वरिष्ठ पत्रकारको रुपमा परिचित टंक पन्तलाई आफू पत्रकार बन्छु भन्ने कहिल्यै लागेन । गुल्मी जील्लाको दार्सिमबास भन्ने सानो गाउँमा जन्मिएका उनलाई पत्रकारको परिचय समेत थाहा थिएन । बिरामी आमा, आमाको औषधी उपचार र घरव्यवहार मिलाउन व्यस्त बुवा, घर देखि टाढा बसेर पढ़्ने दाजु र सानो भाइको बीचमा हुर्किरहेका उनीमाथी घरायसी कामको जिम्मेवारी थियो ।
टंक पन्तको औपचारिक पढाइको सुरुवात बलेटक्सार प्रा.वि बाट भएको थियो । कक्षा ३ सम्म त्यहाँ पढेर उनी कक्षा ४ मा पढ़्नको लागि थोर्गा नि.मा.वि गए । कक्षा ४ मा पढ्दा देखि नै उनले घरको काम गर्न थालिसकेका थिए । माटोको घर भएकोले र सधै दैलो पोत्नुपर्छ भन्ने मान्यताले उनले बिहान कोही नउठ्दै दैलो पोत्थे । त्यसपछि पानी बोक्ने, घाँस ल्याउने, भान्साको काम गर्ने गरेर सकेपछि मात्र उनी स्कुल जान्थे । स्कुलबाट आएपछि फेरि घरको धन्दा सुरु हुन्थ्यो । यसरि त्यहाँ आठ कक्षा पास गरेपछि उनी ९ कक्षामा पढ्नको लागि छिमेकी गाउँ दिगाममा रहेको आदर्श मा.विमा भर्ना भए । स्कुल टाढा थियो, स्कुल पुग्न कम्तिमा पनि एक घण्टा लाग्थ्यो । उनी बिहान घाँस काटेर ल्याएपछि मात्र स्कुल जान्थे। स्कुल जाँदा खेत-खोला हुँदै जानुपर्ने भएकोले उनले हँसिया, नाम्लो लिएर हिंड्थे, खेतमा कतै लुकाएर जान्थे र स्कुलबाट फर्किंदा घाँस काटेर, घाँसको भारि बोकेर घर पुग्थे। यसरि नै उनले एस.एल.सी परिक्षा दिएका थिए ।
एस.एल.सी दिएको समय सम्झिंदै पत्रकार टंक पन्त भन्छन् ,” एस.एल.सी नजीकिंदै थियो, तर पढ्नको लागि समय नै हुँदैनथ्यो। स्कुलबाट फर्किंदा साँझ परिसकेको हुन्थ्यो। थकाइले लखतरान भइएको हुन्थ्यो। बेलुका खाना खाइसकेपछि वनको बाटो हुँदै म साथीहरुसंगै एकजना अग्रजकहाँ गणीत पढ्न भनेर पुग़्थेँ। राती घर फर्कन सम्भव हुँदैनथ्यो । त्यहाँ हाम्रो सानो बारी थियो र बारीमा दाउरा राख्नको लागि बनाइएको कड्कुरो थियो । म त्यहीं सुत्थें । यसरि पढेर म एस.एल.सी पास भएको थिएँ । म स्कुले जीवनमा कहिल्यै फेल पनि भइन र कहिल्यै राम्रो अंक पनि ल्याउन सकिन ” ।
टंक पन्तलाई पढाइमा रुची जाग्थ्यो । तर, घरको परिस्थितिले गर्दा उनले लाहुरे बनेर पैसा कमाएर, आमाको उपचार गर्ने, परिवारलाई धनी बनाउने सपना देख्थे । तर, एस.एल.सी पछि उनको जीवनले नयाँ मोड लिंदै थियो, जसबारे उनी आफै पनि अनभिज्ञ थिए। एस.एल.सी पछि उनलाई आफन्तकहाँ बसेर पढ्नको लागि बुटवल पठाइयो । त्यहाँ पढाइ पनि नहुने र जागिरको लागि पनि बाटो नबन्ने देखेपछि उनी एक्लै काठमाडौं आए । काठमाडौंमा आएपछि उनी आर.आर क्याम्पसमा भर्ना भएर पत्रकारिता पढ्न थाले ।
काठमाडौंको बसाईं कठीन थियो। एउटा कोठामा ४/५ जना मिलेर बस्थे, घरबाट पैसा पठाइदिन सक्ने स्थिति थिएन । जागिर खोज्नको लागि उनी दिनभरि आवश्यकता लेखिएको देखे जतिको ठाउँमा पुग्थे । कहिले, जागिर पाइने आशामा आफूले चिनेको मान्छेहरुको घरमा गएर घण्टौं बस्थे। तर, पनि सधै ‘हात लाग्यो शुन्य’ भनेजस्तै हुन्थ्यो । अप्ठ्यारो परिस्थितिले हामीलाई हाम्रो जीवनको मार्ग बताइरहेको हुन्छ । त्यसलाई समयमै बुझ्न नसक्दा या त पाएको अवसरलाई उपयोग गर्न नजान्दा हामी त्यही अप्ठ्यारो परिस्थिति भित्रै रुमलिन्छौं।
टंक पन्तको जीवनमा पनि त्यो परिस्थितिले केही संकेत गर्यो । संगै पढ्ने साथीको चिनजान मार्फत उनले समाज दैनिकमा जागिर पाए । समाज दैनिकमा उनको काम प्रुफ हेर्ने थियो र तलब थियो रु.१ हजार । प्रुफरिडिङको काम सकेर घर फर्किएपछि अर्को दिन अफिस जाँदा गाली खाइने डर मनमा लिएर जान्थे उनी। त्यहां काम गर्न थालेपछि उनले प्रुफ हेर्ने र बचेको केही समयमा समाचार लेख्न थाले। समाचार लेख्ने काम उनलाई दिइएको थिएन । तर उनी भित्र सिक्ने र अगाडी बढ्ने इच्छाशक्ति थियो । उनी आफू जहाँ गएपनि समाचार बनाएर ल्याउँथे । काम दोहोरो गरेपनि तलब भने प्रुफरिडिङको मात्र मिल्थ्यो । डेढ वर्ष पछि उनले समाचार लेख्ने मात्र गर्न थाले, जुन उनका लागि सफलताको पहिलो खुड्किलो थियो । उनी पत्रकारको नामले चिनिन थाले।
त्यसपछि मातृभूमी साप्ताहिक हुँदै पत्रकार टंक पन्त सफलताको अर्को सिंढी चढे । त्यो थियो, नेपाल समाचारपत्रमा संसद र राजनीति हेर्ने पत्रकारको रुपमा नियुक्ति हुनु। सफलता अन्त्य होइन, निरन्तरता हो । टंक पन्त सामान्य पत्रकारबाट प्रमुख समाचारदाता, डेस्क चिफ, समाचार सम्पादक, वरिष्ठ सह-सम्पादक हुँदै सम्पादक समेत बने । समाचारपत्र पछि उनी लेखन कुन्जमा गए । अहिले उनी नेपाल टेलिभिजन बोर्डको सदस्य समेत छन्।
आफ्नो पत्रकारिता यात्राको बारेमा टंक पन्त भन्छन् ,” मैले सधै आफ्नो मेहनत र पत्रकारिताको मूख्य उद्धेश्यमा ध्यान दिएँ । मुम्बईका कोठीहरुमा ग्राहक बनेर ज्यानको जोखिम मोल्दै बनाएका समाचार, जनयुद्धको समयमा बन्दुकको घेरामा रहेर लेखेका समाचार, विभिन्न धम्कीका बीच लेखिएका समाचार, मैले मेरो पत्रकारिता पेशाप्रति निभाएका जिम्मेवारी हुन्। मैले पैसा भन्दा बढि माया, सम्मान, इमान्दार पत्रकारको परिचय कमाएको छु। यो नै मेरो आत्मसन्तुष्टि हो । पत्रकारितामा अगाडी बढ्नको लागि प्रोत्साहन गर्ने अग्रज र मेहनत गर्न सिकाउने मेरो विगत प्रति म कृतज्ञ छु। अझ धेरै सिक्न बाँकी छ र त्यो सिकाईको लागि म सधै तयार छु “।
पत्रकारिता यात्रामा प्राप्त गरेका पुरस्कार तथा सम्मानका केही तस्बिरहरु :