सकारात्मक परिवर्तन ल्याउन, आफू खुशी रहन, बलियो बन्नको लागि हामीले सधै अरुको साथको अपेक्षा गरिरहेका हुन्छौं । तर हामी आफू स्वयं नै त्यो व्यक्ति हौँ जसले हाम्रो जीवनमा आमूल परिवर्तन ल्याउन सक्छौं । हरेक दिन अपनाउन सकिने स-साना बानीहरुले हाम्रो जीवनमा ठूलो प्रभाव पार्छन् ।
यदि आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ र सफल बन्न चाहनुहुन्छ भने बेलुका लेख्ने बानीले धेरै ठूलो भूमिका खेल्न सक्छ । बेलुका लेख्नको लागि एउटा डायरी बनाउनुहोस् । त्यो डायरीमा आफूले दिनभरि गरेका राम्रा कामहरुको बारेमा लेख्नुहोस् । ती कामले दिएको खुशी लेख्नुहोस् ।
राम्रा काम र खुशीको बारेमा लेखिसकेपछि, आफूलाई नढाँटि दिनभरिमा भएका गल्तीहरु लेख्नुहोस् । ती गल्ती के कारणले भए, ती गल्तीले के कुरा सिकाए र आगामी दिनमा ती गल्ती नदोहोरिन के गर्न सकिन्छ भन्ने लेख्नुहोस् ।
यसरि बेलुका लेख्ने बानी सुन्दा सामान्य सुनिएतापनि यसले जीवनमा धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । यसरि हरेक दिन लेख्दा, तपाईंले राम्रो कामबाट आफूलाई उत्प्रेरित गर्नुहुन्छ भने गल्तीहरु दिन प्रतिदिन कम हुँदै जान्छन् । यसले तपाईंलाई स्व-मूल्यांकन गरेर अगाडी बढ्न मद्दत गर्छ ।