‘जिन्दगीमा केही पाउन केही गुमाउनुपर्छ ‘ । बुवा भन्नुहुन्छ ।
उहाँको यहि एउटा कुरा मैले कहिल्यै मानिन । म जिन्दगीमा सबैथोक चाहन्छु- एउटाको बदला अर्को होइन । मेरो विचारमा एउटा चिज पाउन अर्को गुमाउनु असल व्यवस्थापन होइन । त्यस्तो व्यक्ति असल व्यवस्थापक हुनै सक्दैन ।
तपाईंले पाल टाँगेको देख्नुभएको छ ? चारतिर चारवटा खाँबा, बीचमा एउटा । सबै खाँबा मिलाएर गाडिएका छन् भने मात्र पाल सलक्क कस्सिन्छ। नत्र, घरि यता तन्किन्छ, घरि उता लत्रिन्छ । जिन्दगीको यात्रा ठ्याक्कै पाल टाग्नु जस्तै हो । यसलाई सबैभन्दा बढी भर दिन्छ बीचको खाँबोले, जसलाई म व्यवसायिक जीवनको रुपमा लिन्छु ।
तपाईं व्यवसायिक रुपमा सफल हुनुहुन्न, सम्मान्नित हुनुहुन्न भने सफल र सुखी जीवन बिताउन सक्नुहुन्न । उद्योगधन्दा वा बन्दव्यापारमा लागेका मजस्ता मान्छेलाई मात्र होइन, जुनसुकै पेशाकर्मीलाई म यही भन्छु । आफ्नो पेशामा नाम र प्रतिष्ठा कमाएको व्यक्ति, आफू पनि खुशी हुन्छ, परिवारलाई पनि खुशी राख्नसक्छ ।
व्यवसायिक सफलता मात्र सबथोक होइन । तपाईं व्यवसायिक सफलतामै अर्जुनदृष्टि लगाएर कुदिरहनुभायो भने गन्तव्यमा पुगेपछि आभास हुनेछ, घरपरिवार त प्रारम्भमै छुटेछन् । कोठाभरी पदोन्नतिका चिठी र उत्कृष्ट कार्य-सम्पादनका तक्मा छन्, तर बुबाआमा, श्रीमती र छोराछोरीसंग खिचाएको एउटा तस्बिर पनि एल्बममा छैन भने जिन्दगीकोके सार ! यही पारिवारिक जीवन पालको दोस्रो खाँबो हो ।
तेस्रो खाँबो निजी जीवनको । नितान्त निजी जीवन, जसमा श्रीमती र बालबच्चाले पनि चियाउन पाउन्नन् । तिनले मात्र ठाउँ पाउँछन्, जसलाई तपाईंले ठाउँ दिन चाहनुहुन्छ । तपाईं साधक हुनुहोला, संगीत सुन्न रुचाउनुहोला, साथीहरुसंग रमाउन वा एक्लै बस्न-यही हो निजी जीवन । आफ्नो पेशागत सन्तुष्टी र परिवारको खुशीमै एकोहोरिने मान्छे यान्त्रिक जिन्दगी बाँचीरहेको हुन्छ । ऊ हाँसिरहेको देखिन्छ, अनुहारमा चमक हुन्न । ईच्छाहरु नमार्नुस्, त्यसलाई पूरा गर्न समय निकाल्नुस् । अनि, तपाईं आफ्नो अनुहारमा एउटा भर्भराउँदो फिल्को भेट्नुहुनेछ ।
तपाईं जुन समाजमा बस्नुहुन्छ, त्यसको वरिपरि एउटा घेरा हुन्छ- छरछिमेकको, इष्टमित्रको,, सहकर्मीको । त्यसमा घोलिनु नै सामाजिक जीवन हो । उनीहरुसंग जनतामा नाच्न र मलामीमा रुन सक्नुभएन भने तपाईं एक्लो बृहस्पती बन्नुभयो । सामाजिक दायित्व बुझेको छैन, निर्वाह गरेको छैन, बोलाएको ठाउँमा गएको छैन, भेट्नुपर्ने मान्छेलाई भेटेको छैन, मर्दापर्दा उभिएको छैन, सार्वजनिक रुपमा गरिने अपेक्षाहरु पूरा गरेको छैन भने त्यो सन्तुलित जीवन भएन । त्यसैले, सामाजिक जीवन पालको चौथो खाँबो हो ।
जिन्दगीको पाल थाम्ने पाँचौं खाँबो हो, हाम्रो सार्वजनिक जीवन । सामाजिक जीवन र सार्वजनिक जीवनमा के फरक छ ? सामाजिक जीवनमा दोहोरो अन्तरक्रिया हुन्छ – तपाईंबाट समाजले केही अपेक्षा गरेको छ वा तपाईं समाजलाई लिएर केही गर्न खोजिरहनुभएको छ। उदाहरणका लागि, आज संचार माध्यम, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, अन्तर्राष्ट्रिय व्य्कतित्वसंग मेरो छलफल हुन्छ । यो मेरो सामाजिक जीवनको अंग हो । इष्टमित्रका बिहे-ब्रतबन्धमा सरिक भएर उनीहरुको खुशी दुगुना बनाउन खोज्छु। मलामी-श्राद्धमा साथ दिएर दु:खका आँशु पुछ्न खोज्छु । यो पनि सामाजिक जीवनकै अंग हो।
सार्वजनिक जीवनमा भने एकोहोरो संलग्नता हुन्छ । तपाईं चिन्नुहुन्न, तर उनीहरु तपाईंलाई चिन्छन् । तपाईंले गर्ने कामलाई राम्रो / नराम्रो ढंगमा विश्लेषण गर्छन् । कहिले आदर्श व्यक्तिको रुपमा चढाउँछन्, कहिले घृणाले लतार्छन् । सार्वजनिक स्तरमा प्रभाव पार्ने ती सबै गतिविधि हाम्रो सार्वजनिक जीवनका हिस्स हुन् ।
जसले यी पाँचै खाँबोलाई सन्तुलनमा राखेर जीवनको पाल ठड्याउँछ, त्यही व्यक्ति सफल हुन्छ। मेरो जीवनको आदर्श यही हो । जानेसम्म मैले मेरो जीवनलाई यी पांच खाँबोको सन्तुलनबाट धर्मराउन दिएको छैन। आज म जे छु, जहाँ छु, जस्तो छु, त्यो यसैको परिणाम हो । र, मेरो सपनाको ।
– विनोद चौधरी ( आत्मकथा )
आज हामीले ‘किताब कुरा’ मा नेपालका सफल व्यवसायी विनोद चौधरीको आत्मकथाको अन्तिम शिर्षक ‘क्रमश’ को केही भाग साभार गरेका छौं। यो आत्मकथामा तपाईंले विनोद चौधरीको सुरुवाती देखी सफलता सम्मको यात्रालाई पढ्न सक्नुहुन्छ, जसले तपाईंभित्र उत्प्रेरणा सिर्जना गरिदिन सक्छ र धेरै कुराहरु सिकाउन पनि सक्छ ।
‘किताब पढ्ने बानी बसालौं, सकारात्मक सोंचहरु सिर्जना गरौँ’