मन बेलाबखत शब्दसंग घुल्न खोज्छ
मस्तिष्क शब्दहरुको गहिराईमा डुब्न खोज्छ
शब्दहरु कहिले गर्जन भएर निस्किन खोज्छन्
शब्दहरु कहिले शान्त भएर बस्न खोज्छन्
शब्दहरु सुखमा आनन्दमा रम्न खोज्ने
शब्दहरु दु : खमा ज्वालामुखी बनेर बाहिर निस्किन खोज्ने ।

शब्दहरु चित्कार बनेर मस्तिष्कमा उठ्न खोज्छन्
मांसपेशीहरुमा चिमोट्छन्, अंग-अंगमा संचार हुन्छन्
घरि आन्द्रा बटार्छन्, घरि मासुमा काँडा उमार्छन्
भयङ्कर घोलिएका ज्वालामुखी शब्दहरु
डरलाग्दा गर्जन बनेर निक्सिन्छन् उसैगरी
जसरि, आकाशको मुस्लोमा चट्यांग परेको होस् ।

भावको प्यासिफिकबाट उम्रिएका शब्दहरु
तरङ्ग जन्माईदिन्छन्, मानौं युरानियमको होस्
टोर्नार्ड़ोको चक्रभित्र खेलिरहने शब्दहरु
नशा-नशाबाट निस्किन्छन्
धड्कन करेन्टको चापमा डग्मगाउँछ उसैगरी
जसरि, धर्तीमा ९ रेक्टरको भूकम्प गएको होस् ।

शब्दहरु चित्कारसंग छाती चिर्न खोज्छन्
लाग्छ फुट्छ मुटु, कलेजा फोक्सा पनि निक्लेला जस्तो
भयंकर शक्तिशाली भुँडीभित्रका शब्दहरु
डरलाग्दो बनेर निस्किन्छन् उसैगरी,
जसरि, हिरोसिमामा लिटलब्वे विस्फोट भएको होस् ।

– जेनिशा बुढाथोकी

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text