कुनै पनि काम आफूले सोचेको अनुसार नहुनुले मन खिन्न हुन्छ, मान्छे टुट्छ र डिप्रेसनमा समेत जान सक्छ । तर सफलता भनेको ती अवस्थालाई पार गरेर आफ्नो यात्रालाई निरन्तरता दिनु हो । काम गर्दा केही कुराहरुमा ध्यान पुर्याउनुले आफ्नो काम असफल हुनुबाट केही हदसम्म जोगिन सकिन्छ :

काम गर्दा गर्दै कहिल्यै पनि त्यसलाई बिचमा छोड्नु हुँदैन । बाटो हिंड्दै गर्दा केही पर पुगेपछि तपाइंलाई थकाइ लाग्यो भने केहीछिन विश्राम लिन सक्नुहुन्छ । तर फर्किनुभयो भने , एउटा त समयको बर्बादी हुन्छ र अर्को कुरा, तपाईंको गन्तव्यसम्म पुग्नको लागि तपाईंले फेरी अर्को बाटो खोजेर फेरी त्यही सुरुको बिन्दुमा पुग्नुपर्छ, जसले गर्दा तपाईंको गन्तव्य टाढा बन्छ । त्यसैले, बरु ढिलो हिंड्नुहोस्, तर बीचमै यात्रा नछोड्नुहोस् ।

हामीलाई सुरुमा नौलो काम गर्दा उत्साह जाग्छ । तर जब त्यो हाम्रो दैनिक काम बन्न थाल्छ, विस्तारै हामीमा उत्साह घट्छ, अल्छीपना बढ्छ । यसले गर्दा हामी असफल हुने सम्भावना बढेर जान्छ । सफल हुन के गर्ने त ? आफ्नो काम सुरु गर्दा कहाँ थिएँ र अहिले कहाँ छु भन्ने स्वमूल्यांकन गर्नुहोस् । त्यो कामले दिएलाएका खुशीहरु सम्झनुहोस् । यसले तपाईंमा काम गर्ने जाँगर बढ्छ । र अर्को कुरा, आफ्नो काममा नयाँ-नयाँ प्रयोग अपनाउनुपर्छ । यसले आफूमा उत्साह त रहन्छ नै, साथै काम पनि सधै उही बिन्दुमा रहन्न, सफलतातिर अगाडी बढिरहन्छ ।

एउटा तरिका अपनाउँदा काम सफल भएन भने आफ्नो उद्देश्यलाई होईन की काम गर्ने त्यो तरिकालाई छोडेर नयाँ तरिका अपनाउनुपर्छ । तपाईं बाटो हिंड्दै गर्दा केही पर पुगेपछि अगाडी बढ्ने कुनै ठाउँ नै भेट्नुभएन, त्यहाँ जान सक्ने स्थिति नै छैन, छाँगो छ, भिर छ भने आफू पुग्नु पर्ने ठाउँमा पुग्नको लागि त्यहाँ अरु बाटो खोज्न थाल्नुहोस्, अरु उपाय हेर्न थाल्नुहोस् ।

विगतलाई सम्झेर बस्नु भनेको आफ्नो समय , शक्ति र क्षमताको बर्बादी हो । त्यसैले आफ्नो विगतलाई बिर्सेर अगाडी बढ्नुपर्छ । तर विगतले सिकाएका पाठहरुलाई सधै सम्झिनुपर्छ । ती पाठहरुले नै आगामी दिनमा अझ सही निर्णय लिने, गल्ती कम गर्ने क्षमताको विकास गरिदिन्छन् ।

असफल हुने अर्को कारण भनेको समय अनुसार आफूलाई अपडेट नगर्नु हो । चार्ल्स डार्विनले भनेका छन्, ” त्यही जीवको अस्तित्व लामो समयसम्म रहन्छ, जसले समयको परिवर्तनसंगै आफूमा परिवर्तन ल्याउन सक्छ” । र, अर्को भनाइ पनि छ, ” आज सफल भएको व्यक्ति भोलि पनि सफल हुन्छ भन्ने हुँदैन, किनकि समय परिवर्तनशील छ” । त्यसैले समय अनुसार आफूमा परिवर्तन ल्याउनुपर्छ । आफू अपडेट रहनुपर्छ र नयाँ-नयाँ कुरा सिक्ने बानीको विकास गर्नुपर्छ ।

सफलताको लागि आवश्यक एउटा एउटा मूख्य आधार अनुशासन हो । काम गर्दा सधै कामको सम्मान गरेर अनुशासनमा रहेर काम गर्नुपर्छ । त्यस्तै, आफूमा आर्थिक अनुशासनको बानीको विकास गर्नुपर्छ । पैसा या आम्दानी तथा खर्चको सही व्यवस्थापन गर्ने बानीको विकास गर्नुपर्छ ।

एकोहोरो गरेको कामले व्यक्तिको दिमागमा दबाब पर्छ । यसले गर्दा विस्तारै शारीरिक तथा मानसिक असरहरु देखापर्न थाल्छन् भने कामको उत्पादनशीलतामा पनि कमी आउन थाल्छ । त्यसैले सधै काममा लाग्नुको साटो आफ्नो लागि केहि समय छुट्टाउनु राम्रो हुन्छ । यसले आफूलाई फ्रेस बनाउछ र सिर्जनात्मक क्षमतामा वृद्धि गर्छ।

आलोचनालाई सुन्नुपर्छ तर त्यसले निराश हुने वा त्यसलाई वास्ता नगर्ने भन्दापनि त्यसलाई विश्लेषण गरेर आफू त्यहि अनुसार अगाडी बढ्नुपर्छ । आलोचनालाई विश्लेषण गरेर अगाडी बढ्न सकेमा त्यसले प्रेरणाको स्रोतको रुपमा काम गर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text