व्यक्तिले समस्यालाई हेर्ने दृष्टिकोणमा उसको भविष्य निर्धारण हुन्छ । समस्यालाई समस्याको रुपमा मात्र लिने व्यक्तिले त्यसमा बाहना भेट्छ भने समस्यालाई खुल्ला दृष्टिकोणले हेर्ने व्यक्तिले त्यसमै केही गर्ने अवसर भेट्छ । यस्तै उदाहरण हुन् अश्विन कार्की । आफ्नो परिवर्तनकारी कदमले गर्दा १८ वर्षको उमेरमै उनले नेपाली प्याडम्यानको उपनाम पाएका छन् ।

नेपाली समाजमा महिनावारीलाई लाज र पापको विषयमा लिइन्छ । सचेतनाको अभावमा महिनावारीको समयमा गरिने बेवास्ताले महिलाहरुमा गम्भीर रोगहरु लाग्ने गर्छन् । महिलाहरु स्वयम् यस विषयमा खुलेर बोल्न नसकिरहेको समयमा अश्विन भने अभियान नै लिएर गाउँ-गाउँमा पुगिरहेका छन् । पोखरा बैदामका उनी स्कुल, कलेज तथा गाउँ पुगेर महिनावारीमा प्रयोग गर्ने प्याड बनाउने तरिका सिकाइरहेका छन् ।

अश्विनले बनाउने प्याड स्वास्थ्यको दृष्टिकोणले उत्तम, आर्थिक हिसाबमा सस्तो र वातवरण मैत्री हुन्छ । उनले सुतीको कपडाको प्याड बनाउँछन् । उक्त प्याड धोएर तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ । अश्विनले प्याड बनाउनमात्रै सिकाइरहेका छैनन्, जनचेतना पनि बढाइरहेका छन् । उनले महिनावारीसंग जोडिएका स्वास्थ्यका विषयमा किशोर किशोरीलाई बुझाइरहेका छन् ।

Source : Ashwin Karki / Facebook

अश्विनको घरमा सुस्त मनस्थितिको दिदी हुनुहुन्छ । दिदीको महिनावारी हुन थालेपछि उनले महिनावारीका कारणले महिलाहरुमा हुने समस्या, उनीहरुले झेल्नुपर्ने अप्ठ्याराहरु बुझे । दिदीको समस्याले गर्दा उनलाई यो कदम उठाउन झकझकायो । त्यसपछि अश्विनले इन्टरनेट मार्फत सेनेटरी प्याड र महिनावारीको बारेमा बुझे । इन्टरनेटबाट नै उनले सेनेटरी प्याडका प्रकार, तिनका असर बुझे । सुतीको कपडाको प्याड घरमै सजिलोसंग बनाउन सकिने, स्वास्थ्यका दृष्टिकोणले राम्रो र वातावरणमैत्री हुने बुझेपछि उनले उक्त प्याडको बारेमा विस्तृत जानकारी लिए, प्याड बनाउन सिके ।

अश्विनले सुरुमा प्याड बनाउन थाल्दा साथीहरुले गिज्याए । अझ महिनावारीको कुरा गर्न थालेपछि उनलाई, ‘ केटा भएर महिनावारीको कुरा गर्छ ‘ बनेर उडाए । तर उनी आफ्नो विचारमा अडिग थिए । त्यसैले ती कुराहरु उनको अगाडी गौण भए । अश्विन प्याड लिएर स्कुलहरुमा पुग्दा समेत छात्राहरु लाज मान्ने, केटो महिनावारीको कुरा गर्न आएको भन्ने आलोचना जस्ता समस्या आए । उनले भने आफ्नो अभियानलाई निरन्तरता दिए ।

अश्विनको त्यो दृढता र निरन्तरताले गर्दा छात्राहरु महिनावारीको बारेमा खुलेर बोल्न थालेका छन् । महिनावारीको समयमा स्कुल नआउने छात्राहरु अहिले स्कुल आउन थालेका छन् । महिनावारीको समयमा फोहोर लुगा प्रयोग गर्ने छात्राहरु अहिले आफैले बनाएको सफा प्याड प्रयोग गर्न थालेका छन् । महिनावारीको कुरा गर्दा नराम्रो नजरले हेर्ने आफ्नो उमेरका किशोरीहरु अहिले उनको साथी भएका छन् ।

अश्विन कार्की हाल स्नातक तहमा अध्ययनरत छन् । आफ्नो अभियान अनुसार नै अध्ययनको विषय पनि डेभलपमेन्ट स्टडिज भएका कारण अभियान चलाउन तथा समय व्यवस्थापन गर्न सहज भएको उनी बताउँछन् । पढाइ र काम दुवै मिलोजुल्दो भएका कारण उनी आफ्नो यो व्यस्ततामा रमाइरहेका छन् ।

अश्विनले अहिले आफैं खर्च जुटाएर अभियान चलाइरहेका छन् । गुरु थानेश्वर पहारीले सुरुदेखि नै गर्दै आएको आर्थिक सहयोगले उनलाई केही सहज भएको छ । सँगै पढेका साथी दर्शन ढुंगाना प्याड बनाउन सहयोग गर्छन् । अश्विनका बुबा राष्ट्र बैंकका जागिरे छन् । छोराको अभियानप्रति सहयोगी उनी कतिपय कार्यक्रममा प्याड बोकेर सँगै पुगेका छन् । अश्विनकी दिदी इञ्जिनियर छिन् र भाइलाई कार्यक्रममा प्रस्तुत गर्ने चेतनामूलक सामाग्री जुटाउँछिन् । आमाले अश्विनलाई प्याड सिलाउन सहयोग गर्छिन् । पहिले गिज्याउने अश्विनका साथीहरुले अहिले उनलाई आफूहरुले सक्दो सहयोग गरिरहेका छन् र उनलाई ‘नेपाली प्याडम्यान’ उपनाम दिएका छन् ।

अश्विन आफ्नो यो अभियानलाई गाउँ सहरको हरेक परिवारमा पुर्याउन चाहन्छन् । उनका अनुसार महिनावारी महिलाको मात्र होइन पुरुषको पनि चासो हुनुपर्छ । यो एउटी महिलाको मात्र नभएर समग्र परिवारको, समाजको र देशको स्वास्थ्यसंग जोडिएको विषय हो । त्यसैले अश्विन अब पढाइसँगै प्याड लिएर गाउँगाउँ पुगेर गाउँका परिवारलाई भेटेर महिनावारीका विषयमा कुरा गर्ने योजना बनाइरहेका छन् । यो अभियानलाई थप सक्रिय र सहभागितामूलक बनाउंदै शुक्रबार र शनिबार बिदाका दिन गाउँमा पुगेर आमा समूह, युवा क्लव र विद्यार्थीलाई प्याड बनाउन सिकाउने र यसबारे छलफल चलाइरहने योजनामा उनी छन् ।

अश्विनलाई पहिले पहिले साथीहरुले महिनावारीको कुरा गर्ने केटो भनेर गिज्याउँथे । उनलाई पनि नमज्जा लाग्थ्यो । अहिले साथीहरुले अश्विनलाई सम्मानका साथ ‘नेपाली प्याडम्यान’ को उपनाम दिएका छन् । अश्विन पनि आफूलाई कसैले प्याडम्यानको नामले चिन्दा गर्व महसुस गर्छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text