नेपालको तराई क्षेत्रको जिल्ला विरगंजमा वि.सं २०२६ मा पिता ओम प्रकाश रुङ्गटा र आमा चन्द्रकला देवीको सन्तानको रुपमा अनिल कुमार रुङ्गटाको जन्म भएको थियो । पिता ओम प्रकाश सरकारी जागिरे थिए , जसले गर्दा उनको विभिन्न ठाउँमा सरुवा हुने गर्थ्यो । पिताले आफ्नो परिवारलाई पनि साथै लिएर हिंड्ने भएका कारण रुङ्गटाले नेपालका विभिन्न ठाउँबारे जान्ने, घुलमिल हुने अवसर पाए ।

अहिले नेपालकै सफल व्यवसायी मध्येका एक अनिल कुमार रुङ्गटाले स्कुले जीवनमा व्यवसायी बन्छु भनेर कहिल्यै सोंचेनन् । बालबालिकाको सपना, सोंच र व्यवहारमा उसको पारिवारिक पृष्ठभूमीले निकै ठूलो प्रभाव पारेको हुन्छ । यो प्रभाव रुङ्गटामा पनि थियो । बुवा सरकारी जागिरे भएका कारण उनमा पनि जागिरप्रति मोह बढेको थियो । स्कुले जीवनमा उनी पढाइ सकेर बुवाले जस्तै सम्मानित जागिर गर्ने, ठूलो पदमा रहेर काम गर्ने सपना देख्थे । परिवार तथा समाजमा रहेको राजनीतिक प्रभावका कारण उनमा राजनीति प्रति पनि रुचि थियो ।

स्कुल जीवन बिताइसकेपछि अनिल कुमार रुङ्गाटा क्याम्पस पढ्नको लागि विरगंजकै ठाकुरराम क्याम्पसमा भर्ना भए । ठाकुरराम क्याम्पसबाट उनले स्नातक पास गरेका छन् । उनको चाहना स्नातकोत्तर गर्ने थियो । तर, क्याम्पसमा स्नातकोत्तर तह नहुनु र बाहिर गएर पढ्ने वातवरण नमिल्नुले उनको त्यो चाहना अधुरो रह्यो । स्नातक पढ्ने क्रममा २०४६ सालमा नेपालमा जनआन्दोलन भयो, जसमा नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा लागेका उनी सहभागी भएका थिए । त्यसपछि उनी लामो समयसम्म राजनीतिमा अप्रत्यक्ष रुपमा सहभागी भएका थिए । राजनीति भनेको कमाउने या जीवन चलाउनको लागि अपनाइने करियर होइन भन्ने मान्यता राख्ने अनिल कुमार रुङ्गाटा आफू राजनीतिमा संलग्न भएका सुरुवाती दिनमा पनि यही मान्यता राख्थे । जसले गर्दा उनले जीवन चलाउने करियरको रुपमा व्यवसायलाई चुने ।

बुवाको मार्गनिर्देशनमा रुङ्गटाका तीन दाजुभाई मिलेर व्यवसाय सुरु गरेका थिए । उनीहरुले सुरुमा हार्डवेयर सम्बन्धि व्यवसाय सुरु गरे । हार्डवेयर पसलमा भारतबाट सामान ल्याएर बेच्ने गरिन्थ्यो । व्यवसायिक यात्रा सुरु गरेपछि उनीहरुमा व्यवसाय सम्बन्धि ज्ञान बढ्दै गयो । नेपालमा हार्डवेयर सम्बन्धि सामानको उत्पादन गर्ने उद्ध्योगको अभावमा भारतबाट सामान ल्याउँदा महँगो पर्थ्यो, समय बढी लाग्थ्यो, परनिर्भरता बढी थियो । नेपालका व्यापारी र उपभोक्ता दुवैको लागि यो एउटा समस्या थियो । रुङ्गटाले यो समस्यालाई अवसरमा परिणत गर्ने निधो गरे । त्यसपछि रुङ्गटा दाजुभाइले वि.सं २०५८ मा एउटा नचलेको उद्योग किने ।

अनिल कुमार रुङ्गटामा आत्मविश्वास थियो, हार्डवेयर व्यवसाय सम्बन्धि लामो समयको अनुभव थियो, दाजुभाइबीच अगाडी बढ्नको लागि एकता थियो त्यसैले उनीहरुले नचलेको उद्योग किन्ने जोखिम मोलेका थिए । उद्योग संचालन गरेपछि विश्वभर चलेको आर्थिक मन्दी, देशको प्रतिकुल राजनीतिक अवस्था आदिले गर्दा उद्योगलाई निकै असर गर्यो । तर उनीहरु आत्तिएनन् । लगनशील भएर, आफ्नो लक्ष्यमा दृढ भएर अगाडी बढिरहे । उनीहरु आफ्नो एउटा काममा सफल भएपछि अर्को काममा पाइला अगाडी बढाउँदै गए । सानो उद्योग विभिन्न हाँगा सहित विस्तार हुँदै गयो । र, फलस्वरूप जगदम्बा उद्योग नेपालकै सबैभन्दा ठूलो र सफल उद्ध्योग मध्येको एक बन्न सफल भयो ।

जगदम्बा इन्टरप्राइजेजका डाइरेक्टर रहेका अनिल कुमार रुङ्गटा व्यवसाय गर्न चाहने व्यक्ति लगनशील, आफ्नो लक्ष्य प्रति दृढ र आर्थीक अनुशासनमा रहने हो भने सफल हुन सक्ने बताउँछन् । रुङ्गटाका अनुसार, व्यवसाय असफल हुनुको एउटा मूख्य कारण बढी महत्वाकांक्षा पनि हो । बढी महत्वाकांक्षा राखेर फाल हाल्नुहुँदैन । ठूलो सपना लिएर अगाडी बढ्नुपर्छ, तर विस्तारै क्रमैसंग साना-साना योजना तथा काम पूरा गर्दै त्यो ठूलो सपनासम्म पुग्नुपर्छ भन्ने मान्यता राख्छन् उनी ।

अनिल कुमार रुङ्गटा पछिल्लो समय राजनितीमा पनि सक्रिय छन् । उनी नेपाली कांग्रेसको तर्फबाट पूर्व संविधान सभा सदस्य समेत हुन् । राजनितीले आफूलाई व्यवसायमा कसरि समाजप्रति उत्तरदायी हुने भन्ने सिकाएको र व्यवसायले राजनीतिमा कसरि बलियो सांगठानिक संरचना बनाउन सकिन्छ, कसरि बलियो प्रणाली निर्माण गर्न सकिन्छ र कसरि वैज्ञानिक रुपमा रचनात्मक ढंगले अगाडी बढ्न सकिन्छ भन्ने सिकाएको उनी बताउँछन् । उनी राजनितीलाई एउटा करियर नभएर देशको सेवा गर्ने माध्यम मान्छन् । त्यसैले उनी युवाहरुलाई पैसा आर्जन गर्ने अरु करियर रोजेर मात्र राजनीतीमा प्रवेश गर्न आग्रह गर्छन् । उनका अनुसार, यदि अरु कुनै पेशा नअंगालेर व्यक्ति राजनितीमा मात्र सक्रिय भयो भने, उसले राजनीतिलाई पैसा आर्जन गर्ने बाटो बनाउँछ र देशमा भ्रष्टाचार बढ्छ ।

अनिल कुमार रुङ्गटाको अबको उद्देश्य व्यवसायमा आफ्नो पद हस्तान्तरण गरेर आफू राजनीतिमा सक्रिय रुपमा लाग्ने रहेको छ। देशको आर्थीक समृद्धिको लागि उनी आफूले व्यवसायबाट सिकेको ज्ञान, भोगेको अनुभवलाई राजनीतिमा ल्याउन चाहन्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text