एउटा अस्पतालको एउटा कोठामा दुई जना वृद्ध बिरामी थिए । उनीहरु दुवै जना हिंड्न सक्ने स्थितिमा थिएनन् । एकजना कुनाको विस्तारामा थिए भने अर्का वृद्धको विस्तारा झ्यालतिर थियो । अस्पतालको बसाइ दुवैजनाको लागि पट्यार लाग्दो थियो ।

झ्याल तिर भएका वृद्धले सधै आफूले झ्यालबाट बाहिर देखेका दृश्यहरुको अर्का वृद्धलाई विस्तार गरिदिन्थे । उनले झ्याल बाहिरको दृश्य विस्तार गर्दा त्यहाँ सुन्दर बगैंचा रहेको, प्रेमी प्रेमीका हात समातेर हिंडीरहेको, फूलहरु फुलेको, पुतली र चराहरु उडिरहेको, सिमसिम पानी परिरहेको जस्ता कुराहरु बताउँथे । उनले विस्तार गरिरहँदा ती कुनामा रहेका वृद्ध कहिले कल्पनामा हराउँथे त कहिले आफ्ना पूराना सुन्दर पलहरु याद गर्थे।

एकदिन निदाइरहेका ती झ्यालतिरका वृद्ध लामो समयसम्म पनि उठेनन् । नर्स आएर हेरीन्, उनको त निधन भइसकेछ । त्यसपछि उनको विस्तारा खाली गरियो । साथीको निधनले दुखी भएका ती कुनामा रहेका वृद्धले नर्ससंग आफूलाई त्यो झ्यालतिरको विस्तारामा सारिदीनको लागि आग्रह गरे । नर्सले उनलाई झ्यालको विस्तारामा सारीदिइन् ।

ती वृद्धले झ्याल तिर हेरे । त्यसपछि अचम्म मान्दै नर्सलाई सोधे, ” यहाँ त मेरो साथीले सुन्दर दृश्य देखिन्छन् भनेर बयान गर्थ्यो । तर, मैले त अर्को भवनको भित्तो मात्र देख्छु । किन ?” नर्सले जवाफ दिइन् , ” यहाँबाट त्यही भवनको भित्तो मात्र देखिन्छ । तपाईंको साथीले तपाईंलाई खुशी बनाउन र बाँच्नको लागि हिम्मत दिनको लागि यहाँबाट सुन्दर दृश्य देखिने बताउने गर्नुहुन्थ्यो होला । तर, उहाँको त आँखा समेत कमजोर थियो । ”

हामीले खुशीहरु ठूला-ठूला कुराहरुमा खोज्छौं, अरुलाई सहयोग गर्नको लागि ठूला कारणहरु, ठूला सहयोगहरुको खोजी गर्छौं । जीवन साना-साना खुशीमा अडिएको हुन्छ । एउटा मुस्कानले मात्र पनि बाँच्ने हौसला बढ्छ । हाम्रो सानो प्रयास र केही सामान्य शब्दले समेत निराश मानिसको जीवनमा आशाको किरण ल्याइदिन सक्छौं । साथै, अप्ठ्यारो परिस्थितिमा रुमल्लिएको आफू पनि त्यही आशामा रमाउन सक्छौं ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text