कुन लोकमा खोजेर पाइन्छ त्यो खुशी ?
मेहेनेत नै हो त्यसको औषधी ।
एक झट्कामा त कहाँ के मिल्छ र,
नदीले वर्षौंको बहावले ढुंगा कुँदे सरि
कुँदनुपर्छ प्रतिभाको आकृति ।
बिहानीले दिनलाई हुर्काए जस्तै,
कोपिलाले बनाइदिन्छन् फूलका आकृति
बनाऊ चित्र आफ्नो दिल हास्ने गरि,
पछुताउन् अरु बाटोभरी तिम्रो सफलता हेरी ।
क्षणभर रुँदा के बिग्रिन्छ र?
झार्नु आँशु खराब बनोट मेटिने गरि
अनि बुन सपना आकार फेरी-फेरी,
जगाइदेऊ सुस्ताएका आँखाहरू
आंधी बन्नुछ तिम्रो लक्ष्य भेट्ने गरि ।
बित्यो समय, बग्यो खोला
पछुताउनुको के अर्थ छ?
तिम्रो खुशी देखेर ‘पछुताउन्’
तिमीलाई कमजोर देख्ने बोलीहरु ।
तप्प झर्दा सितसंगै
झर्छन् पातका रहरहरु
झर्नुमा त्यहाँ के नै छ र?
झरेको छु मोतिसरी,
झरेर नै थाहा हुन्छ
इनारको गहिराइ पनि ।
गुमाउनु के नै छ र!
ओइलिएको फूललाई भन्दै झर्छ
तर बिऊ भएर झन् छरिन्छ
ओलिएर झरे पनि
मन त एकछिन हतास हुन्छ
अँधेरीलाई छुँदा खेरि,
छरी देउ छताछुल्ल
संघर्षका किरणहरु,
सपनालाई साकार बनाऊ
नडराऊ रतिभरी ।
-दुर्गा खनाल