म लडें, उठें र लरखराउँदै हिंडें
तिमीले सोच्यौ कि
म कमजोर भएँ, म हारें ।
तिमीले यो देखेनौ
म लरखराउँदै भएपनि हिंडीराखें,
म नयाँ खोजमा अलमलिदै थिएँ ।
तिमीले त्यसलाई नै आफ्नो मौका ठान्यौ
मलाई लडाउन खोज्यौ,
तर, तिमीलाई के थाहा
म कति साहासी भईसकेकी छु,
आफूलाई कति विश्वास गर्न सिकेकी छु।
तिमीले मलाई पछाडीबाट हान्न खोज्यौ,
तर, त्यसको प्रतिवादको लागि मसंग थुप्रै अस्त्र थिए,
हो, म संग मेरो आफ्नै साथ थियो, विश्वास थियो।
तिमीले आफूलाई चिन्नु भन्दा पनि,
अरुलाई प्रहार गर्नमा नै व्यस्त भयौ,
अरुलाई लडाउनमै समय बर्बाद गर्यौ,
आज हेर
तिमी कहां छौ र म कहाँ छु !
तिमीले आफैलाई आफैले बेच्यौ,
तर, मैले थप नंया नंया बिचार तथा ज्ञान किने,
त्यसैले त कति फरक छौं हामी,
कति फरक छ हाम्रो सोचाई !
तिम्रो नकारात्मकलाई
मैले सकारात्मक बनाउदै लाने प्रयास गरें,
तिमीले त्यसैलाई मेरो कमजोरी सम्झीयौ
तर तिमी गलत थियौ ।
म तिमीले सोचे भन्दा माथी उठे,
म आज जे छु सायद त्यो तिम्रो पनि योगदान होला,
तिमीले मलाई पछाडीबाट हान्ने दुष्प्रयास नगरेको भए,
सायद म अगाडी दौडिने हिम्मत गर्दिनथें होला ।
- स्वस्थानी न्यौपाने