क्यान्सरबाट गुज्रिएकी ११ वर्षिया बालिका आफू जस्तै अरु क्यान्सर पीडित बच्चाहरुको मुहारमा खुशी ल्याउने प्रयासमा तल्लिन छिन् । अमेरिकाकी स्याडी केलरलाई लुकेमिया भएको थियो । त्यसपछि उनको पूरा कपाल झर्यो । निरन्तरको उपचारपछि अहिले उनमा लुकेमिया देखिएको छैन र कपाल पनि फेरी आएको छ ।
स्याडीले अरु बच्चाहरुमा रोगसंग लड्न सक्ने क्षमता बढोस् भन्ने उद्देश्यले रोगसंग लड्दाको आफ्नो मानसिक, शारीरिक संघर्ष भिडियो मार्फत र प्रत्यक्ष कार्यक्रममा बाँड्दै आएकी छिन् । उनले क्यान्सर पीडित बालबालिकाको मुहारमा हाँसो ल्याउनको लागि उनीहरुलाई विभिन्न उपहार दिने अभियान चलाइरहेकी छिन् । उनको यो अभियानले, उनीबाट पाएको उपहार र मायाले छुट्टै उत्साह जगाइदिएको बालबालिकाहरु बताउँछन् । यो अभियानले प्रभावकारी रुपमा काम गर्न थालेपछि उनले यही अभियानलाई अगाडी बढाउने संस्था नै संचालन गरेकी छिन्
स्याडीलाई क्यान्सर पीडित बालबालिकाका अभिभावकले रोग लुकाउँदा, उनीहरुलाई घर भित्र नै लुकाउँदा र अरु बच्चा भन्दा फरक व्यवहार गर्दा नराम्रो लाग्छ । त्यसैले उनी क्यान्सर रोग सम्बन्धि जनचेतना फैलाउनुपर्छ भन्दै विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागी हुन्छिन् र क्यान्सर सम्बन्धि अनुसन्धानको लागि सरकारले बजेट तथा कार्यक्रम बढाउनुपर्ने भन्दै उनले उच्च पदस्थ व्यक्तिहरुसंग भेटेर पहल गरिरहेकी छिन् ।
Source : NBC Nightly News