म कसैलाई माया गर्छु, तर ऊ म भन्दा दुई वर्ष कान्छो र उसको पढाइ पनि पूरा भएको छैन । मेरो घरमा भने बुवा आमाले मेरो विवाहको कुरा चलाइरहनुभएको छ । उसले घरमा विवाहको कुरा चलाउनुभएको छ भने, गर भन्छ । तर, म उसैसंग विवाह गर्न चाहन्छु, फेरी उसलाई अहिले विवाह गर्न दबाब दिएर उसको भविष्य बिगारिदिन पनि चाहन्न । म के गरूँ ?

साँच्चै नै, तपाईंहरु एक-अर्कालाई माया गर्नुहुन्छ र एक-अर्कालाई चाहनुहुन्छ भने उमेर बाधक बन्न सक्दैन । त्यसको लागि तपाईंले घरमा आफ्नो कुरा राखेर वा पढाइ अझै अगाडी बढाउने चाहना व्यक्त गर्दै अहिले विवाह नगर्ने कुरा राख्न सक्नुहुन्छ । घरपरिवार बुझ्ने हुनुहुन्छ भने दुवै जना गएर आफूहरुको कुरा राख्न सक्नुहुन्छ । दुवै जनाले पुरुष ठूलो उमेरको , ठूलो पद भएको हुनुपर्छ र पुरुषले कमाएर पाल्नुपर्छ भन्ने मान्यता त्यागेर तपाईंले आफूले काम गर्दै उनको पढाइ नसकुन्जेल मैले कमाएर खर्च पुर्याउन सक्छु भन्ने हिम्मत बटुल्न सक्नुहुन्छ भने विवाह पनि गर्न सक्नुहुन्छ, तर त्यसको लागि तपाईंको उमेर पनि पुग्नुपर्यो, परिपक्क तरिकाले सोंच्नुपर्यो र काम गर्न सक्ने हिम्मत हुनुपर्यो । या त, तपाईंले पनि अहिले आफ्नो करियरमा ध्यान दिनुहोस् , आफ्नो खुट्टामा उभिनको लागि अगाडी बढ्नुहोस् र आत्मनिर्भर बनेर, घरमा आएको विवाहको कुरालाई पन्छ्याउन सक्ने बन्नुहोस् ।

तर, यदि तपाईंको प्रेमीले घरपरिवारको अनुसार गर्नुपर्छ, तपाईंहरुको सम्बन्धलाई टुंगाउनुपर्छ र उमेरले पनि अप्ठ्यारो पार्छ भन्ने कुरा राखिरहनुहुन्छ भने, तपाइँ पनि अगाडी बढ्नुहोस् । प्रेम एकतर्फी हुन सक्छ, सम्बन्ध एकतर्फी हठमा बस्यो भने त्यसले दुर्घटना निम्त्याउँछ । उहाँले परिवारलाई र करियरलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ भने, तपाईं पनि आफ्नो परिवार र करियरलाई महत्व दिनुहोस् । सम्बन्ध बनाउनु ठूलो कुरा होइन, त्यो सम्बन्धलाई दुवै व्यक्तिले कुन प्राथमिकतामा राख्छन् भन्ने कुरा ठूलो हो ।

अहिलेको तपाईंको उमेर भनेको आफ्नो भविष्यलाई आकार दिने उमेर हो। त्यसैले निर्णय गर्दा, होस पुर्याउनुहोस्। अनावश्यक तनाव लिनु भन्दा त्यसको समाधान तिर लाग्नुहोस् र आफ्नो करियरमा केन्द्रित हुनुहोस् । जब तपाईंले आफ्नो घरको दायित्व पूरा गर्नुहुन्छ, आत्मनिर्भर बन्नुहुन्छ, तब तपाईं आफ्नो जीवनको निर्णय आफैले लिनको लागि स्वतन्त्र बन्नुहुन्छ।

( तपाईं पनि उहाँलाई केही सुझाव दिन चाहनुहुन्छ भने, तल कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ । र, यदि आफ्नो समस्या हामीसंग बाँड्न चाहनुहुन्छ भने, हामीलाई लेखेर पठाउन सक्नुहुन्छ । हामीले हजुरको परिचय गोप्य राख्नेछौं । )

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text