एउटा घरमा बाबु र छोरी मात्र बस्थे । बाबु बिरामी थिए । त्यसैले १५ वर्षकी छोरी रमाले काम गरेर घर चलाउने, बुवाको औषधि किन्ने गर्थिन् । एकदिन उनी काम खोज्दै जाँदा जमिन्दारको घरमा पुगीन् ।

जमिन्दारको घर दरबार जस्तै थियो । उनका पाँच जना छोरी थिए । पाँच छोरीहरुका लागि छुट्टाछुट्टै कोठा थिए । ती कोठाहरु भएको तल्लामा अर्को एउटा कोठा पनि थियो । तर त्यो कोठा सधै बन्द हुन्थ्यो । काम गर्ने मानिसको जरुरत भएकोले रमालाई काम दिने निर्णय गर्दै जमिन्दारले भने, ” तिमीले मेरा पाँच छोरीहरुको कोठाहरु सफा गर्नु । तर याद गर्नु , त्यो तल्लामा एउटा कोठा पनि छ । त्यो कुनाको कोठाको ढोका कहिल्यै नखोल्नु । र, तिमीले मेरो घरमा कम्तीमा ६ महिना काम गर्नुपर्छ ” ।

रमालाई पैसाको आवश्यकता थियो । उसले जमिन्दारको सर्त स्विकारी र काम गर्न थाली । रमाले काम गरेको छ महिना बित्यो, तर उसले जमिन्दारले भनेजस्तै कहिल्यै पनि त्यो कुनाको कोठा खोलेर हेरिन । रमाले सम्झौता सकिएपछि आफ्नो घर फर्किने अनुमति मागी । त्यसपछि जमिन्दारले उसको पारिश्रमिक दिए र उसलाई आफूसंगै आउन आग्रह गरे । रमा जमिन्दारको पछि पछि गइ । जमिन्दारले एउटा कामदारलाई बोलाए र त्यो बन्द कोठा खोल्न लगाए । रमा अचम्म परि । कोठामा असर्फी, गरगहनाहरु राखिएको थियो ।

जमिन्दारले ट्वाल्ल परेर हेरिरहेकी रमालाई मुस्कुराउँदै भित्र बोलाए र भने, ” तिम्रो इमान्दारिता देखेर म अत्यन्तै खुशी भएँ । म तिमीलाई इनाम दिन चाहन्छु । तिम्रो हातको अञ्जुलीमा यी सुनका असर्फी जति अट्छन्, लेऊ ।” रमाले खुशी हुँदै असर्फी लिई र घरतिर लागी । घरमा पुगिसकेपछि आफ्ना छिमेकीलाई उसले सबै कुरा बताई । उसले त्यो पैसा लगानी गरेर कुखुरापालन गर्न थाली ।

छिमेकीलाई रमाको बदलिएको अवस्था देखेर डाहा लाग्यो । उनले आफ्नी छोरी सरितालाई काम खोज्दै त्यही जमिन्दारकहाँ जान लगाईन् । सरिता जमिन्दारकहाँ पुगेपछि जमिन्दारले रमालाई जस्तै गरि त्यो कोठाको ढोका नखोल्ने सर्तमा काम दिए । तर, सरिता त डाहा र लोभले गर्दा त्यहाँ आएकी थिइ । उसले अर्को दिन कोही नभएको मौका पारेर त्यो बन्द कोठाको ढोका खोली । अचम्म ! कोठाभित्र त मौरी मात्र थिए । त्यसपछि मौरीले उसलाई एकढिक्का भएर टोक्न थाले । पालेले थाहा पाएर सरिताको ज्यान बचायो। र, त्यो दिन नै जमिन्दारले उसलाई कामबाट निकालिदिए ।

हामी आफूसंग के छ भन्नेभन्दा पनि अरुसंग के छ त्यो हेर्छौं । आफूले के गर्न सक्छौं त्यो खोज्दैनौं, अरुले के गरिरहेका छन्, त्यो खोज्छौं । आफूमा भन्दा बढी अरुमा ध्यान दिने, आफूले केही गर्ने भन्दा बढी अरुको नक्कल गर्ने, अरुलाई सहयोग गर्ने भन्दा बढी अरुको ईर्ष्या गर्ने बानीले नै हामीलाई प्रगति भन्दा दुर्गतीको बाटोमा लागिरहेको हुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text