म सानी,गोरि, मोटी
र पनि म सुन्दर
त्यो फूल जस्तै सुन्दर।
उनीहरु तुलना गर्छन्
आफ्नो रुपलाई
रुप सुन्दरताको एउटा अंशमात्र हो,
सुन्दर फूल पनि त ओइलिएर जान्छ,
तर मिठो सुगन्ध छरेर,
म काली, अग्ली, सुरिली
र पनि म सुन्दर
त्यो फूल जस्तै सुन्दर।
फूलले आफूलाई कहिल्यै
अर्को फूलसंग तुलना गर्दैन
ना की जुनले घाम अनि तारासंग
फेरी,
खोइ किन मनिस-मनिसबिच
दिवार खडा गरिन्छ?
झाकेर हेर न आफूमा
अरुमा नपाएको अपार सुन्दरता
तिमी भित्रै छ,
म हिस्सी परेकी, अरुको लागि नराम्री
तर पनि सुन्दर आफ्नो लागि
त्यो फूल जस्तै सुन्दर।
राम्रो कुराले घमण्डी बनाउँछ !
घमण्ड फेरी त्यो फूलको कोपिलाले गर्दैन
रातो, निलो,पहेलो , कालो जस्तो भए पनि
व्यस्त छ,आफैमा हराउन,
सुगन्ध फैलाउन
थाक्दैन
अरुले जेसुकै भनुन्,
म सुन्दर,
हो, त्यो फूल जस्तै सुन्दर।
सुन्दरता त त्यो हुँदै होइन
जसले अरुलाई होच्याउन सिकाउँछ
तिमी सुन्दर छौ,
एकदम सुन्दर !
धर्तीलाई स्पर्श गर्न लाग्दाको
त्यो बिहानीको घाम जस्तै,
अँधेरी रातमा झुल्किएको जुन जस्तै,
सुन्दर ,
त्यो फूल जस्तै सुन्दर।
-दुर्गा खनाल।