चे ग्वेभारा राजनीतिक क्रान्तिकारीको रुपमा संसारभर प्रसिद्ध छन् । पेशाले चिकित्सक उनी समाज सुधारको लागि क्रान्तिमा होमिएका थिए । उनको जन्म १४ जुन १९२८ मा भएको थियो भने ९ अक्टोबर १९६७ मा उनको निधन भएको थियो । अर्जेन्टीनाका मार्क्सवादी क्रान्तिकारी नेता चे ग्वेभाराले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। उनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कुटनीतिज्ञ पनि थिए ।
चे ग्वेभाराका प्रसिद्ध भनाइहरु
तिमीले मलाई मार्न चाहन्छौ भने मार । तर, याद गर मैले छोडेका विचारलाई तिमीले कहिल्यै मार्न सक्नेछैनौ ।
यदि तिमी हिंडिरहेको बाटोमा कुनै पनि बाधा आएन भने, त्यो बाटोमा हिंडेर तिमीले प्रगति गर्न सक्दैनौ ।
काम बिनाका शब्द महत्वहीन हुन्छन् ।
तिम्रो जितको खुशीयाली होइन, तिमी हारेर पनि फेरी उठ्नुको खुशीयाली मनाऊ ।
ठूलो सफलता हासिल गर्नको लागि, सबैभन्दा पहिले तिमीले सबैकुराको त्याग गर्न सक्नुपर्छ ।
संघर्ष बिना स्वतन्त्रता प्राप्त हुँदैन ।
व्यवहारिक बन । तर, असम्भव कुराहरुको चाहना राख ।
साथीहरु नहुनु भनेको दु:ख लाग्दो कुरा हो । तर, शत्रुहरु नहुनु भनेको त्यो भन्दा झन् बढी दु:ख लाग्दो कुरा हो ।
सच्चा परिवर्तनकारीहरुले बाहिर देखावटी रुपमा नभई, भित्री मन र मस्तिष्कबाट विचारहरुले सिङ्गारिएका हुन्छन् ।
हरेक काम सफल हुनको लागि दृढ इच्छाशक्ति चाहिन्छ ।
परिवर्तन ल्याउन चाहन्छौ भने, सबैभन्दा पहिले शिक्षित बन ।
हरेक दिन मानिसहरुले आफ्नो कपाल मिलाउँछन्, तर मुटुलाई किन यत्तिकै छोडिदिन्छन् ?
एउटा व्यक्तिको जीवनको मूल्य, संसारकै धनी व्यक्तिसंग भएको सबै सम्पत्ति भन्दा पनि बढी हुन्छ ।
जबसम्म तिमीले ‘म मरेपनि मर्छु, तर प्राप्त गरेरै छोड्छु’ भन्ने अठोटले हिंड्दैनौ, तबसम्म तिमीले आफूले चाहेको कुरा प्राप्त गर्न सक्दैनौ ।
मौन रहनु भनेको फरक तरिकाले आएको तर्क हो ।
आमूल परिवर्तन भनेको पाकेर आफै भुइँमा झर्ने स्याउ जस्तो होइन । त्यसलाई तिमीले आफ्नै प्रयासले प्राप्त गर्नुपर्छ ।