अरुले बिहानै मन्दिरमा धर्म भजाउँदै, जीवन खुशी बनाउनको लागि भगवानसंग केही माग्दै घण्टीहरुको आवाज गुन्जाउँदै गर्दा उनको मोबाइलमा जीवनको सास र आशको लागि घण्टी गुञ्जिरहेका हुन्छन् । भगवानले दिएको जीवनलाई अपूर्ण ठानेर आफ्नै जीवनलाई बोझ मानिरहेका व्यक्तिहरुको भिंडमा उनी हजारौं, लाखौं जीवन बचाउने अभियानमा दौडिरहेका छन् ।

कंचनपुरको अमरैया भन्ने ठाउँमा जन्मिएका थिए, तिर्थ राज अवस्थी । सानो घर, बुवाको कमाइले धानिनुपर्ने पूरै परिवार । ८ कक्षा पढ्दा सम्म उनलाई खुट्टामा साधारण चप्पल छोडेर जुत्ता लगाउन पाउनु पनि ठूलो कुरा लाग्थ्यो । त्यही अभावले नै उनलाई जीवन बुझायो ।

बुवा फार्मेसिस्ट हुनुहुन्थ्यो । जसको प्रभाव उनमा पनि पर्यो र सी.एम.ए पढे । सी.एम.एको प्रमाणपत्र सीटिइभीटिबाट लिनको लागि उनी पहिलो पटक काठमाडौं आएका थिए । काठमाडौंमा ४५ दिन बस्नु परेपछि उनले जुन काम पाइन्छ, गर्न थाले । पैसाको अभाव थियो, काम गरेर नपुगेपछि उनी कहिलेकाहीं भोकै समेत सुते । सानै देखि संघर्षसंग परिचित अवस्थीलाई काठमाडौंका ती दिनले निराशा भन्दा साहस बढी दिए। त्यसपछि उनले काठमाडौंमै बसेर आफ्नो करियर विकास गर्ने निधो गरे र फार्मेसी विषयमा डिप्लोमा गर्ने निधो गरे । तर, क्याम्पसको वार्षिक शुल्क सुन्दा उनको सातो गयो । क्याम्पसमा ३५ हजार शुल्क लाग्ने भयो, उनले त्यतिबेला सम्म एकमुष्ठ १० हजार समेत देखेका थिएनन् । परिवारमा बुवाआमाले गरिरहेको दु:खसंग परिचित थिए उनी, जसले गर्दा बुवाआमासंग पैसा माग्न उनको मनले मानेन ।

अवस्थीले क्याम्पस प्रमुखलाई आफ्नो समस्या सुनाए । क्याम्पस प्रमुखले उनको समस्या सुनिसकेपछि शुल्क तिर्ने म्याद उनको लागि तीन महिना बढाइदिए । अब त्यो शुल्क तिर्नको लागि आवश्यक काम र करियरको लागि राम्रो पढाइ बीच सन्तुलन आवश्यक थियो । जसलाई उनले राम्रो संग व्यवस्थापन गरेर प्रथम श्रेणीमा पढाइ पूरा गरे । पढाइ पूरा गरेपछि पोखराको मणीपाल अस्पतालमा फार्मेसिस्टको जागिरको लागि आवेदन खुल्ला गरिएको थियो । उक्त जागिरको लागि २४ जना भन्दा बढीले लिखित परिक्षा दिएका थिए । तर उनी जागिरको लागि छानिए र पोखरामै बस्न थाले ।

तिर्थ अवस्थी अहिले साइकले रक्तदाताको रुपमा चिनिन्छन् । ‘प्रत्येक स्वस्थ युवाले १८ वर्षको जन्मोत्सवसँगै रक्तदानको सुरुवात गरौं,’ भन्ने आव्हानका साथ आफ्नो अभियान अगाडी बढाएका उनी नेपाल स्वयंसेवी रक्तदाता समाज अर्थात Nepal Voluntary Blood Donor’s Society (NVBDS) कास्कीका अध्यक्ष हुन् । उनले अहिले सम्म तीन हजार भन्दा बढीलाई रगतको व्यवस्था गरिदिएका छन् भने आफैले पनि अहिलेसम्म ५४ पटक रक्तदान गरिसकेका छन् । अवस्थीले रक्तदान गर्न संदेश दिंदै एक्लै मेची-महाकाली यात्रा समेत गरेका छन् ।

१० वर्षअघि अवस्थीका दाइ (मामाको छोरा) ब्लड क्यान्सरसँग जुध्दै थिए। भक्तपुर क्यान्सर अस्पतालमा दाइको भर्ना गरिएछ । रक्त सञ्चार केन्द्रमा रगत पाइएन। उनी रगतको खोजीमा भौंतारिए। उनले धेरै मान्छेहरुलाई रगत दिन आग्रह गरे। उनी होटल, किराना पसलदेखि फेन्सीसम्म उनले रगत आवश्यकता लेखिएको पर्चा टाँस्दै हिँडे। पछि रगत दान गर्ने त आए तर केही दिनमै दाइको निधन भएछ। अवस्थीले त्यही दिन संकल्प गरे, ‘रगतकै कारण कसैले ज्यान गुमाउन नपरोस्। बिरामीले रगत खोज्दै हिँड्ने होइन, म रगत चाहिएका बिरामी खोज्दै हिँड्छु।’ कलेज पढ्दा समेत उनले रगत किन्न नसकेर अस्पतालबाट उचार बिना नै फर्किन लागेका बिरामीलाई साथीहरुसंग मिलेर पैसा जम्मा गरेर, रगत दिलाएर फेरी अस्पतालमा भर्ना गरिदिएका थिए ।

यसको साथै नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्ति तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेम सागर कर्माचार्यसंगको भेटले अवस्थीले आफ्नो संकल्पलाई जीवनको लक्ष्य नै बनाए । उनी चाहन्छन्, कोही पनि बिरामी रगत अभावमा मर्नु नपरोस् र कास्की हुँदै देशका सबै जिल्ला रगत अभाव नभएका जिल्ला बनुन् । कोही पनि गरिब बिरामी पैसा तिर्न नसकेका कारण रगत नपाएर मर्नु नपरोस् ।

कास्कीमा नेपाल रक्तदाता स्वयंसेवी समाज स्थापना गरेपछि तिर्थ राज अवस्थीलाई रक्तदानको लागि कसरि धेरै मानिसलाई संस्थासंग जोड्न सकिन्छ भन्ने कुराले सतायो । यस्तैमा उनले एकदिन विश्व साइकल यात्री पुस्कर शाह सम्बन्धि समाचार पढे । त्यसपछि उनमा साइकल यो संदेशलाई फैलाउने प्रभावकारी माध्यम लाग्यो । साइकल किन्न पनि उनले व्यवस्थापन गरेभन्दा बढी पैसा आवश्यक थियो । तर, पछि हट्ने भन्दा चुनौतीको सामना गर्नुपर्छ भन्ने उनले पैसा व्यवस्था गरे र साइकलमा हिड्न थाले । साइकलमा हिंड्दा उनले रक्तदान सम्बन्धि संदेश लेखेको टिसर्ट लगाए । धेरै हतार हुँदा बाहेक अरु बेला साइकलमै हिंड्न थाले । उनी साइकलमै हिंड्दै गर्दा मानिसहरुले उनको टिसर्टमा लेखिएका कुराहरु पढ्थे । केहीले उनलाई पागल पनि भन्थे, तर उनी नकारात्मक आलोचनाबाट कहिल्यै पनि विचलित भएनन् ।

साइकलबाट रक्तदान सम्बन्धि संदेश फैलाउने प्रयास प्रभावकारी भएपछि अवस्थीले देशका विभिन्न ठाउँमा पुगेर संदेश फैलाउने सोंच बनाए । तर, साइकलमा एक्लै लामो दुरीमा हिंड्नु, वन जंगल, डांडा काँडा काट्नु, ओकली ओराली गर्नु चुनौतीपूर्ण थियो । त्यही योजनाका बीच उनको भेट विश्व साइकल यात्री पुस्कर शाहसंग बताए । उनले आफ्नो डर समेत बताए । त्यसपछि पुस्कार शाहले जवाफ दिए , ” सधै आफूलाई विजेता सोंचेर अगाडी बढ ” ।

ती शब्दले अवस्थीलाई मेची महाकाली साइकल यात्रा गर्ने हिम्मत दियो र जुन सफल पनि भयो । यात्रामा उनले राम्रा मान्छे पनि भेटे र साइकल नै लुट्न खोज्ने समेत भेटे । तर ती सबैखाले मानिस र सबै ठाउँले आफूलाई केही न केही शिक्षा दिएको, अनुभव र आत्मविश्वास दिएको उनी बताउँछन् । उत्प्रेरणा जगाइदिएर जीवनमा यो सुन्दर मोड ल्याइदिएका विश्व साइकल यात्री पुस्कर शाहलाई उनी कहिल्यै बिर्सिन सक्दैनन् । त्यसैले त पुस्कार शाहसंग भएको पहिलो भेटको पूरा मिती याद छ उनलाई – २००५ डिसेम्बर ३१ तारिख ।

तिर्थ राज अवस्थी गरिबीको अभावमा रगत किन्न नसकेर मृत्यु स्वीकारेका बिरामीलाई जीवनको आशा दिन चाहन्छन् । उनी साइकलिङ्गबाट रक्तदान मात्र नभएर देशको पर्यटनमा पनि सहयोग पुर्याउन चाहन्छन् । विभिन्न चुनौतीको सामना गर्दै अगाडी बढिरहेका उनी अबका दिनमा अझ प्रभावकारी ढंगले काम गर्दै आफ्नो लक्ष्यमा अडिग रहेर लाखौँ जीवनमा मुस्कान ल्याउन चाहन्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text