धार्मिक कुरा सुन्दा ” मरेपछि वैतरणी नदी पार गर्नुपर्छ” । त्यस नदीमा ठूला ठूला सर्प, गोहीहरु हुन्छन् । पानी होइन, रगत, मासु र पिप बगिरहेको हुन्छ । त्यो नदी तरेर स्वर्ग जानुपर्छ “। मरेपछि तर्ने वैतरणी नदी जिउंदैमा तर्ने कोसिस गर्दैछु । वैतरणी नदी तर्नु भनेको संघर्ष र चुनौती हुन् । अलिकति डगमगायो भने चुनौतीले निलिहाल्छ । रगत, मासु, पिप, मलमुत्र भनेका जीवनमा आइलाग्ने घिनलाग्दा कुरा हुन् र यिनीहरुसंग बच्दै अगाडी बढ्नु हो । प्रतीकात्मक रुपको वैतरणी नदी जिउंदैमा तरेर स्वर्ग जस्तो देश नेपालमा स्थापित हुन खोज्नु हो । म त्यही खोज्दै छु। हामी त्यही खोज्दै छौं ।

मान्छे जन्मने बित्तिकै रुन्छ । जो रुँदैन उसलाई चिमोटेर, खुट्टा समाती उल्टो झुण्डाएर पाइतालामा पिटेर भए पनि रुवाइञ्छ । जन्मनासाथ रुने पर्ने भनेको जीवनमा जसले पनि रुने पर्ने संकेत हो । त्यसैले हाँसोभन्दा आँशु जेठो हो ।

गरिबलाई गरिबीले रुवाइरहेको छ, धनीलाई धनले रुवाइरहेको छ । अपराधी मन भएकाहरु धेरै मान्छे मार्न पाइनँ भन्ने पीरले रुन्छन् , कोमल मन भएकाहरु कति धेरै मान्छे मर्दैछन् भनेर रुन्छन् ।

मान्छेको हेराइमा म हँसाउने मान्छे हूँ । सोंच्लान् , योसंग त हाँसोको खानी छ, यो त रुँदै रुँदैन । तर म पनि जन्मनासाथ रोएको थिएँ । धेरै बेरसम्म चिच्याईचिच्याई रोएको थिएँ होला । त्यसैले मसंग भएको हाँसोलाई आँशुले नराम्रोसंग जितेको छ ।

बाल्यकालमा आमा नमरुन् , बुढेसकालमा स्वास्नी नमरुन् भन्छन् । तर म एघार वर्षको हुँदा मेरी आमा बित्नुभयो, त्रिपन्न वर्षको हुँदा मेरी मीरा ।

छोरा त्रिलोक र मोहित मीरालाई ‘मामु’ भन्थे । म पनि उनलाई मामु नै भन्थें । ‘मामु’ भन्दा मलाई उनी आमा जस्ती लाग्थ्यो । मीरा मेरो अभिभावक पनि थिइन् ।

‘नारीका रुप धेरै हुन्छन् ‘ भन्ने सुनेको मात्र थिएँ, तर मैले मीराको साथ पाएपछि आफैले अनुभव गरें । आमा, श्रीमती, साथी, अभिभावक सबै भएर उनले मलाई साथ दिइन् । उनी मसंग नआएको भए, मेरो जीवन ‘आवारा’ को जस्तो हुन्थ्यो होला भन्ने लाग्छ ।

( नेपाली कलाक्षेत्रका सफल कलाकार हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको अध्याय हाँसोभन्दा आँशु जेठोबाट यो छोटो अंश साभार गरिएको हो । उनको आत्मकथा ‘चिना हराएको मान्छे’ ले जीवन बुझ्न मद्दत गर्दछ । त्यसैले यो पुस्तक जोकोहीका लागि पनि उपयुक्त पुस्तक हो । )

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text