपालको रौतहटमा जन्मिएका दिनेश शाहले आफू अमेरिका पुगेर व्यवसाय गर्नेछु भन्ने सपनामा पनि सोचेका थिएनन् । अहिले अमेरिकामा सफल व्यवसायी बनेका उनी काठमाडौंका सडकमा पत्रिका बेच्ने काम गर्थे । पशुपति क्याम्पसमा पढ्दै गर्दा, आफ्नो पढाई खर्च र घरमा आर्थिक सहायताको लागि उनले पत्रिका बेच्ने काम थालेका थिए ।
उनी भन्छन्,” बाटोमा पत्रिका बेच्ने केटोले कहाँ अमेरिकाको सपना देख्न सक्छ र ! ”
पत्रकारितामा स्नातक गर्दा मात्र बल्ल दिनेशलाई मानिसहरु विदेश जाँदा रहेछन् भन्ने थाहा भएको थियो। परिवारको कमजोर आर्थिक स्थिति, भाइबहिनीलाई उचित शिक्षा दिलाउने चाहनाले उनले पनि विदेश गएर पैसा कमाउने सपना देख्न थाले । त्यो सपना उनको बाध्यता थियो । उनी भन्छन् ” मैले विदेश जाने मनस्थिति बनाइरहेको समयमा एकजनाले तल्लोबाटो बाट थाइल्याण्ड हुँदै फ्रान्स जाने अफर ल्याए । त्यसरी जानको लागि पाँच लाख चाहिने कुरा आयो ।
त्यतिबेला पाँच लाख मेरो लागि सानो रकम थिएन। परिवारका लागि झन पाँचलाख त घरखेत बेचे पनि पुग्ने थिएन। ”
त्यहि पनि दिनेशले ऋणधन गरेर जसोतसो पाँच लाख जुटाए । उनी थाइल्याण्डको लागि उडे। तर थाइल्याण्ड पुग्दापुग्दै उनको फ्रान्स पुग्ने सपना टुक्रियो। उनी सम्झन्छन् ” विदेशको भूमीमा आफ्नै नेपाली साथीले ठगे। बल्लतल्ल जम्मा गरेको पैसा साथीले लगेर टाप ठोके। फ्रान्स पुर्याउँछु भनेर पैसा उठाउने मित्र एयरपोर्टबाटै बेपत्ता भए। म मेरै बाध्यताले ठगिँए।”
साथीले एयरपोर्टमै छाडेर गएपछि थाइल्याण्डका सडकमा दुई दिनसम्म भोकै भैतारिए शाह। एकातिर नेपालमा साथीभाइ र आफन्तसँग हात फैलाएर निकालेको ऋण र परिवारको चिन्ता। अर्कोतिर थाइल्यान्डको बाटोमा अलपत्र परेको चिन्ता। ती दिन सम्झिन्दा अहिले पनि उनका आँखा रसाउँछन् ।
दिनेश सडकमै भौतारिरहेको समयमा अर्का एक नेपाली भेटीए ‘ टिम गुरुङ’। थाईल्याण्डको सडकमा भेटिएका टिम गुरुङले शाहको जीवनलाइ नयाँ मोड दिए। शाह भन्छन् ‘उनि नभेटीएको भए मेरो जिवन के हुन्थ्यो अहिले त्यसै भन्न सक्दिन।’ थाईल्याण्डमा आयात निर्यातको व्यवसाय गरेर बसेका गुरुङले शाहलाइ आँट मात्र दिएनन् काम समेत दिए। फ्रान्सको सपना बोकेर हिँडेका शाहले थाइल्याण्डमै महिनाको एक सय अमेरिकन डलरको काम पाए। ‘जिवनले अलिकती रग फेर्न थाल्यो। सपनाहरु अलिकती सफल हुनथाले जस्तो अनुभव हुन थाल्यो।’ उनी सम्झन्छन्।
उनको काम थियो, कम्बोडियाबाट कपडा ल्याउँदै र थाइल्यान्डका बाटोमा बेच्ने काम सजिलो भने थिएन। दिनेश भन्छन् ‘मैले कम्बोडियाबाट सस्तोमा कपड़ा किनेर ल्याएर नेपालको न्युरोडमा जस्तै थाईल्याण्डको सडकमा व्यापार गर्नु पर्ने थियो।’ अलिकती पैसा बन्न थाल्यो। विस्तारै समय परिवर्तन हुँदै जान थाल्यो। दिनेशलाई व्यापार सम्बन्धि ज्ञान भयो र यसबाट जीवनलाई उकास्न सकिने रहेछ भन्ने महसुस भयो। त्यसपछि उनले थालेको पाँच महिनापछि आफ्नै सानो व्यापार गर्ने योजना बनाए ।
जतिसक्दो चाँडो फ़्रान्स जान भनि ऋण तिर्नु पनि थियो। पाँच महिना काम गरेपछि दिनेशले ऋण चुक्ता गरे र उनीसंग तीनसय डलर पनि भयो । त्यही रकमले उनले व्यापार सुरु गरे। दिनेश शाहले सन् २०१० को सेप्टेम्बर १० मा थाईल्याण्डमा साउथ एशियाटिक शिपिङ एण्ड ट्रेडिड कम्पनि दर्ता गरे। उनले विधिवत रुपमा कार्यालय खोलेर व्यापार शुरु गरे। व्यापार राम्रो हुँदै गयो । कर्मचारी थपिन थाले। सिंगापुर, भियतनाम, कम्वोडिया, लाअोस, मलेशिया, दुवई र कतार जस्ता मुलुकहरुमा व्यापारिक सम्झौताहरु पनि बढ्दै गयो।
सन् २०११ मा दिनेश शाहको जीवनले फेरी नयाँ मोड लियो । थाईल्याण्डमा सरकार परिवर्तन भएपछि व्यापारिक नियम कानुनहरु कड़ा भयो र व्यापारमा केही समस्याहरु बढ्न थाले। फेरी अमेरिकातिर जाने योजना बनाए उनले। उनको योजना सफल भयो र सन् २०११ अक्टोबर ३ मा अमेरिका स्थित क्यालिफोर्निया, लसएन्जल्सको आर्टेशियामा पुगे।
अमेरिका पुगेपछि दु:खको प्रकार बदलियो। महिनाभरी काम गरेबापत १३ सय डलर पाइन्थ्यो, भाडामा सबै सकिने। आफै व्यापार गरेर पैसा कमाउने बानी परेका र आफ्नै व्यवसाय गरेका उनलाई त्यो काम र कमाइले सन्तुष्टि दिएन । त्यहाँ पनि उनलाई ‘आफ्नै केही गर्नुपर्छ’ भन्ने विचारले घच्घच्याईरह्यो । रेष्टुरेन्टमा काम गरेको तीन वर्षपछि उनले आफ्नो त्यो अनुभवको आधारमा रेष्टुरेन्ट व्यवसाय गर्ने निधो गरे। आफूसंग भएकोमा अलिअलि खोजेर उनले आफैले काम गरिरहेको रेष्टुरेण्ट ‘टेङगी टोमेटो’ २ लाख डलरमा किने ।
रेष्टुरेन्ट व्यवसाय पछि ‘कोरस मार्केट’ ग्रोसरीले उनको व्यवसायिक सफलतालाई अझ फैलायो। आफूले गरेका हरेक व्यवसायहरु पार्टनरसिपमा नै सफल भएको बताउने शाह त्यहाँको नेपाली समुदायको लागि उदाहरण बनेका छन् । हाल उनले ३ वटा रेष्टुरेन्ट र २ वटा अन्य स्टोरहरु संचालन गरिरहेका छन् ।
दिनेश शाह आफ्नो व्यवसायमा मात्र नभएर सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनी क्यालिफोर्निया लसएन्जल्स स्थित नेपाल अमेरिका एकता समाज र मधेसी एसोसिएशन च्यापटर लसएन्जल्स्मा आबद्ध भएर सक्रिय रुपमा अगाडी बढिरहेका छन् ।