लक्ष्मण नाम गरेको एकजना युवा पढाइ सकिसकेपछि देशमै केही गरूँ भन्ने चाहन्थ्यो । उसले कृषि क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर बुझ्दैथियो । धेरैले उसलाई सुझाए, ” चिसो पहाडी ठाउँमा आलु धेरै राम्रो फल्छ । आलु खेतीमा धेरै झन्झट पनि गर्नु पर्दैन । फेरी पहाडको आलुको स्वाद नै फरक हुने हुनाले बजारमा यसको राम्रो मूल्य पाउन सकिन्छ । बजारमा पहाडको आलुको माग बढी हुन्छ” ।

लक्ष्मणलाई यो सल्लाह राम्रो लाग्यो । त्यसपछि ऊ पहाडको गाउँमा गयो र जग्गा भाडामा लियो । आलु लगाउने समय आयो । उसले खेताला खोज्यो, सम्पूर्ण सामग्री जम्मा गर्यो र आफू पनि आलु लगाउने काममा लाग्यो । आलु लगाएर सकिसकेपछि उसले आलु खनेको, आलु जम्मा गरेको, बेचेको सपना देख्न थाल्यो । उसलाई आलु खन्ने दिन कहिले आउला जस्तो हुन्थ्यो । त्यसैले सधै आलुबारी वरिपरि घुम्थ्यो ।

आलु उम्रियो र हुर्किन थाल्यो । लक्ष्मण ती आलुका बिरुवा देखेर मनमनै गदगद हुन्थ्यो । उसको धैर्यताको बाँध टुट्न थाल्यो । त्यसपछि ऊ हरेक दिन बारीमा जान थाल्यो । ऊ आलुका केही बिरुवा उखेल्थ्यो, आलु कति फलेछ भनेर हेर्थ्यो । आलुको पूरै समय नभएकोले या त आलु थोरै फलेको हुन्थ्यो, या त धेरै सानो हुन्थ्यो । त्यसपछि ऊ निराश हुँदै आलुको बिरुवा त्यहीं फेरी लगाइदिएर हिंड्थ्यो ।

जब आलु खन्ने समय आयो, आलु खन्ने खेताला पनि अचम्म परे । आधा बारीमा धेरै राम्रो आलुको फलेको थियो तर आधाजसो बारीमा आलु निकै कम फलेको थियो र धेरैजसो आलु त हरियो फलेको थियो । वास्तवमा लक्ष्मणले आलुको बिरुवा गोड्ने र फेरी लगाउने गरिरहेका कारण त्यसो भएको थियो । तर लक्ष्मणले भने आलु खेतीबाट सफल हुन सकिएन भन्दै निराश भयो र फेरी अर्को काम खोज्नतिर लाग्यो ।

हामी काम गरिसकेपछि तत्कालै त्यसको परिणाम खोज्छौं । हामी चाहन्छौं, हामीले गरेको कामले हामीलाई तत्कालै प्रसिद्धि दिओस्, पैसा दिओस् । अरुले पाएको सफलता हेर्दा पनि हामीले उनीहरुले छिट्टै या भाग्यले सफलता हासिल गरेको ठान्छौं । सफलताको लागि मिहिनेत, लगनशीलता र धैर्यता चाहिन्छ । आफ्नै बिजनेस गर्न चाहने तर धैर्यता भने नभएको व्यक्तिले त बिजनेसमा हात नहाल्दा नै उचित हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text