मदन पुरस्कार नेपाली साहित्यमा प्रतिष्ठित पुरस्कार हो । हरेक वर्ष, त्यो वर्ष प्रकाशित भएका पुस्तक मध्ये उत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने गरिन्छ । यसको पुरस्कार राशी दुई लाख रहेको छ । वि.सं २०१२ मा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ सालमा लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
२०७४ को मदन पुरस्कार नीलम कार्की ‘निहारिका’ ले लेखेको ‘योगमाया’ पुस्तकले पाएको छ । पुस्तक ‘योगमाया’ राणाकालमा समाजसुधारका लागि विद्रोह गरेकी भोजपुरकी महिला योगमायाका जीवनीमा आधारित भएर लेखिएको उपन्यास हो। १९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन्। उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन्। उनले सुरु गरेको समाज सुधार अभियानले पूर्वी नेपालमा मात्रै होइन, राजधानीमा रहेको राणा सरकारमा समेत ठूलो हलचल ल्याएकी थिइन् ।
लेखक नीलम कार्की ‘निहारीका’ ले योगमायाको जन्मस्थल लगायत उनी संग सम्बन्धित ठाउँहरुमा आफै पुगेर तथा योगमायासंग सम्बन्धित सबै इतिहास र जानकारीहरु संकलन तथा अध्ययन गरेर उक्त पुस्तक लेखेकी थिइन् ।
लेखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।