जीवनमा हामीले अनेक योजना, सपना बुनेर बसेका हुन्छौं । तर सधै हामीले योजना बनाए अनुसार, सपना देखे अनुसार हुँदैन । जीवनमा अचानक यस्ता मोड आइदिन्छन्, जसको हामीले कल्पना सम्म गरेका हुँदैनौं ।
जीवनमा आफूले नसोंचेको मोड आउँदा के गर्ने ?
सबैभन्दा पहिले त आफूले आफूलाई बिचरा या दु:खी देख्न छोडौं । हरेक व्यक्तिको जीवनमा अनपेक्षित मोड आउँछन् । जीवन भनेकै ती अनपेक्षित मोडहरुमा आफूलाई प्रस्तुत गर्दै अगाडी बढ्नु हो । यदि व्यक्तिले ती मोडमा सकारात्मक प्रतिक्रिया दिन्छ भने उसको जीवन सहज हुन्छ, यदि व्यक्ति त्यतिबेला नकारात्मक बन्छ भने उसको जीवनमा दुर्घटना समेत निम्तिन सक्छ ।
यदि यस्तो भइदिएको भए, मैले सोंचेको जस्तो भइदिएको भए भन्ने बानी हटाऔं । जीवन भनेको कल्पना या सपनामा हराउनु होइन । जीवन भनेको ती कल्पना या सपनालाई वास्तविकतामा परिणत गर्नु हो । मैले चाहेको या सोंचेको जस्तो भइदिएको भए भन्ने तिर नलागेर अहिले आएको अनपेक्षित मोडलाई कसरि आफूले चाहे अनुरुपको बनाउन सकिन्छ या अहिलेको मोडले ल्याएका राम्रा पक्ष के हुन् त्यतातिर ध्यान दिऔं ।
निकै नै अप्ठ्यारो परिस्थिति आएको छ भने, त्यसलाई सामना गरौँ । हामीलाई जसरि पनि त्यो परिस्थितिमा उभिनु छ । यदि उभिने प्रयास नै गरेनौं भने हाम्रो अस्तित्व नै हराउनेछ । त्यसैले आफ्नो आत्मविश्वास र सोंचलाई बलियो बनाऔं । त्यसको लागि हामीलाई अझ दु:खी बनाउने कुराहरुबाट टाढा बसौं ।
संगतले जीवनको जस्तोसुकै मोडमा पनि प्रभाव पार्छ । जब जीवनमा आफूले नसोंचेको मोड आउँछ, तब सकारात्मक सोंच भएका व्यक्तिसंग बढी समय बिताऔं । यसले गर्दा आफू भित्र हौसला, हिम्मत र आत्मविश्वास जाग्छ । यदि नकारात्मक संगत भएका व्यक्तिहरु नजिक गयौं भने उनीहरुले झनै ‘बिचरा’ बनाउँछन् र आफूलाई कमजोर महसुस हुन्छ ।
आफूलाई मन पर्ने कार्य गरौँ । आफूले पहिले चाहेको कुरा, अहिले आएको सोंच्दै नसोंचेको मोड, यसले ल्याएका राम्रा र नराम्रा पक्षहरु आदिको बारेमा डायरीमा लेखौं । यसले नयाँ सम्भावनाहरु खोज्न सहयोग गर्छ । विभिन्न पुस्तक पढौं र मनोरंजन तथा शारीरिक अभ्यासले दिमाग र शरीरलाई ताजा बनाऔं ।