२०६१ सालतिरको कुरा हो । लक्ष्मीपुर् -४, डाँडागाउँ स्थित वसन्तपुर सामुदायिक वनको सदस्य भएकी थिएँ । म आफै सदस्य हुन नगए पनि मलाई सदस्यमा राखिदिएका थिए ।
एक जना भएपनि थारुको सहभागिता गराउने भनेर छलफल भएपछि मलाई समितिमा बस्ने प्रस्ताव आएको थियो । प्रस्ताव अनुसार, मैले सहमति जनाएकी थिएँ । बैठकको बेला समितिको छलफलका लागि समय जुटाउन हम्मेहम्मे पर्थ्यो । जमिनदारकै सहमतिमा सदस्य भएकी थिएँ, त्यसैले काम सकेर बैठकमा जान रोकतोक थिएन ।
एक दिन समितिको पहिलो बैठक बस्दा परिचयात्मक कार्यक्रम थियो । उपस्थित सबैजनाले आ-आफ्नो परिचय दिन थाले । मलाई परिचय भन्ने कुरा नै थाहा थिएन । उपस्थित सबैले परिचय दिंदै आएपछि मेरो पालो आयो । मनमा सोचें ,” यो परिचय भन्ने के होला ?” । मेरो अगाडीको एक जनाले आफ्नो परिचय यसरि दिएका थिए, ” नमस्कार ! म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर” । उनको पछाडी मेरो पालो आयो ।
छेउकाले ” लौ तेरो पालो आयो” भनेपछि म पनि जुरुक्क उठें । एकछिन टोलाएँ । मनमा के भन्ने होला जस्तो लाग्यो । अकस्मात मैले पनि भनिदिएँ , ” म प्रेमप्रकाश देवकोटा, घर डाँडागाउँ, वसन्तपुर ” । सबैजना गलल्ल हाँसे । किन हाँसे होलान् ? मैले जानिन कि क्या हो भनेर सोचें । ” तेरो नाम भन् न तेरो नाम” भनेर छेउकाले सिकायो । अनि मैले आफ्नो नाम भनेर परिचय दिएँ । यसरी म पहिलोचोटी परिचय दिंदा फसादमा परेकी थिएँ ।
( शान्ता चौधरीको आत्मकथा कमलरीदेखि सभासदसम्म पुस्तकबाट यो अंश साभार गरिएको हो । यस पुस्तकमा शान्ता चौधरी के कारणले कमलरी बनिन्, कमलरी हुँदा कस्ता परिस्थितिहरुको सामना गरिन्, कमलरी जीवनबाट कसरि बाहिर आइन्, कसरि सामाजिक अगुवा बन्दै राजनीति क्षेत्रमा आइन, कसरि सभासद भइन् र उनले झेलेका पीडा ,संघर्ष र सफलताको बारेमा उल्लेख गरिएको छ। )