जगदम्बा इन्टरप्राइजेजका डाइरेक्टर रहेका अनिल कुमार रुङ्गटा व्यवसाय गर्न चाहने व्यक्ति लगनशील, आफ्नो लक्ष्य प्रति दृढ र आर्थीक अनुशासनमा रहने हो भने सफल हुन सक्ने बताउँछन् । रुङ्गटाका अनुसार, व्यवसाय असफल हुनुको एउटा मूख्य कारण बढी महत्वाकांक्षा पनि हो । बढी महत्वाकांक्षा राखेर फाल हाल्नुहुँदैन । ठूलो सपना लिएर अगाडी बढ्नुपर्छ, तर विस्तारै क्रमैसंग साना-साना योजना तथा काम पूरा गर्दै त्यो ठूलो सपनासम्म पुग्नुपर्छ भन्ने मान्यता राख्छन् उनी ।
व्यवसायमा सफल हुन चाहनेहरुका लागि व्यवसायी अनिल रुङ्गटाका टिप्स
सपना ठूलो देख्नुपर्छ । तर बढी महत्वाकांक्षी बन्नु हुँदैन । तल्लो खुड्किलाबाट एकै पटक माथीको खुड्किला उक्लिनु भन्दा विस्तारै सिंढी चढ्दै जाने हो भने, जोखिम कम हुन्छ र सफलताको सम्भावना बढी हुन्छ ।
बजारलाई राम्रोसंग बुझेर र सकेसम्म आफूलाई कामको अनुभव भएको क्षेत्रसंग सम्बन्धित व्यवसाय गरियो भने सफलता नजिक हुन सक्छ । तर, सफलताको लागि कडा मेहनत साथै हरेक दिन केही न केही सिक्ने र सिर्जनात्मक बन्ने प्रयास पनि आवश्यक हुन्छ ।
व्यवसायमा लाग्ने व्यक्तिमा धैर्यता हुनु आवश्यक छ । एकै पटक आफूले चाहेको जस्तो सफलता मिल्दैन । सफलताको लागि कडा मेहनत, लगनशीलता र धैर्यता हुनु आवश्यक छ ।
आर्थीक अनुशासनमा रहनुपर्छ । धेरै मानिसहरु व्यवसाय केही नाफामा जानासाथ फजुल खर्च बढी गर्छन् , आफ्नो आम्दानी र खर्च बीच सन्तुलन गर्दैनन् । यसले गर्दा धेरै व्यवसायीहरु पहिले फैलिन्छन् र पछि सुक्न थाल्छन् ।
कडा मेहनतको विकल्प अरु हुँदै सक्दैन । आफ्नो लक्ष्य प्राप्तिको लागि कडा मेहनत गर्नैपर्छ । यदि नेतृत्वमा भएको व्यक्तिले कडा मेहनत गर्छ भने उसको टिमको हरेक व्यक्तिले मेहनत गर्छ ।
समय व्यवस्थापनमा ध्यान दिनुपर्छ । छिटो उठ्ने बानी बसाल्नुपर्छ । त्यसपछि महत्वपूर्ण कामहरु सबैभन्दा पहिले गर्न थाल्नुपर्छ ।
पैसा मात्र ठूलो होइन, आफ्नो पेशाले, आफ्नो कामले, आफ्नो उत्पादन या सेवाले समाजमा कस्तो संदेश दिइरहेको छ, समाज समृद्ध बनाउनको लागि कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । होइन भने व्यवसाय दिर्घकालिन हुन सक्दैन ।
व्यवसायमा कुनै पनि निर्णय लिंदा यदि गल्ती भयो या गलत परिणाम आयो भने हरेस खानु हुँदैन । गल्ती जोसुकैबाट पनि हुन्छ। त्यो गल्तीबाट सिकेर, गलत परिणाम आउनुको कारण बुझेर फेरी अगाडी बढ्नुपर्छ ।
अनिल रुङ्गटाको सफलताको कथा पढ्न यहाँ क्लिक गर्नुहोस्