सफलता भनेको पैसा वा करियरको सफलता मात्र होइन । आफूलाई माया गर्ने व्यक्ति वरिपरि हुनु र आफूलाई हौसला तथा साथ दिने व्यक्ति पाउनु पनि सफलता हो । विवाह गरिसकेपछि श्रीमान / श्रीमतीको रुपमा व्यक्तिले आफ्नो नजिकको साथी पाउँछ, जुन साथी सुख दु:खको लागि बलियो साथ, हौसला र माया बन्छ ।

श्रीमान होस् या श्रीमती, आफ्नो जीवनसाथीलाई सम्मान गर्नुपर्छ । जब व्यक्तिले आफ्नो आत्मसम्मान गुमेको महसुस गर्छ तब ऊ भित्र भित्रै निराश बन्छ र त्यसले सम्बन्धलाई दिर्घकालिन रुपमा असर गर्छ । त्यसैले आफ्नो जीवनसाथीको आत्मसम्मानमा चोट नपुगोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

जीवनसाथीलाई प्राथमिकतामा राख्नुपर्छ । काममा व्यस्त रहंदा र आफ्ना जिम्मेवारी निभाउन लाग्दा नजिकका मानिसहरुको लागि समय रहँदैन र सम्बन्धमा दूरी बढ्दै जान्छ । त्यसैले व्यस्तताका बीच पनि आफ्नो साथीको लागि समय निकाल्ने कोसिस गर्नुपर्छ ।

विवाह गर्नु भनेको संगै घरमा बस्नु, बच्चा जन्माउनु मात्र होइन । विवाह गर्नु भनेको आफ्नो जीवनमा संगै काँधमा काँध मिलाएर अगाडी बढ्ने साथी पाउनु हो । त्यसैले आफ्नो जीवनसाथीसंग आफ्ना भावना, विचार, सुख दु :ख बाँड्ने गर्नुपर्छ र एक अर्काको ख्याल राख्नुपर्छ । आफ्नो जीवनसाथीको पारिवारिक तथा सामाजिक जिम्मेवारी पूरा गर्नको लागि आफूले पनि सक्दो सहयोग गर्नुपर्छ ।

एक अर्काको कामको नकारत्मक मूल्यांकन तथा आलोचना गर्नु हुँदैन । एक अर्काको काममा सहयोगी बन्नुपर्छ र सुझाव दिनुपर्छ । जीवनसाथीको करियरमा यदि अप्ठ्यारो अवस्था आएको छ भने पनि आफूले हौसला दिनुपर्छ र आफू सधै साथमा छु भन्ने आभास दिनुपर्छ ।

बच्चा जन्मिसकेपछि पनि आफ्नो जीवनसाथीलाई महत्व दिनुपर्छ । यदि त्यो समयमा महत्व दिइएन भने, सन्तानले आफ्नो साथ छोडेपछि जीवनसाथीको साथ आवश्यक हुँदा पछुतो हुनेछ । यदि वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन सकियो भने जीवनको अन्तिम क्षणसम्म पनि माया, साथ र खुशीका साथ बाँच्न सकिनेछ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text