हजार माइलको बाटो एक पाइलाबाट सुरु हुन्छ।

तिमीले बिर्सियौ ऊ लडेको?
लडेपछि नै त हो अघि बढेको,
हारेपछि नै हो उसले जितेको,
फुटेपछि नै त हो जोडिएको ।

टुक्राटुक्रा भएको सपना
च्यात्तिएको मन, भत्किएको आशा
विश्वासले नै हो उसले जोडेको
हत्केलाको भाग्य रेखा संघर्षले कोरेको।

एउटा ईटा समाउँदै
त्यसलाई अर्कोसंग मिलाउँदै,
चाहानालाई ईटाको बीचको माटोजस्तै दह्रो बनाउँदै,
मेहनेतले नै हो उसले भाग्य बुनेको,
जिवनको खाचो मनको तरङ्गसंगै सुनेको।

काँडा थिए,
बाधा थिए!
पहाड थियो,
चट्टान थिए,
पहाडपछि लुकेको
सजिएको उसको संसार थियो।
दृढ सङ्कल्पले त हो विजयको यात्रा चुनेको,
हजार माइलको यात्रा एक पाइलाले सुरु गरेको।

निदाएर होइन, आँखा खोलेर नै सपना बुनेको,
देखेको सपना ननिदाएर पुरा गरेको,

बाधा उसको बाटो हो, बन्देज होइन,
लडाई उसको उत्प्रेरणा हो, हार होइन
हार उसको सुरुवात हो, अन्धकार होइन।
अन्धकार उसको पथप्रदर्शक हो, डर होइन
डर उस्को जीत हो, चित्कार होइन।

चित्कार शान्तिको बाटो हो,
शिखर चुम्ने बाटो,
हजार माइलको बाटो,
एक पाइलाबाट सुरु गरेको बाटो।

-दुर्गा खनाल

पाईं पनि सकारात्मक र प्रेरणामुलक लेख, रचनाहरु हामीलाई पठाउन चाहनुहुन्छ भने

यहाँ क्लिक गर्नुहोस् >> लेख लेख्नुहोस्

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text