ती रातहरु अनिधोमा जान्थे,
ती दिनहरु कल्पनामा बित्ने गर्थे।
आवाज आफै भित्र दबिन्थे
सुन्ने कोही थिएनन् ।
अरुलाई दोष कसरी दिउँ
आफ्नो जीवनको ?
आफू त दोषी ठान्दैन कसैले।

जब हुरि चल्थ्यो,
ती लहराहरु आफै समाइन्थ्यो,
पानी पर्दथ्यो
छहारी आफै पत्ता लगाइन्थ्यो,
मनभित्र बाढी आए
आफूलाई-आफैले बचाइन्थ्यो ।

राम्रो प्रतिफलको श्रेय अरुलाई दिइन्छ र ?
खराब समयको दोष चाहिं अरुको ?

निर्दोष त न त्यो खुलेको आकाश छ
न बादल भरिएको,
न टेकेको धर्ती नै तारिफ योग्य छ
हेर्ने नजरको ।

सबैभन्दा बैगुनी मान्छे नै भए पनि
किन सधै दोष त्यो प्रकृतिको?

भोलीको राम्रो दिनको आश
आजको रातले गरेकै हुँदैन,
न राम्रोमात्र फलको प्रतीक्षा बिरुवाले गरेको,
जस्तो छ उस्तै स्वीकार्य हुन्छ
अरुको लागि जिउनेलाई

न त दोष कसैको
न त श्रेय नै कसैलाई।

महान ठान्छु ती रहर बिनाका
सुकेका बगरलाई,
छेउमै गडगडाएको नदीलाई
आफू सुकेरै एक्लिंदा दोष किन नदिएको?

आधा-आधा हुँदामात्र हुने हो छट्पटी
हेर त त्यो समुन्द्र कति सुनसान बगिरहेको !

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text