काम सुरु गरेपछि हामीले चांडो भन्दा चांडो सफलता खोज्छौं । एक दुईपटक प्रयास पछि पनि सफलता मिलेन भने हामीले प्रयास गर्न नै छोडिदिन्छौँ । तर एक व्यक्तिले १ सय ९९ पटकसम्म रिजेक्ट हुँदा पनि प्रयास गर्न छोडेनन्, जसले गर्दा उनले त सफलता प्राप्त गरे नै, अरु व्यक्तिहरुलाई समेत समस्यासंग जुध्ने शक्ति दिए ।
ज्याक एन्ड्राकाले १५ वर्षको हुँदा नै एउटा ‘आइडिया’ ल्याए । त्यो प्यानक्रियाटिक क्यान्सरको जाँच सम्बन्धि थियो । त्यतिबेला ठूला वैज्ञानिक, चिकित्सक र मेडिकल संस्थाहरुले आविष्कार गरेको र प्रयोग गर्ने गरेको जाँच जटिल र महँगो थियो ।
ज्याकले आफ्नो आइडियाले सजिलो तरिकाले र सस्तो मूल्यमा प्यानक्रियाटिक क्यान्सरको जाँच गर्न सकिने भन्दै अनुसन्धान तथा परिक्षण ल्याबहरुमा प्रस्ताव लिएर गए । उनले प्रस्ताव लिएर गएका १ सय ९९ वटा ल्याबले प्रस्तावलाई अस्विकार गरे । तर उनले हार मानेनन् ।
ज्याक २०० औं पटकको पालोमा बाल्टिमोरको जोन्स हप्किन्स युनिभर्सिटीमा गए र त्यहाँ उनको प्रस्ताव स्वीकार गरियो। त्यहाँ ज्याकले आफ्नो आइडियालाई मूर्त रुप दिनको लागि परिक्षण गरे जुन परिक्षण सफल भयो । त्यसपछि उनको त्यो जाँच विधि नै प्रयोगमा आउन थाल्यो, जुन जाँच विधि अघिल्ला विधिहरुको तुलनामा सैयौं गुणा सजिलो तथा भरपर्दो र २६,००० औं गुणा सस्तो भयो ।