ज्याक क्यानफिल्ड प्रसिद्ध लेखक तथा प्रेरक वक्ता हुन् । उनले प्रेरणादायी कथाहरुको संगालो रहेको एक किताब लेख्ने योजना बनाए र किताब लेख्न थाले । त्यतिबेला उनी ४८ वर्ष उमेरका थिए । किताब लेख्नको लागि उनीसंग उनका साथी मार्क भिक्टर ह्यन्सन पनि थिए ।
क्यन्फिल्ड र मार्कले किताब लेखेर सके । तर प्रकाशन गर्नको लागि निकै मुस्किल पर्यो । उनीहरु किताब लेखेर सकेको १४ महिनासम्म प्रकाशनको लागि प्रकाशक खोज्दै भौतारिरहे । तर १ सय ४४ वटा प्रकाशकले उनीहरुको किताब प्रकाशन गर्न मानेनन् । एक प्रकाशकले उक्त किताब प्रकाशित भयो भने पनि २० हजार प्रति भन्दा बढी नबिक्ने बताए । क्यानफिल्डले भने आफ्नो किताब कम्तीमा पनि ५ लाख प्रति बिक्ने बताएका थिए । यो सुनेर ती प्रकाशकले हाँसोमा उडाएका थिए ।
त्यसपछि क्यान्फिल्ड र मार्कले आफ्नो किताब प्रकाशन गरिदिने एउटा सानो प्रकाशक भेटे । त्यसपछि उनीहरुको किताब ‘चिकेन सुप फर द सोल’ विश्वका बीस भन्दा बढी भाषामा अनुवाद भयो । विश्वमा अत्यधिक बिक्रि हुने पुस्तकमा पर्यो ।