एक अनौठो चित्कारसँगै मानिसहरुको जीवनको सुरुवात हुन्छ धर्तीमा । कैयौँ जीवनहरुको भोगाइ अनि अनुभव सँगाल्दै लाखौँ वर्ष पछिको विकासक्रम सँगै सर्वश्रेष्ठ मानव जीवन हामीले पाएका छौँ । यसमा गर्व महसुस पो गर्ने कि ? हो कुनैबेला एक कोषीय जीवाणु सो सरह हाम्रो जीवन फरक बन्ने संघर्षमा थियो । कोष कोष को विकास सँगसँगै लाखौँ करोडौँ वर्षपछि आज हामी सबै प्राणीभन्दा माथि छौँ । यसो फर्केर पृष्ठभूमि हेर्दा के यो सम्भव थियो र ? जस्तो पनि लाग्न सक्छ । तर यही यथार्थ हो । न हिजो कसैले नकार्न सक्यो, न आज कसैले नकार्न सक्छ वा न त भोलीको पुस्ताले नै नकार्नेछ । यो त विकासवादले प्रमाणित गरेको विज्ञान हो । चार्ल्स डार्विनको बर्षौँको खोज अनुसन्धान तथा लगनशीलताको निष्कर्ष हो । सृष्टिका सबै सृजनाहरु परीवर्तनशील छन् भन्ने प्राकृतिक सिद्धान्तमा नै आधारित भएर जीवनको विकास भएको हो । हिजो अर्कै थियो । आज अर्कै छ । भोलि अर्को हुने पनि प्राय :निश्चित छ ।

जीवन आफ्नै प्रणाली अन्तर्गत रहेर चलिरहन्छ । जसरी सूर्यले निरन्तर प्रकाश र ताप दिन्छ जसमा कसैको बाह्य प्रभावले फरक पार्दैन त्यसरी नै जीवन आन्तरीक प्रकृतिमा कसैको हस्तक्षेप रहँदैन । जीवन स्वतन्त्र छ । हामीले पो जानेर नजानेर बन्धनयुक्त बनायौँ त । अब अर्को कुरा सायद संसारमा ‘जीवन’ त्यस्तो शब्द हो जसको बारेमा सबैभन्दा बढी परीभाषा दिइएको छ । हो वास्तवमै सबैले आफ्नै आफ्नै अनुभवको आधारमा जीवनको परीभाषा दिन्छन् । अनि जे विश्वासका साथ परीभाषित गरिन्छ त्यो क्रमश यथार्थमा परीणत हुँदै जान्छ । मानौँ कि जीवन संघर्ष हो भन्ने हामीले वीजारोपण गर्यौं भने हरेक कुरा संघर्ष लाग्न थाल्छ ।

जीवन परीभाषाको लागि भन्दा पनि प्रस्तुतिका लागि हो भन्ने बुझ्न जरुरी छ । हामी जीवनसँग जोडिएका निकै साना-साना कुरालाई धेरै महत्व दिन्छौँ तर बिडम्वना आफ्नै जिन्दगी चाहिं ओझेलमा पर्छ । खास महत्व नराख्ने कुराहरुलाई हामीले महत्व दिइहाल्छौँ तर आफैँलाई बिर्सिन्छौँ । बिहानदेखि बेलुकासम्म हामी आफैँबाट टाढा बस्छौँ । हाम्रो जीवन अरुका लागि उत्प्रेरणा बन्नुपर्छ । हामी समाजको सकारात्मक रुपान्तरणमा विशेष संवाहक बन्न सक्नुपर्छ । यी सबै सम्भव छन् । तर थोरै मात्रै भएपनि आफ्नो व्यक्तिगत जीवनको मूल्यलाई, जीवनको अस्तित्वको सार्थकतालाई बुझ्ने चेष्टा गर्न अत्यन्तै जरुरी छ ।

सोचौँ त, के हामीले कहिल्यै आफैँलाई साधेका छौँ कि ‘कतै म रुमलिए कि’ ? ‘कतै म हराए कि’ ? हो, हामीले बुझ्नैपर्ने वास्तविकता हो कि, हामी रुमलिएका नै छौँ । हामी आफैँ हरायौँ अरुप्रति । यदि हराउनु नै जीवनको सार भए, फेरि हामी जन्मियौं किन त ? सोधौँ आफैँलाई । बुझ्नुस् जीवन एक उपहार हो । अझ भनौँ प्रकृतिले हामीलाई दिएको विशेष उपहार हो जीवन ।

सोचौँ त एउटा अत्यन्तै सानो किन नहोस् कुनै समारोहमा प्राप्त गरेको उपहारलाई हामी कसरी व्यवहार गर्छाैँ ? अनि फर्केर आफ्नो जीवनलाई हेरौँ । सायद त्यो सानो उपहारलाई जतिको पनि खुशी व्यक्त गर्दैनौँ जीवनप्रति । साँच्चै त्यतिको कृतज्ञता पनि व्यक्त गर्दैनौँ हामी आफ्नो जिन्दगीप्रति । हामी यात्री मात्रै भयौँ । हाम्रो ड्राइभर अरु नै भए । हामी गाडीको मालिक त हौँ तर चलाउने अर्कै भइदिए हाम्रो जीवनलाई । हामीसँग लाइसेन्स पनि छ तर कतै देखाउँदैनौँ, किन ?

हामीसँग कति क्षमता छ त्यो ठूलो कुरा होइन । हामी कति प्रदर्शन गर्न कोसिस गर्छाैँ, त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो । सफल हुने मानिस र तपाईं हामीमा के नै फरक छ र ? शारिरीक रुपमा । यदि फरक छ भने सोचमा फरक छ । जिन्दगीलाई हेर्ने दृष्टिकोणमा फरक छ । हामीले जीवनलाई थोरै मात्रै पनि प्राथामिकतामा राख्न सिक्नुपर्यो । महत्वपूर्ण पक्षलाई ध्यान दिनुपर्यो । यदि कोही आफ्नो क्षेत्रमा सफल हुन्छन् भने आफ्नो जीवनलाई महत्व दिने मानिसहरु नै सफल हुन्छन् । यहाँ स्वार्थपनको कुरा जोड्न खोजेको होइन, आफ्नो जीवनप्रति सधैँ कृतज्ञ भाव राख्ने कुरा जोड्न खोजेको हुँ ।

हामी सबैको जीवन फरक छ । हामी सबैमा विशेष बन्न सक्ने गुण छ । मेरो जीवन अत्यन्तै अमूल्य छ भन्ने भाव मनमा राख्नुपर्छ । हरदम म पक्का केही बन्न सक्छु भन्ने दृढ सोचको विकास हुन जरुरी छ । जीवनको मूल्यलाई प्रस्ट्याउन एउटा प्रसङ्ग :

पहिले पहिले आफूले शिक्षा हासिल गरेपछि गुरुलाई दक्षिणा स्वरुप केही दिने गरिन्थ्यो, गुरुदक्षिणा । विद्यार्थीहरुले सोधे, “गुरु जी हजुरलाई गुरुदक्षिणा के दिऊँ ? ” गुरुले जवाफ दिए, “दुई बोरा सुकेको पात ।” अनि विद्यार्थीहरु छक्क परे ‘जाबो दुई बोरा सुकेको पात मात्रै !’ अनि विद्यार्थीहरु दुई बोरा सुकेको पात लिनको लागि एकजना महिलाको घरमा गए र भने,“हामीलाई गूरुज ले पठाउनु भएको उहाँलाई गुरु दक्षिणा स्वरुप दुईबोरा सुकेको पात लिन आएका हामी” । ती महिलाले भनिन्, “हामीलाई सुकेको पात धेरै महत्वपूर्ण हुन्छ, भएभरको सुकेका पात इन्धन(दाउरा) को रुपमा प्रयोग गरीसक्यौँ, अब हामीसँग छैन ।” उनीहरु अर्को ठाउँ गए । त्यसरी नै त्यहाँ पनि अर्की महिला थिइन् । विद्यार्थीले गुरुलाई गुरु दक्षिणा दईबोरा सुकेको पात मागे । तर ती महिलाले भनिन्, “हामीले सुकेका सबै पात हरुको टपरी (पातको थाल) बनाइसक्यौँ अब हामीसँग छैन ।” अब विद्यार्थीहरुलाई सुकेको पातको महत्वबारे केही प्रष्ट हुन थाल्यो । अन्त्यमा फेरि विद्यार्थीहरु अर्काे ठाउँमा गएर सुकेको पात मागे, तब त्यहाँका मान्छेले भने, “सबै सुकेका पातलाई पिसेर हामी आयुर्वेदिक औषधिको रुपमा प्रयोग गर्छौँ, हामी दिन सक्दैनौँ ।” विद्यार्थीले सुकेको पात पाउन सकनेन् । सबै वृत्तान्त गुरुलाई सुनाए । गुरुले बडो नम्र भएर भने, “मेरा विद्यार्थी नानी बाबु हो ! सुकेको पातको यति धेरै मूल्य रहेछ भने हाम्रो जिन्दगी कति मूल्यवान् रहेछ सोच त । यति बुझ्यौ भने जिन्दगीको ठूलो पाठ बुझ्नेछौ अनि जस्तोसुकै सफलता प्राप्त गर्नेछौँ ।”

ल हेर्नुस् सबैले लत्याइसकेको सुकेको पातको मूल्य त त्यत्रो हदसम्म बन्न सक्छ भने एकपटक हाम्रो जीवनबारे सोचौँ । छातीमा हात राखेर आफैँले आफैँलाई भनौँ कि मेरो जीवन अत्यन्तै अमूल्य छ ।

  • एसपी उप्रेती
    (मोटिभेसनल स्पीकर )
लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text