सफलताको लागि कडा मेहनतको विकल्प अरु केही पनि हुँदैन । त्यसैले हामीले धेरै भन्दा धेरै काम गर्न चाहन्छौं । धेरै कामले गर्दा दिमागमा दबाब आउँछ । यसले मानसिक तनाव दिन्छ । जसले पछि फेरी त्यही कामलाई नै असर गर्छ ।

सामान्यतया: हामीले काम धेरै भएका कारण तनाव भएको मान्छौं । तर, कामको भार भन्दा बढी हाम्रो अस्तव्यस्तता र कमजोरीका कारण हामीलाई तनाव हुने गर्छ । भनिन्छ नि, मानिस व्यस्त हुन्न, अस्तव्यस्त हुन्छ । हामीलाई मूख्य तनाव भनेको कुन काम पहिले गर्ने भन्ने कुरामा हुन्छ । सम्झिनुहोस् त, तपाईंसंग धेरै वटा काम छन्, त्यो बेलामा तपाईंलाई कहाँ देखि सुरु गर्ने भन्ने सोंचेर टाउको दुख्न थाल्छ । तर, विस्तारै काम गर्दै गएपछि ती काम सजिलोसंग सकिदै जान्छन् ।

सबैभन्दा पहिले त कामको प्राथमिकता छुट्टाउन सिक्नुहोस् । जुन काम धेरै महत्वपूर्ण छ, त्यो काम पहिले गर्नुहोस् । यसो गर्दा तपाईंको आधा भन्दा बढी तनाव कम हुन्छ । तपाईंले सबैभन्दा महत्वपूर्ण काम पहिले नै गरिसक्ने हुनाले तपाईंलाई अनावश्यक चिन्ता कम हुन्छ । तपाईंले महत्वपूर्ण काम सकें भन्ने सोंच्नुहुन्छ, यसले तपाईंको शरीरमा अरु कामको लागि ऊर्जा आउँछ र आत्मविश्वास बढ्छ ।

दिन ढल्दै जाँदा विस्तारै शरीरको ऊर्जा कम हुँदै जान्छ । शारीरिक तथा मानसिक थकान महसुस हुन्छ । यदि तपाईंले महत्वपूर्णा काम पहिले पूरा गर्नुभएको छ भने, त्यो अवस्थामा तपाईंले बाँकी रहेका कामलाई भोलीको समय तालिकामा मिलाउन सक्नुहुन्छ । तर तपाईंले महत्वपूर्ण काम पूरा गर्नुभएको छैन भने तपाईंलाई काम गर्नैपर्ने दबाब हुन्छ र त्यसले तनाव ल्याउँछ ।

त्यसैले भोली गर्ने कामको बारेमा आज बेलुका टिपोट गर्नुहोस् । ती काम कति महत्वपूर्ण छन् , त्यही अनुसार नम्बर दिएर मिलाएर लेख्नुहोस् । भोली काम गर्ने समय भएपछि त्यो लिस्ट अनुसार काम गर्दै जानुहोस् । त्यसपछि सकिएका कामलाई चिन्ह लगाउनुहोस् । अब बाँकी कामलाई फेरी अर्को दिनको समय तालिकामा समावेश गर्नुहोस् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text