हो,
म भोली बलियो हुनेछु,
म उठ्ने छु,
दौडिने छु,
तिमीलाई देखाउन होइन,
मेरो हराएको अस्तित्व भेटाउन ।

हेर न !
आज म कमजोर छु,
त्यो हावाले पनि मलाई गिज्याईरहेको छ,
मलाई ती लहराहरुले गिज्याईरहेका छन् ।
कमजोर देखिएपछि,
आफ्नो पनि आफ्नो नहुँदो रहेछ ।

म लड्ने छु,
अनि फेरी उठ्ने छु,
तिमीलाई रिझाउन होइन,
मेरो हराएको अस्तित्व भेटाउन ।

आज
मेरो रमिता बनिरहेको छ,
तर, म दुखी छैन.
किनकी मलाई थाहा छ,
आज कमजोर देख्नेहरु
भोली म संगै मितेरी गाँस्न आउनेछन् ।

आज म शान्त छु,
एकदिन तिमीले
मेरो जितको चिच्याहट सुन्नेछौ।
म हार्दा-हार्दै
एकदिन जित बटुल्नेछु,
तिमीलाई देखाउन होइन
मेरो हराएको अस्तित्व भेटाउन ।

तिमीलाई जस्तै मलाई पनि
मेरो सपनाको माया छ,
हेर न !
म संघर्ष गरिरहेकी छु,
मेरो बाटो काँडै-काँडाले भरिएको छ,
तिमीले विश्वास गरेनौ होइन?
देख्नेछौ !
एकदिन आँधी बन्नेछु,
तिमीलाई बगाउन होइन,
मेरो हराएको अस्तित्व भेटाउन ।

बादल लागेको बाटो
आशुको झरीले पखाल्दै छु,
तिमीलाई मेटाउन होइन
मेरो हराएको अस्तित्व भेटाउन ।

-दुर्गा खनाल 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text