सफल स्टोरिज प्रति म धेरै आभारी छु । प्रशंसा गर्नको लागि मसंग धेरै गहकिला शब्दहरु छैनन् , आउँदैनन् । तर मेरो जीवनमा सफल स्टोरिजका कारण आएको अतुलनिय परिवर्तन नै उदाहरण हो । आफूलाई समय र परिस्थिति अनुकुल भएर अडिग बनेर संघर्ष गर्न सिकाउने र प्रेरणा प्रदान गर्ने सफल स्टोरिज आजको युवावर्गको लागि बलियो आधार बनेर उभिएको छ ।

सपना सबैको हुन्छ, कसैको ठूलो अनि कसैको सानो । तर फरक यत्ति हो कि, त्यो सपनालाई साकार पार्नको लागि गरिएको संघर्ष, मेहनत तथा आफूमा अनुशासन र आत्मविश्वास कति छ । सफलता प्राप्त गर्नको लागि हिंड्ने बाटो कसैको लागि पनि सरल र सहज छैन । विभिन्न समस्या र चुनौतीहरु सामना गर्दै कैयौं दिन भोकै सडकमा रात बिताएर पनि आफ्नो सपनालाई नत्यागेका कारण सफल भएका व्यक्तिहरुको कथा हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ । तर, हामीजरु गुमाउन भन्दा केही पाउन मात्र चाहन्छौं अनि सफलताको आशा राख्छौं । आशा गरेकै भरमा, चाहेकै भरमा सफल हुनेभए, संघर्षको आवश्यकता नै किन पर्थ्यो र ! फेरी, आशाले पाएको सफलताले भन्दा कडा मेहनतले पाएको सफलताले खुशी र सन्तुष्टी मिल्छ ।

जिन्दगी भनेको छोटो छ । बितेको समय न त चाहेर, न त रोएर नै फर्केर आउँछ । बगिरहेको खोला जस्तै, समय पनि बगिरहन्छ, फर्केर आउंदैन । त्यसैले आजैबाट केही गर्ने सुरुवात गर्नुपर्छ । हरेक मान्छेको विगत हुन्छ । त्यो विगतले सिकाएको पाठले नै मानिसले सुन्दर भविष्य निर्माण गर्न सक्छ । त्यसैले आजै आफ्नो विगतबाट केही सिकेर भविष्य निर्माणको लागि अगाडी बढौं । प्रतिबद्ध भएर छोटो जीवनको यो छोटो समयलाई सदुपयोग गरौँ । कुनै पनि काम सुरु गरिसकेपछि त्यो कामलाई सफलता प्राप्त गर्न एक्लैले सम्भव हुँदैन । त्यसैले आफूलाई साथ र सहयोग गर्ने व्यक्तिसंग मिलेर काममा अगाडी बढौं । जिन्दगी एउटा यात्रा हो । यात्रामा धेरै दोबाटोहरु भेटिन्छन् । त्यसैले दोबाटोमा भेटिने संगतलाई राम्रोसंग चिन्नुपर्छ । सकारात्मक सोंच भएका व्यक्तिसंग मात्र अगाडीको यात्रा सहज हुन्छ ।

सफलता भनेको पैसा मात्र होइन, माया, साथ र परिवार हो । त्यसैले आफ्नो परिवार प्रतिको दायित्व, आमाबुवा प्रतिको दायित्व, समाज प्रतिको जिम्मेवारीलाई पनि बुझेर अगाडी बढौं । अभिभावक आशिर्वाद र परिवार तथा साथीहरुको मायाले अप्ठ्यारो परिस्थितिमा पनि अगाडी बढ्ने हौसला दिन्छ । त्यस्तै, परिवार तथा समाजका बालबालिकालाई प्रोत्साहन गरौँ । हुने बिरुवाको चिल्लो पात भने जस्तै, कुनै पनि बालक पछि कुनै कुरामा दक्ष बन्नु छ भने सानै उमेर देखि उसले लक्षण देखाउंछ । त्यस्तो अवस्थामा बालकलाई सही मार्गनिर्देश गरौँ, हौसला प्रदान गरौँ । उसलाई सकारात्मक वातावरणको निर्माण गरि हुर्काउनुपर्छ । त्यो सकारात्मक वातावरणले गर्दा उनीहरुले आफ्नो क्षमता देखाउने अवसर पाउनेछन् ।

अन्त्यमा, सफल स्टोरिजलाई धेरै शुभकामना । अझ धेरै सकारात्मक र प्रेरणादायी सामग्रीहरु पढ्न पाउँ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text