हामीले कुनै गृहकार्य गर्दा होस्, परिक्षाको तयारी गर्दा होस् या कलेजको कुनै पनि फारम भर्दा होस्, सुरुमा वास्तै गर्दैनौं । तर जब अन्तिम दिन आउन थाल्छ, हामी हतारिन्छौँ । यसले हाम्रो दिमागमा दबाब पर्छ । परिक्षाको समयमा त झन् त्यो दिमागको दबाबले बिरामी नै पनि हुन्छौं । हामीले आफूले गर्नुपर्ने काम आज पनि आफैले गर्ने हो र भोली पनि आफैले गर्ने हो । त्यसैले त्यो कामलाई समयमै सक्नु भनेको हामी दिमागमा आउनसक्ने दबाबबाट आफूलाई जोगाउनु हो ।
अर्कोतिर हामी धेरैजसो समय, अवसर नै पाइंदैन भनेर बस्छौं । तर काम समयमै सिकेर, समयमै आफ्नो काम सकेर बस्ने हो भने त्यो अवसरलाई समात्न सक्छौं । अवसर आउँछ र गरौँला भन्ने व्यक्तिहरुले धेरै अवसरहरु गुमाउनुपरिरहेको हुन्छ । हामीलाई कुनै पनि कुराको तयारी गर्न हाम्रै अल्छिपनले रोक्छ । हामी आज थकाई लाग्यो भोलि गर्छु भनेर भोलिलाई सार्ने गर्छौ । थकाई पनि दुई प्रकारले लाग्ने गर्दछ, एउटा शारीरीक थकाई हो भने अर्को मानसिक थकाई । हामीलाई हाम्रो शारीरीक थकाईले भन्दा पनि मानसिक अल्छिपनको कारणले गर्दा आज गर्ने कामलाई भोलिको लागि सार्ने गर्दछौ । जुन बेला कुनैपनि काम गर्न अल्छि लाग्छ हामीले त्यति बेलै उक्त काम झन् गर्नुपर्छ । किनकि त्यो हाम्रो बानी बन्छ ।
हामी कुनै काम गरिरहन्छौ भने हामीलाई काम गरीरहन मन लाग्छ तर जब हामी काम नगरी आलटाल गर्दछौ भने हामीलाई त्यही बानी लाग्ने गर्दछ । तसर्थ हामीले अल्छी लागे पनि निरन्तर काम प्रति नै आफूलाई लगाउन सक्नुपर्छ ।
कतिपय अवस्थामा हामीले मन नलागी नलागी निरन्तर रुपमा काम गरिरहदां पनि उक्त काम केही समय पछि हाम्रो लागि एकदमै आनन्दमयी हुनेगर्छ । हामीले काम गर्दा भोग्नुपर्ने दुःख र संघर्ष एकदमै पिडादायी हुन्छ तर उक्त संघर्षबाट प्राप्त हुने सफलता हाम्रो लागि त्यति नै आनन्ददायी हुनेगर्दछ । हामीले क्षणिक दुःख बाट टाढा भागेर दिर्घकालिन सुखलाई कहिल्यै गुमाउनु हुँदैन । जुन सुकै काम गर्दा पनि सुरुमा दुःख, झन्झट, पट्यारीलो हुने गर्दछ तर हामी उक्त कार्य झन्झटिलो हुंदा हुंदै पनि निरन्तरता दिईरहेको खण्डमा बिस्तारै उक्त कार्य सहज र सरल लाग्ने गर्दछ । हामीले गर्ने लगन, मेहेनतबाट नै सम्भव, असम्भव, गाह्रो, सजिलो भन्ने कुरा निर्धारण हुने गर्छ ।
हिड्ने क्रममा यो बाटो त धेरै नै अप्ठेरो रहेछ भनेर अगाडी पाइला बढाइएन भने पक्कै पनि हामी आधा बाटोमानै रहन पुग्छौं। फेरी भोलिको लागि साच्दा हामी केही पाइला पछाडी हुन्छौं । हामी गन्तव्य सम्म पुग्न त हामीले बांकी बाटो अप्ठेरो नै भएपनि निरन्तर अगाडी बढिरहनुपर्छ । त्यसैले समयमै आफ्नो काम गर्ने बानी बसालौं । एउटा फाराम भर्दा समयमै बुझाउने बानीले बाँकी काम पनि समयमै गर्न प्रेरित गर्छ ।
