सोतन्त्र नेपाल/ देवदह

तीन कोठाको ब्लकको घर, टिनको छानो अनी जाडो महिना। जसरि टिनमा परेका सितका थोपाहरु तप्प तप्प झरीरहेको थिए त्यसैगरी रमेशले ओढेको सिरक माथि र भित्र तप्प तप्प आशुका थोपाहरु झरीरहेका थिए, रमेशको आखाबाट सिरानीमा। यही क्रम निरन्तर रह्यो भने सायद ओढेको सिरक र हालेको सिरानी चिसिन धेरै समय लाग्दैन होला।

बिल गेट्सले भनेका थिए ” गरीबको कोखमा जन्मिनु तिम्रो दोष होइन तर गरीबीमै मर्नु तिम्रो दोष हुनेछ” तर रमेशलाई गरीबको कोखमा जन्मिनु नै कुनै ठुलो अपराध जस्तै लाग्न थालेको थियो । बाल्यकालमा पनि सिमित आवश्यकताहरु भन्दा धेरै अपेक्षा उसले कहिल्यै राख्न सकेन। किनकी उसको बा’आमाको हैसियतले उसले जे पाएको छ त्यो उपलब्ध गराउनु कुनै ठुलो चुनौती भन्दा कम थिएन । साथीहरुले जस्तै सहरका महंगा क्याम्पसमा पढ्ने उसको रहर रहरमै सिमित भएको थियो। त्यसैले विकट ठाउँ रोल्पाको थोरै सुविधा सम्पन्न सदरमुकाम लिवाङ्गमा भर्खर १२ पास गरेर ब्याचलरमा भर्ना भएको थियो। त्यही भर्ना हुन पनि अढाना राखेको थियो, आमाको तिलहरी।

रमेशले १२ कक्षा पढ्दा पढ्दै एउटा निजी विद्यालयमा ५ कक्षा सम्म पढाउने जागिर पाएको थियो तर तलब उसले पढाउने ५ कक्षा भन्दा पनि थोरै, चार हजार मात्र। त्यो चार हजारमा कोठा भाडा, खानपिन क्याम्पसको खर्च् यो सबको व्यवस्थापन गर्न निकै नै मुस्लिक भएको थियो उसलाई । यही मुस्किल परिस्थिती बिचमै भेटिईन्  सपना, सपना रमेशले देख्ने प्रत्येक रातको सपना होइनन्, उनी त एउटा संकल्प गरेर आएकी थिईन्, रमेशको जीवनमा। रमेशले देखेका सपनाहरुलाई साकार गराउनको लागि साथ दिने प्रण गर्ने गर्थिन्  सपनाले । विद्यालयमा किताब लिएर नआएका विद्यार्थीलाई किताब साटासाट गरेर मिलेर पढ्नु पर्छ भन्दै नैतीकताको पाठ सिकाउने रमेशलाई पनि पत्तो भएन,  उसले कतीबेला सपनासंग मन साटेको थियो।

रमेशको दिमागमा चढेको भूत  “म असफल भएँ, गरीब भएकै कारण मैले सपनालाई पाइन, अब जिन्दगीमा केही रहेन, बाँकी यस्तै यस्तै बिचारहरुले ताण्डव नृत्य गरिरहेका थिए। उसले आफूलाई थाम्न सकेन। बिर्सियो आमाको आँखाबाट केही छिन अगाडी बगेको कर्णाली, बाबुको सुस्केरा……

समय बित्दै थियो साहूको ब्याज जस्तै रप्तारमा। एकछिन भुलेको थियो रमेशले आफ्नो धरातल, हराउन थालेको थियो सपनाले देखाएका सपनाहरुमा । यही क्रममै करिब एक बर्ष बिती सकेको थियो। भन्छन्, मान्छे प्रेममा परेपछी सबथोक बिर्सिन्छन् । उसले पनि सबै बिर्सिएको थियो । यहाँ सम्मकी वार्षिक परिक्षा र परिक्षाको लागि गर्नु पर्ने मेहेनत पनि र नतिजामा लाग्यो उसलाई दुई विषय । अनी फेरी तुषारापात  हुन थाल्यो रमेशको जिन्दगीमा। यही क्रममै सपना पनि टाढा हुँदै गइन् । उनीहरुको सम्बन्धको बारेमा सपनाको परिवारलाई थाहा भैंसकेको थियो । रमेशको सानो घर, सानो जागिर र सानो नै हैसियत कारण बन्यो सपना र रमेश बिचको प्रेमको आत्महत्या । अनी रङ्गियो सपनाको सिउँदो अरु कसैको हातबाट ।  यता साधा झन साधा हुँदै गयो रमेशको जिन्दगी। कुनै यात्रामा संगै यात्रा गरेको यात्रीलाई त यात्रा सकिएपछी केही समय भुल्न गाह्रो हुन्छ भने उसले चोखो माया गरेको थियो सपनालाई । फेरी बिर्सनु पनि कसरी आखिर कारण बनेको छ उसको हैसियत।

यही पीडाले रमेशलाई दिन प्रतीदिन गाल्दै थियो र जसोतसो छुट्टी मिलाएर केही हप्ता देखी नकाटेको झुसिलो दारी बोकेर घर पुग्यो । आँगनीमा सुकाएको बिस्कुन उठाइरहेकी आमाले रमेशलाई देख्न साथ महिनौ देखी आँखामा सञ्चित गरेको कर्णाली बगाउन थाल्छिन ” बाबु किन दुब्लाइस, के भयो तँलाई ” भन्दै।  जवाफमा आमा थाकेर आएको छु भोली कुरा गरौंला भन्दै पस्छ घरभित्र, अनी पल्टीन्छ एकछीन बा’ले आफ्नै हातले बनाएको खाटमा, आमाले बुनेको गुन्द्री र थाउनामा लडीबुढी खेल्दै। आज उसलाई मज्जाले एक निन्द्रा सुत्न मन थियो धेरै समय देखीको थकान मेट्न मन थियो तर निन्द्रा कहाँ किन्न पाईन्छ, रमेशलाई थाहा थिएन। बेलुकीको सात बजीसकेको थियो, ठुलो सुस्केरा काढ्दै घरभित्र पसेका बा’को चाल पाएको थियो रमेशले तर पनि आफू आएको कुनै संकेत दिन चाहेन । बा चुपचाप रमेश सुतीरहेको कोठाको छेउमा रहेको अर्को कोठाको खाटमा थच्क्क बस्छन् । रमेशले आफ्नो कोठाको ढोका नभएको झ्यालबाट हेर्यो ।

हातमा एउटा पलाष्टिकको झोला अनी झोला भित्र केही औषधी र अस्पातलको रिपोर्ट जस्तै देखिन्थ्यो । उता बाको सुस्केरा रोकिएको थिएन भने यता रमेशको दिमागमा चढेको भूत  “म असफल भएँ, गरीब भएकै कारण मैले सपनालाई पाइन, अब जिन्दगीमा केही रहेन, बाँकी यस्तै यस्तै बिचारहरुले ताण्डव नृत्य गरिरहेका थिए। उसले आफूलाई थाम्न सकेन। बिर्सियो आमाको आँखाबाट केही छिन अगाडी बगेको कर्णाली, बाबुको सुस्केरा र  सदरमुकामबाट नै बोकेर ल्याएको मुसा मार्ने विषको बोत्तल बोतल नै रितिने गरेर झोलाबाट निकाल्दै गर्दा सुन्छ आमाले बालाई सोधेको प्रश्न, “के भन्यो डाक्टरले? के भएको छ रे हजुरलाई ?”  जवाफमा बा’ले भन्छन, “मिर्गौला बिग्रिएको छ रे बूढी ! अब धेरै दिन बाच्दिन होला, औषधी गर्न धेरै नै खर्च लाग्छ रे ! यही घरखेत पनि रहँदैन । यो बेचेर नै औषधी गरौ भने रमेशले जिन्दगी कसरी कटाउला ? त्यहिभएर औषधी नगर्ने; भगवानले जहिले बोलाउछन जाने।”

बा’को जवाफ भूईमा खस्न नपाउदै गला अवरुद्ध गर्दै आमाले भन्छिन्  “बिस्तारै बोल्नुस्। रमेश आएर भित्रकोठामा सुतेको छ । उसले थाहा पायो भने आफूलाई सम्हाल्न सक्दैन । उसको जिन्दगी र सहारा भनेको हामी नै त हौँ नि । ” बाबुको कुराले टाउको हानेजस्तो बनेको ऊ आमाको यो वाक्य सुन्ना साथ एकाएक भूईंमा ढल्छ, हातको विषको बोतल  रितिन्छ, सबै भुइमा पोखिएर । सम्हाल्न खोज्छ आफूलाई, उठ्छ, आमाबाबुले थाहा नपाउन् भन्ने गरि भूई सफा गर्छ  । आमाबुबाको अगाडी जान पनि सक्दैन ऊ, फेरी ओल्छ्यनमा जान्छ र पल्टिन्छ । र,आँफैलाई धिककारदै, सिरक तानेर सुकुर सुकुर गरीरहेको छ रमेश अझैसम्म ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text