आज म, अमेरिका पुगेपछि काम गर्नुपर्दाका केही स्मरणहरु लिपीबद्ध गर्न चाहन्छु।
‘पैसाको बोट’को देश अर्थात, अमेरिकामा हामी पुग्ने बित्तिकै पैसा झर्छ भन्ठान्छौँ। हामीमध्ये धेरै, कसरी हिसाव लगाउँछौँ भने, अमेरिका पुगेपछि हामी जुन ‘डलर’ कमाउने सपना देख्छौँ, त्यसलाई नेपाली पैसामा रुपान्तरण गर्छौँ र मख्ख पर्दै मनमनै हिसाव लगाउँछौँ,’ घन्टाको यति अमेरिकी डलर कमायो भने, महिनाको यति हुन्छ र, त्यसको नेपाली यति हुन्छ।’ तर हामी, के सोच्दैनौँ भने, पहिलो त घन्टाको सोचेजति डलरमा काम पाउन पर्यो र काम पाइसकेपछि पनि, त्यो डलर अमेरिकामा कमाएपछि, त्यसै अनुसारको खर्च पनि हुन्छ। मेरो सोच पनि त्यो भन्दा फरक थिएन। हुनत, म, पैसा कमाउने उद्देश्यले गएकी पनि थिइन तर पनि आम्दानीको हिसाव लगाउने तरिका मेरो पनि त्यही थियो।
मेरो छोरा र मेरो अमेरिका जाने टिकट, मेरो व्यक्तिगत गहना र केही चाँदिका भाडाँहरु बेचेर किनेँ; यसको साक्षी, सँगसँगै काम गर्ने साथी, पत्रकार शोभा गौतमसमेत हुनुहुन्थ्यो। त्यसबाहेक अमेरिका उड्दाको दिन, मसँग, जम्माजम्मि २५ सय अमेरिकी डलर हातमा थियो। त्यो पैसा पनि धेरै त, मेरो छोराले, उसलाई मैले नै समय समयमा दिएर जम्मा गरेको पैसा थियो। हाम्रो पहिलो वास सिँगापूर थियो; त्यहाँ एक रात बस्दा २ सय डलर होटेललाई बुझाइएको थियो। त्यसबाट बाँकी भएको २३ सय डलर लिएर, हामी अमेरिका छिर्यौँ।
हामी, अमेरिकाको टेक्सस राज्य स्थित, ह्युस्टन शहरमा अवस्थित जर्ज बुश कन्टिनेन्टल विमानस्थलमा अप्रिल १४, २००१ को दिन ओर्लियौँ। जुन विमानस्थलमा, पछिल्लो चरणमा मैले करिव ७ वर्ष काम गरेँ; त्यहाँको थूप्रै कुराहरुसँग मेरो स्मृति जोडिएको छ।
अमेरिकामा, मेरी छोरी र उनको हुनेवाला जीवनसाथी, हामीलाई लिन प्लेनबाट निस्कने ढोका बाहिर नै कुरिरहेका थिए। अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ को त्यो भयानक दूर्घटना हुनु अगाडिसम्म, डोमेस्टिक विमानस्थलमा यात्रुहरुलाई लिन प्लेनको ढोकाबाट निस्कने स्थानसम्मै यात्रुहरुलाई लिन जान पाइन्थ्यो। मेरी छोरी र उनको हुनेवाला जीवनसाथीको ईच्छा, मेरो छोरा र म, उनीहरुसँगै बसून् भन्ने थियो। तर मेरो भने, आफैँ गरी खानुपर्छ, कसैमाथि परनिर्भर भएर बस्न हुन्न र भर्खरै किशोरवयमा टेक्दै गरेको मेरो छोराले पनि अलिकति स्वतन्त्रतापुर्वक हुर्कन पाउनुपर्छ भन्ने हृदयदेखिको मनसाय थियो। त्यसैले, मेरी छोरीले, एक महिना पछिलाई अपार्टमेन्टको लागि सह- कन्ट्रयाक्टर बसेर अपार्टमेन्टको वन्दोवस्त गरिदिइन्। हामी आमा/छोरा छुट्टै बस्ने भयौँ।
यहीँबाट सुरु भयो, अमेरिकाको सँघर्षयुक्त जीवनको सुरुआत; कारण, अमेरिका, यहाँबाट देखेजस्तो सजिलो कतै पनि छैन। एउटा अपार्टमेन्ट भाडामा लिन पनि कि त, त्यहाँको राम्रो र बलियो क्रेडिट हिस्ट्रि चाहिन्छ; कि, कसैले, ‘उस/उनले भाडा नतिरेको खन्डमा, म, उक्त व्यक्तिको जिम्मेवारी लिन्छु।’ भनेर कबुलियतनामा गरिदिनुपर्छ। त्यसबाहेक, अपार्टमेन्ट भाडामा लिँदा, एक महिनाको भाडा बराबरको रकम डिपोजिट गर्नुपर्छ। तोकिएको समयमा भाडा तिरेन भने, केही समय दिएर, अपार्टमेन्ट भाडामा दिने कम्पनीले त्यहाँबाट निकाल्न सक्छ। भाडा तिर्न नसके पनि अनुबन्धित समयभन्दा अगाडि अपार्टमेन्ट छाड्न पाइन्न। यदि, बीचमै कन्ट्रयाक्ट तोड्यो भने, पछिका दिनहरुमा, अपार्टमेन्ट लिनमात्रै होइन, अन्य आर्थिक कारोबार हुने कुराहरुमा समेत नकारात्मक इतिहास बस्छ; अर्थात, धेरै हानी हुनसक्छ।
अपार्टमेन्ट भाडामा लिएपछि, बिजुली, पानीको लागि डिपोजिट राखेर ती कुराहरु जडान गरिदिन्छन्। ल्यान्डलाइन फोन पनि त्यतिबेला अत्याबश्यकीय वस्तु मै पर्दथ्यो। ती सबै सेवाहरु वापत डिपोजिट राख्दा र जीवन निर्वाहका अन्य अत्याबश्यकीय सामानहरु किन्दा त्यो २३ सय डलर त वालुवामा पानी हाले जस्तै भइहाल्यो। जब छुट्टै अपार्टमेन्टमा बस्ने तय भयो, तब, काम सुरु नगरी बस्ने त कुरै भएन। भर्खर नेपालबाट गएको मान्छे, अँग्रेजीको कखरा मात्रै जानेको; यस्तो भन्नुको कारण, कुनै कन्भेन्टमा पढेको होइन, कनिकुथि बिए पास ( त्यो पनि प्राइभेट परिक्षार्थी भएर ) गरेको मानिसले त्यहाँको जिब्रो बटारेर बोल्ने अँग्रेजी कसरी बुझ्नु! त्यसमाथि पनि एउटै अँग्रेजी शव्दको, बिभिन्न माने लाग्ने; ‘स्ल्याङ्’ मा एकथोक, ‘अर्ब्यान डिक्सनेरी’ले अर्को थोक बुझाउने ठाउँमा छोरीले आफ्नो चिनजानको भरमा आइसक्रिम पार्लरमा काममा लगाइदिइन्। ओहो मेरो भाग्य! मलाई परिस्थितिले कहाँबाट कहाँ पुर्यायो त!
मेरो जीवनको पहिलो काम, पहिलो काम यस अर्थमा कि, घरबाट बाहिर निस्किएर आर्थिक श्रोत जुटाउन थालेको काम, नेपाल राष्ट्र बैँकमा विक्रम सँवत २०४१ साल असोजबाट सुरु भएको थियो। त्यतिबेला नेपाल राष्ट्र बैँकको जागिर, सानै पोष्ट भए पनि सम्मानित र सरकारी कार्यालयहरुभन्दा बढि सुविधा प्राप्त थियो। सहायक पदमा अस्थाई सेवाबाट जागिर सुरु गरेकी मैले महिनाको रु. ७ सय ६० तलव प्राप्त गर्दथेँ। त्यस बाहेक, त्यहाँबाट पाइने अन्य सुविधामा अस्थाईलाई औषधोपचार खर्च र स्थाई भएपछि घरजग्गा सापटीसमेत पाइन्थ्यो।
सुरुमा, म, राष्ट्र बैँकमा गर्जो टार्न जागिर खान गएकी थिइन; जागिर खाने भित्री रहर मेटाउनु र आत्मनिर्भर हुनुपर्छ भन्ने मनसायबाट जागिरतर्फ आकर्षित भएकी थिएँ।
जागिर खान गए पनि म भित्र एउटा ठूलो दम्भ थियो। त्यो दम्भले मलाई राष्ट्र बैँकको सहायक पदको कर्मचारी भन्दा पनि ‘सुब्बा होम प्रसााद बाँस्कोटा’को बुहारी बढि बनाइ राखेको थियो। कार्यालय १० बजे पुगिसक्नु पर्थ्यो, अनि पिउनले बनाएर ल्याएको चिया खायो; गफ छाँट्यो; दुई चारवटा पत्रहरु चलानी गर्यो; जाडो महिनामा स्वेटर बुन्यो; जागिर पकायो; ५ बजे घर फर्क्यो। न कामको जिम्मेवारी, न, बोझ!
म कार्यरत ‘कृषि कर्जा बिभाग’को फर्ष्ट क्लास हाकिम रुवी जोशी हुनुहुन्थ्यो; हरेक दिन, उहाँको एकाध घन्टा यता उताको गफ हामीले सुन्नै पर्दथ्यो। आफ्नै कोठाको मूख्य हाकिम दक्ष ( बहादूर ?, गायक हिरण्य भोजपूरेका भाइ ) श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले सिधै कहिल्यै केहि अह्राउनु हुन्नथ्यो। सबैले ‘सुब्बा होम प्रसादकी बुहारी, जागिर खानै नपर्ने मान्छे’को रुपमा मान दिन्थे। भ्रमको सन्सारमा रमेकी म, जीवनको निर्धात् चुटाई खाइसकेकी थिइन, त्यो ‘भ्रामक मान’लाई सत्य ठानेर गमक्क पर्थेँ।
एकदिन, सायद, कोठामा पिउन थिएनन्; दक्ष जी ले मलाई अह्राउनु भयो, ‘बाँस्कोटा जी, यति नम्बरको फाइल ल्याउनूस् त! त्यो ड्रयरमा छ!’ त्यो सुनेर मेरो आँखाबाट झन्डै आँशु वर्षिएन! मनैमनले सोच्यो, ‘ओहो, म, सुब्बा बाजेको बुहारीलाई त्यसरी काम अह्राउने!’ मैले, मेरो अस्तित्व त्यहाँको कार्यालय सहायक हो र मभन्दा माथिल्ला तहका हाकिमले त्यसै गरी काम अह्राउन मलाई त्यहाँ भर्ना गरेका हून् भन्ने कुरा त मेरो दिमागको कुनै कुनामा पनि बसेकै पो रहेनछ !
धेरै दिनसम्म, दक्ष जी सँग मनैमन रिस उठिरह्यो; उहाँको मुख पनि हेर्न मन लागेन। त्यो थियो, ‘सुब्बा होम प्रसाद बाँस्कोटा’की बुहारीको फूर्ती!
तर समयको अन्तरालले सुब्बाकी बुहारीलाई ‘मार्बल स्ल्याब’को आईसक्रिम पार्लरमा पुर्यायो तर पनि चूँक्क नगरी काम गर्न तयार हुनुपर्यो।