फ्रेडी शेरिल गरिबीमा हुर्किए । अमेरिकाको उत्तरी क्षेत्रमा उनी गरिब परिवारमा जन्मिएका थिए । परिवारमा आमा बाबुको अभिभावकत्व नभएपछि चार भाइबहिनीलाई पाल्ने जिम्मेवारी उनमा थिए । त्यसैले स्कुल जाँदा पनि उनले शिक्षकको पर्सबाट पैसा चोर्ने गर्थे । ८ वर्षको उमेरमा उनले स्कुल छोडे र किराना पसलबाट सामान चोर्दै भाइबहिनीलाई खुवाउँदै गर्न थाले । बिस्तारै उनले जसको जुन सामान भेट्यो, त्यो चोर्ने गर्न थाले । त्यसैक्रममा अरु किशोरहरुको लहैलहैमा लागेर उनी रक्सी र ड्रग्सको कुलतमा फसे।
शेरिलको विवाह पनि भयो र उनका सन्तान पनि जन्मिए, तर उनी सुध्रिएनन्। उनलाई यति पटक सुधारगृह लगियो कि, उनकी श्रीमतीले सुधारगृहमा लैजान खोज्दा, सुधारगृहहरुले नै उनलाई राख्न मान्न छोडे । उनी आफ्ना छोराछोरीका खेलौना समेत घरबाट चोरेर लगेर बेचीदिन्थे ।
एकदिन शेरिलले आफूसंग बचेको केही पैसाले रक्सीको बोतल किने । नशाका कारण उनका हात काँपिरहेका थिए। रक्सीको बोतल हातबाट खसेर फुट्यो । उनले ती सिसाका टुक्रा बटुलेर त्यसमा रहेको रक्सी चाट्न थाले । त्यसपछि उनलाई आफै देखि दया जाग्यो । उनी चिच्याएर रुन थाले र सुधार गृहमा गए । तर, कुनै पनि सुधार गृहले उनलाई राख्न मानेनन् ।
उनको घरदेखि केही टाढाको सहरका समाजसेवीले शेरिललाई भेटेर लगे । उनलाई त्यहाँ काम पनि मिल्यो । उनले आफैले नशाको बानी छुटाउदै थिए । उनलाई पढ्न सिक्न मन लाग्यो। त्यसपछि शेरिलले आधारभूत शिक्षा लिन थाले । कमाइ पनि भैरहेको र आफूले नशा छोडेको विश्वस्त बनाउंदै शेरिलले आफ्नी श्रीमतीलाई छोरा छोरीलाई लिएर आफूसंग आउन आग्रह गरे। परिवार आफूसंग भएपछि उनले छोरा छोरीसंग नै सिक्दै पढ्न थाले ।
आफ्नो पढाइमा स्कुल मान्यताको लागि परिक्षा दिंदा शेरिल पांच पटकसम्म फेल भए, तर छैठौं पटकमा उनी उत्तीर्ण भए । त्यसपछि शेरिलले चर्चमा राम्रो जागिर पाउन थाले । छोरा छोरीलाई उच्च शिक्षा दिनु उनको मूख्य उद्देश्य थियो । छोराले स्कुलको पढाइ सकेपछि कलेज भर्ना गरिदिनको लागि उनी आफै कलेज गएका थिए। त्यतिबेला छोराको मात्र भर्ना गरेर आए । तर पछि, छोरालाई पढ्न प्रोत्साहन गर्ने उद्देश्यले उनले आफ्नो पनि भर्ना गरे ।
छोरासंग पढ्दा उनले परिक्षामा जसले धेरै नम्बर ल्याउँछ उसलाई १ सय डलर दिने नियम बनाएका थिए । यसरि पढ्दै छोराले ग्राजुएसन गरे र अहिले पढाइलाई अगाडी बढाउंदै राम्रो कम्पनीमा फाइनान्सियल एडभाईजरको रुपमा कार्यरत छन् । शेरिलले केही वर्ष लगाएर भएपनि अहिले हुमन सर्भिसमा ग्राजुएसन गरेका छन् । उनी ग्रामिण बालबालिकाको लागि काम गर्न चाहन्छन् । शेरिलले अहिले आफूले आफैलाई हेर्ने दृष्टिकोण समेत बदलिएको बताउँछन् ।
Source : Washington post