म लक्मी स्याङदान । मेरो उमेर अहिले बीस वर्ष भयो । र, केही दिन अगाडी अर्थात १९ मे २०१८ मा म सगरमाथाको चुचुरो पुग्न सफल भएँ। मेरो लगनशीलता, मेहनत र सपनाले सार्थकता पाएकोमा म अहिले अत्यन्तै खुशी छु ।
मैले मेरो विगत, संघर्ष, काम र सपना सम्बन्धि यस अगाडी पनि सफल स्टोरिज मार्फत बताएकी थिएँ ।
२०१६ मा मैले स्की तालिम (हिउँमा चिप्लेटी) खेल्ने तालिममा सहभागी हुने मौका पाएँ, जुन हिमालय स्की ट्रेक्सले संचालन गरेको थियो । त्यो मेरो लागि ठूलो अवसर सावित भयो । त्यसपछि मैले इनडोर क्लाइम्बिङ्ग र रक क्लाइम्बिङ्ग पनि सिके। रक क्लाइम्बिङ्गको लागि म मेरी बहिनी पन्च माया तामाङ्गबाट प्रभावित भएकी थिएँ । बहिनी पन्च माया राष्ट्रिय खेलाडी हुनुहुन्छ। मलाई मेरो काम प्रति यति रुचि र लगाव बढ्दै गयो कि, मैले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टबाट ट्रेकिंग गाइड ट्रेनिंग लिएँ।
मैले आफूलाई एउटा काममा मात्र सिमित राखिन। न त, सिकाईमा थाकें नै। मैले रोजेको यो करियरमा मेरो मन यति खुशी भयो कि, मैले एकपछि अर्को तालिम लिन थालें । २०१६ मै मैले हिमाल आरोहण सम्बन्धि आधारभूत तालिम लिएँ । उक्त तालिम नेपाल पर्वतारोहण संघले संचालन गरेको थियो। यो तालिम पछि मैले ट्रेकिंगको सहयोगी गाइड बनेर काम गर्न सुरु गरें। पहिले म मनास्लु क्षेत्र गएँ र त्यसपछि अन्नपुर्ण आधार शिविर गएँ। त्यसपछि मैले ६ हजार १ सय ८९ मिटर अग्लो आइल्याण्ड चुचुरो चढें। हिमाल आरोहणको त्यो मेरो पहिलो अनुभव थियो। त्यसपछि म प्रष्ट भएँ की, म हिमालहरुमै रमाउंछु र यो काममा मैले आफूलाई बलियो महसुस गर्छु , मैले यो काम मन पराउंछु र यो कमलाई माया गर्छु ।
मलाई अझ सिक्नु थियो, अझ अगाडी बढ्नु थियो। यो अवसर पाएँ, नेपाल माउन्टेनियरिंग इन्स्ट्रक्टरस एसोसिएसनले संचालन गरेको हाइ माउन्टेन रेस्क्यु ट्रेनिंगमा। उक्त तालिम मैले २०१७ मा लिने अवसर पाएकी हूँ । त्यो मेरो करियरकै सबैभन्दा महत्त्वपूर्ण तालिम थियो। त्यसपछि फेरी मैले रक क्लाइम्बिङ्ग टेक्निक र रेस्क्यु टेक्निकको पहिलो तहको तालिम लिएँ । त्यसपछि त्यही वर्ष नै मैले हेली-मार्शल तालिम लिएँ, जुन नेपाल पर्वतारोहण संघले संचालन गरेको थियो।
यी तालिमहरुले मभित्र उत्साहलाई अझ बढाइदियो, क्लाइमिबिङ्ग असिस्टेन्टको रुपमा काम गर्ने अवसरले त्यसमा ६ हजार ८ सय १९ मिटर लोबुचे शिखर चिनीयाली मानिसहरुसंग चढ्नु पर्थ्यो । यो २०१७ अक्टोबरको कुरा हो। त्यहि वर्ष मैले फेरी ४५ दिनको एडभान्स माउन्टेनियरिंग तालिम र १० दिनको औषधि-उपचार सम्बन्धि तालिम लिएँ ।
त्यसपछि २०१७ को डिसेम्बरमा मैले इटालियन पर्वतारोहीहरुसंग आइल्याण्ड शिखर चढ्ने मौका पाएँ। त्यसपछि मैले उनिहरुसंगे ६ हजार ८ सय १२ मिटर अग्लो एमाडब्लम चढ्ने मौका पाएँ। त्यसले मलाई झन् छुट्टै आनन्द दियो र मैले मेरो काममा रोमाञ्चकता देख्न थालें।
एक प्रकारले महिलालाई बाहिरको साहसिक कामको लागि विश्वास गरिदैन र महिलाहरुको संख्या यो क्षेत्रमा नगण्य छ। महिलाहरुले पनि बाहिरको साहसिक कामको क्षेत्रमा करियर बनाउन सक्छन् भन्ने प्रमाणित गर्नको लागि पनि म अगाडी बढिरहेकी छु ।
२०१६ मा मलाई सगरमाथा चढ्ने तिव्र इच्छा जागेको थियो। सगरमाथा चढ्नको लागि शारीरिक, मानसिक र आर्थिक हिसाबले बलियो हुनुपर्छ। तर म आर्थिक हिसाबले त्यतिबेला सगरमाथा चढ्ने अवस्थामा थिइन। अहिले भने, मेरो अनुभव र कामले मलाई सगरमाथा आरोहणको निम्ति सफल तुल्यायो ।
हिमाल आरोहण गर्ने क्रममा मलाई सामाजिक र भावनात्मक रुपमा साथ सहयोग प्रदान गर्नुहुने बिभिन्न संघ संस्थाहरु, संचारमाध्यम र सम्पूर्ण व्यक्तित्वहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु साथै पर्वतारोही सम्पूर्णलाई सलाम गर्दै हाम्रो राष्ट्रको पर्यटन विकास र प्रबर्द्धनको निम्ति निरन्तर रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
लुक्मी स्याङदानले के कारणले, कसरि र कुन उमेरमा यस क्षेत्रमा प्रवेश गरेकी थिइन् भन्ने जान्नको लागि यहाँ क्लिक गर्नुहोस् ।