एकपटक एउटा कुकुर बन्दै गरेको एउटा भवनमा पुग्यो । उक्त भवनको बैठक कोठामा सबैतिर सिसा लगाएको थियो । कोठा रित्तो थियो । तर, उसले सिसामा जताततै कुकुर देख्यो । त्यो उसको आफ्नै प्रतिबिम्ब थियो, तर उसलाई अरु कुकुरहरु त्यहाँ रहेछन् भन्ने लाग्यो ।

कुकुर भुक्न थाल्यो , ऊ भुक्दा ऐनामा देखिएको तस्बिर पनि यसै गर्थ्यो । भवन बन्दै गरेको र कोठा रित्तो भएकोले प्रतिध्वनि पनि आउंथ्यो । कुकुर झन् अत्तालियो र कोठाको एउटा कुनाबाट अर्को कुना दौडिन थाल्यो । ऐनाका प्रतिबिम्ब पनि त्यसै गरि दौडीरहेका थिए । कुकुरले रात परेको पनि थाहा पाएन । ऊ आफ्नै प्रतिबिम्बसंग लड्दै थियो ।

बिहान भयो । भवन बनाउने मानिसहरु आए । भित्र पस्दा कुकुर मरिरहेको देखे ।

अरुको कारणले भन्दा हामी हामीभित्रको आफ्नै सोंच र डरका कारण दिनदिनै मरिरहेका हुन्छौं । हाम्रोसामु देखिएका समस्या साँच्चै समस्या हुन् या हामीले हाम्रो डरका कारण त्यसलाई समस्या देखिरहेका छौं भन्ने विचार गरौँ । नेपाली भनाइ नै छ नि – वनको बाघले भन्दा मनको बाघले खान्छ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text