करियर निर्माण गर्ने समयमा राम्रो काम पाउने, राम्रो पद पाउने र राम्रो कार्यालयमा काम गर्ने सबैको सपना हुन्छ। यही सपना लिएर काम गर्दा कतिको यो सपना पनि पूरा हुन्छ र जीवनमा ठूलो सफलता पनि हात पार्छन् भने कतिपयको यो सपना पनि मर्छ । करियर सुरु गर्दा, काममा हामीले केही कुरामा ख्याल राखेर अगाडी बढ्यौं भने सपनालाई हामीले मर्नबाट जोगाउन सक्छौं र थप अरु सपनाहरु पनि हुर्काउन सक्छौं ।

सफल व्यक्तिहरुले आफ्नो कार्यालयमा आफ्नो राजनीतिक आस्था, जात, धर्म तथा वर्गको कुरा गर्दैनन् । काम एक्लैले नभई एउटा राम्रो टिमले गर्दा सम्पन्न हुन्छ। राजनीतिक आस्था, जात, धर्म, वर्गका कुराले टिममा फाटो ल्याउँछ साथै त्यसले टिमका अन्य सदस्यहरुमाझ आफ्नो व्यक्तित्वको नराम्रो प्रभाव पारिदिन्छ ।

सबै व्यक्तिको विगतमा केहि नमीठा अनुभवहरु हुन्छन् । मानिसलाई अगाडी बढ्नको लागि हिजो होइन, आजको आवश्यकता पर्छ। त्यसैले सफल मानिसहरु आफ्नो विगतको केही तीतो अनुभवहरुको बारेमा आफ्नो काम तथा कार्यालयमा कुरा गर्दैनन् । त्यस्ता कुराले तपाईंको मूल्यांकन गर्ने व्यक्तिले, तपाईंको खुट्टा तान्ने व्यक्तिले तपाईंको कमजोरी भेट्छ र तपाईंको विगतलाई नै उसले हतियार बनाउन पनि सक्छ ।

सफल मानिसहरु आफ्नो काममा , आफ्नो कमाइबारे बताउंदैनन् । कमाइको कुरा गर्दा टिममा एक-अर्का बीच तिक्तता आउन सक्छ र त्यसले व्यक्तित्व तथा कामको सफलतामा पनि असर गर्छ ।

सफल मानिसहरुले यदि त्यो कार्यालय तथा काम मन परेको छैन भने, आफूसंग काम गर्नेहरुलाई बताउंदै हिंड्दैनन् । काम मन परेन भने पनि उनीहरु आफ्नो जिम्मेवारी पूरा गर्छन् र आफू अगाडी बढ्नको लागि, राम्रो काम पाउनको लागि त्यो कामलाई कसरि आफ्नो सिंढी बनाउन सकिन्छ भन्नेबारे सोंच्छन् ।

सफल मानिसहरु आफ्नो काममा आफ्ना सबै योजनाहरु, अर्को काम खोज्ने निर्णय आदि बताउंदैनन् । ती कुरा अरुलाई नबताउञ्जेल तपाईंमै रहन्छन् तर ती कुरा बाहिर गइसकेपछि मानिसहरुले तपाईंलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । त्यस्तै, यदि तपाईंले आफ्ना योजना अनुसार, निर्णय अनुसार गर्न सक्नुभएन भने, तपाईंको व्यक्तित्व खस्किन्छ र तपाईंको नकारात्मक आलोचना गर्नेहरुलाई त्यसले थप बल दिन्छ।

 

सफल व्यक्तिहरु आफ्नो कार्यालयमा अर्काको कुरा काट्ने, चाप्लुसी गर्ने गर्दैनन् । उनीहरु आफ्नो काममा केन्द्रित हुन्छन् र काममा आफ्नो शतप्रतिसत लगाएर उत्कृष्ट नतिजा हासिल गर्न चाहन्छन् । केही नयाँ कुरा सिक्ने र समयलाई उत्पादनशील काममा लगाउने हुँदा उनीहरुले कुरा काट्ने, चाप्लुसी गर्ने काममा समय खेर फाल्दैनन् ।

 

सफल व्यक्तिहरु सामाजिक संजालको जथाभावी प्रयोग गर्दैनन् । उनीहरुले आफ्ना जथाभावी फोटो राख्ने, अरुलाई होच्याएका कुरा राख्ने, नकारात्मक टिप्पणी गर्ने, कार्यालय भित्रका फोटोहरु राखिरहने गर्दैनन् । कार्यालयका तथा आफ्नो कामसंग जोडिएका धेरै मानिसहरुले सामाजिक संजालमा आफ्नो गतिविधि हेरिरहेका हुन्छन् भन्नेमा उनीहरु सजग रहन्छन्।

सफल व्यक्तिहरु आफ्नो निजी जीवनका भित्री कुराहरुलाई कार्यालयमा खोल्दैनन् । उनीहरु आफ्नो निजी जीवन र कामलाई अलग राखेर काम गर्न मन पराउँछन् । निजी जीवनका कुराहरु कार्यालयमा गर्दा कतिपय गोप्य कुराहरु, आफ्ना कमजोरीहरु पनि बाहिर आउँछन् भने आफ्नो व्यक्तित्वमा पनि ह्रास आउँछ ।

सफल व्यक्तिहरु अरुलाई छोएर, अरुमाथी मजाक गरेर, वेप्रवाह तरिकाले सोफामा बसेर कुरा गर्दैनन् । उनीहरु सबैलाई इज्जत गर्छन् र बोल्दा, काम गर्दा, हिंडडुल गर्दा आफ्नो शारीरिक हाउभाउलाई ध्यान दिन्छन् । उनीहरु आफूलाई अनुशासनमा राख्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text