हुन त मान्छेले भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्नुपर्छ भन्छन्, यो सत्य हो , म पनि मान्छु। तर कहिलेकाही कसैको जिन्दगीमा कर्म सत्य गर्दा गर्दै पनि भाग्यले साथ नदिदा नसोचेकै घटना घट्दो रहेछ र जिन्दगीले अर्कै मोड लिदोरहेछ । म त्यहि पात्र हुँ, जो सामान्य परिवारमा जन्मीएर १३ वर्षको उमेरमै आफनो जन्म दिने बुवालाई गुमाएर एक जिम्मेवार छोरी बन्न पुगे । मैले घरायसी कामको साथसाथै पढाईलाई पनि निरन्तर दिदै गाँउकी एक इमान्दार, मेहनती, समझदार, सोझी इत्यादी उपनाम पाएकी थिए । मलाई गाँउकी एक असल छोरी, बहिनी, भान्जी, नातिनीको उदाहरण दिएर कुरा गर्दा आफूलाई धेरै भाग्यमानी ठान्थेँ र म भगवानसँग सधै प्रार्थना गर्थे कि, म सधै गाउँकी एक उदाहरण बनीरहँु ।
मेरी आमा जो ३८ वर्षकाी उमेरमै एकल महिला हुनुभयो । सायद उहाँले चाहेको भए दोस्रो विवाह गर्न सक्नुहुन्थ्यो होला तर उहाँले काखमा ६ वर्षको छोरालाई च्यापेर गाँउमा दुई सन्तानको बुवा आमा दुवैको भुमिका निभाउनु भयो । म कहिल्यै दुखी भइन किनकी मसंग जन्म नदिए पनि कर्म दिन हरपल साथ दिनुहुने मेरो हजुरआमा, मामाहरु, लगायत मेरो आफन्तजनहरु हुनुहुन्थ्यो । एस.एल.सी पछिको सुरुवाती दिनहरुमा मलाई निरन्तर पढाई र आफ्नो खुट्टामा आफै उभिनलाई नव किरण प्लस संस्थामा रहनुहुने महान व्यक्तिहरु जो सँग मेरो रगतको नाता नभएपनि भावनात्मक नाता छ, सहयोगी मनका धनीहरुले साथ दिनुभयो ।
पढाई प्रतिको मेरो रुचिलाई बि.बि.एस. सम्म पार गर्दै थिए र आफूमा अब आफ्नो खुट्टामा आफै उभिन सक्छु भन्ने विश्वास बढिरहेको थियो । आफ्नो खुट्टामा आफै उभिन थाले पछि घरमा सधै बुबाको जिम्मेवारी वहन गर्ने म, आमा र भाई प्रतिको मेरो जिम्मेवारीमा कमी नआओस भनेर कहिल्यै पनि माया प्रेमको बन्धनमा बाधिन चाहिन । हरेक मानिसको आ-आफ्नो व्यक्तिगत चाहना हुन्छन्, तर म जहिल्यै पनि आफ्नो जिम्मेवारीको पछाडी मात्र लागिरहे ।
ममा पनि कहिलेकाहीं साथीहरुसंग रमाइलो गर्ने, घुम्ने,स्वतन्त्र भइ हिड्ने चाहना हुन्थ्यो । जब ममा यी चाहनाहरु पुरा गर्ने सोच आउथ्यो तब मेरो चाहनाको अगाडी मेरो जिम्मेवारी आउथ्यो र मैले कहिल्यै पनि ती चाहनाहरुलाई पुरा गर्न सकिन ।
जिन्दगीमा आफुलाई यहाँसम्म ल्याउन धेरै दु:ख गरे, मेहेनत गरे तर पनि खुसी थिए किनकि जिन्दगीमा सबैको साथ र सहयोगले आफुले भनेको जस्तो नै भइरहेको थियो । जे छ त्यसमा नै खुसी थिए, आफूलाई धेरै भाग्यमानी ठान्थें र हरेक दिन भगवानलाई धेरै धेरै धन्यवाद दिन्थे, प्राथना गर्थे कि मलाई सधै यस्तै खुसी दिनुहोस भनेर ।
उमेरले २४ लाग्दै थियो, सोचमा पनि परिवर्तन आउदै थियो । लाग्थ्यो अब जिन्दगीले केही नयाँ मोड लिनुपर्छ, सबै कुरा बुझ्ने र गर्न सक्ने भाईलाई विस्तारै घरको जिम्मेवारी दिएर आफू नयाँ जिन्दगी सुरु गर्नु पर्छ भनेर ।
जिन्दगीले नयाँ मोड त लियो नै तर अनौठो, कल्पना नै नगरेको मोड । आज सम्झीदा पनि नमिठो सपना झै लाग्छ । नमिठो सपना भएर त्यो सपनाबाट ब्युझिन पाए हुन्थो नि, तर ब्युझिन नमिल्ने खालको सपना विपनामा परिणत भएर आफूसँगै जिन्दगी भरी छायाँ बनेर बसिरह्यो ।
त्यो छायाँ भनेको एप्लाटिक एनिमिया रोग हो, जोसँग जोडिएको आज ३ वर्ष जति हुनलागेछ । धेरै रोए, रुन्न भन्दा पनि मुटु भकानिएर आउथ्यो र आखाँ रसाइहाल्थ्यो । भगवानसँग धेरै प्रश्न गरे, किन मलाई यस्तो गरेको, के थियो र मसँग ? म सँग त मेरी आमा र भाई बाहेक केही थिएन मैले त झन धेरै बाँचेर मेरो जिम्मेवारीहरु पुरा गर्नु थियो, उल्टै मलाई नै यति चाडै यो संसारबाट विदा हुनु थियो र ? आफू भित्रको भगवानसँग धेरै प्रश्न गर्दै उत्तरहरु खोज्ने प्रयास गरे । अन्त्यमा मैले आफैबाट ती प्रश्नका उत्तरहरु पाए ।
मलाई यो रोगले धेरै कुरा सिक्ने मौका दियो, जिन्दगीलाई राम्रोसँग बुझने सुनौलो मौका दिलायो । संसार मैले सोचेको जस्तो सानो रहेनछ । यो संसार त अति ठूलो रहेछ कि, मान्छेले बुझनै नसकीने जिन्दगी रहेछ त्यसैले त मान्छेले सोचेको जस्तो मात्र नहुदो रहेछ । यहाँ सहयोग गर्ने मनहरु पनि धेरै हुदारहेछन । मैले मृत्युको नजिक पुग्दाको अनुभव लिए र परिवारको मायाको अर्थ बुझे । अहिले त म अझ पहिलेको भन्दा धेरै बुझने भएको छु जस्तो लाग्छ । अहिले त अलि बढि सहनशील, समझदार भएको छु जस्तो लाग्छ । कम्तीमा पनि अरुको पिडा बुझ्न सक्ने भएको छु । साँच्चै आफूलाई परेपछि थाहा हुदोरहेछ कि अरुको पीडा कस्तो हुन्छ भनेर ।
अहिले मलाई, मैले नयाँ जन्म लिएको जस्तो लाग्छ । सबै कुरामा परिवर्तन भएको छ । जिन्दगीलाई व्यवस्थीत गरी बाच्नु पर्नेछ । सन्तुलिन आहार, पर्याप्त आराम, व्यायाम, ध्यान लगायत धेरै कुरालाई मध्येनजर गरी स्वस्थ जिवन जिउनुछ । ध्यान, प्रणायामले मान्छेलाई शान्त गर्न, सकारात्मक सोच पैदा गर्न र खुसी राख्न अति ठूलो सहयोग गर्दो रहेछ । यसले हरेक व्यक्तिलाई सुखी जिन्दगी बिताउन सहयोग गर्दो रहेछ झनै एक बिरामीको लागी त यो प्राकृतिक औषधी नै रहेछ । आज म यहि प्राकृतिक औषधी गरेर जिन्दगीलाई सुखी बनाउदैछु ।
मान्छेले नयाँ जिवन पाउन मृत्युलाई अंगालेर धेरै जुनी फेर्नुपर्छ भन्छन तर म त मृत्युलाई जितेर एकै जुनीमा दुई वटा जिवन जिउन पाइरहेकोछु । यसरी नयाँ जिवन पाएर यति धेरै कुरा सिक्न पाएकोमा म अहिले धेरै खुसी छु र आफूलाई भाग्यमानी ठान्छु । अहिले पनि म दैनिक भगवनालाई धेरै धेरै धन्यवाद दिन्छु र प्रार्थना गर्छु कि मेरो लागि नभएतापनि मलाई सहयोग गर्नुहुने सहयोगी मनका धनीहरुको लागि भएपनि मलाई स्वस्थ जीवन दिनुहोस र सधै सकरात्मक सोच दिनुहोस । हुनत मसँग कुनै ठुलो सपना छैन तर पनि आफूलाई पर्दा सहयोग गर्नुहुने मनका धनीहरुलाई आफुले सकेको सहयोग गर्ने, मेरो पढाई प्रतिको रुचिलाई थप निरन्तरता दिने र मेरो समाजसेवा गर्ने रहरलाई पुरा गर्ने सोच छ ।