राजा अकबरले एकपटक आफ्नो दरबारमा रहेका सबैको परिक्षा लिन चाहे । यो कुरा उनले एक योगीलाई बताए । त्यसपछि ती योगीले आफूले त्यस्तो परिक्षा लिन सक्ने बताए ।

अकबरले खुशी हुँदै भने ‘ गुरुदेव ! त्यसोभए यो परिक्षा ढिलो नगरी, आजै लिनुहोस्’ । योगी र अकबर परिक्षाको योजनाका साथ दरबारमा गए ।

दरबारमा पुगेपछि सबैलाई एकै ठाउँ भेला गराइयो । आफूसंग भएको माटोको भाँडो सबैको अगाडी राख्दै योगीले भने , ‘ यो भाँडोमा के छ ? कसले भन्न सक्छ ?’। भाँडोमा बिर्को लगाइएको थियो । त्यसैले सबै अक्कबक्क परे ।

तर दरबार भरिमा चतुर मानिने बिरबल सरासर माटोको भाँडो निर पुगे । उनले भाँडोको बिर्को खोल्दै भने , ‘ भाँडो खाली छ ।’

अनुहारमा आक्रोश देखिएका योगीले भने ,’ किन बिर्को खोल्यौ ? तिमीले भाँडोको बिर्को खोलेर हेरेपछि दिएको जवाफ मान्य छैन ‘ ।

बीरबलले विनम्रताका साथ उत्तर दिए ‘ गुरुदेव ! प्रश्न केवल भाँडोमा के छ ? भन्ने थियो । यो बाहेक न त त्यहाँ कुनै अरु प्रश्न थियो, न त कुनै नियम नै हजुरले बताउनु भएको थियो’ ।

बीरबलको उत्तर सुनेर योगी जिल्ल परे भने अकबर मुसुमुसु हाँस्दै बीरबलको चातुर्य प्रति खुशी प्रकट गरे ।

तपाईंको अगाडी एउटा समस्या छ, तर सजिलो संग समाधान हुने त्यो समस्यालाई तपाईं आफैले जटिल बनाउंदै त हुनुहुन्न ? धेरै सोंचेर तपाईंले हुँदै नभएका समस्यालाई आफैले सिर्जना गरिरहनुभएको त छैन ? जहाँ अवरोध नै छैन, त्यहाँ अवरोध देख्दै हुनुहुन्छ कि ?

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text