भावनात्मक होइन
मलाई सिर्जनशील बनाइदेऊ
कमजोर होईन मलाई दृढ बनाइदेऊ ।
बनाइदेऊ ,
जीवन बुझ्न सक्ने तिक्ष्ण विचारहरु,
अध्यारोमा हिंड्न् सक्ने पाईलाहरु,
नडगमगाउने स्थिर नजरहरु ।
म त
‘भौतिकता’, कृत्रिम संसारमा अल्झिएको छु,
मलाई
मेरो सपनाभन्दा
अरुको विपनाप्रति डाह लाग्छ ।
सिकाइदेऊ
‘आफ्नोपन’ अनि आत्मसम्मानका व्यवहारहरु ।
म ‘म’ हुनुको आशाय देखाउँदा देखाउदै थाकी सकें,
देखाइदेऊ एक्लिएर जिउने संसारहरु ।
उद्देश्य त मेरो
बादल-बादलसम्म छमछमाउने थियो
बिर्सिएर बाटो भुमरीमा छट्पटाउदै छु
सिकाइदेऊ,
मलम लगाउन पखेटाहरुमा
चाहान्छु उड्न दोहोराइकिन।
भनिदिनु,
त्यहाँ ‘म’ अलमलिएको छु
सुनौलो दिनको पर्खाइमा छु ।
बढाइदेऊ
म भित्र गरेरै छोड्ने अठोटहरु,
मन त ‘हलचल’ हुन्छ
तर आँखामा छपक्कै भिजेको सपनाले
मलाई निदाउन दिंदैन,
सिकाइदेऊ धैर्य रहन सक्ने उपायहरु ।
- दुर्गा खनाल
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :