एउटा गाउँमा एकजना जमिन्दार थिए । गाउँलेहरु उनलाई गाउँको राजा मान्थे । ती जमिन्दारको घर दरबार जस्तै थियो, घरमा काम गर्ने थुप्रै मानिसहरु थिए । तर उनमा घमण्ड भने थिएन ।

जाडोको समयमा एक साँझ जमिन्दार आफ्नो घरमा जाँदै थिए । त्यसबेला उनले बाटोमा बस्ने एकजना व्यक्ति आफ्नो घरको गेट निरको सडकमा पातलो लुगा लगाएर बसिरहेको देखे । जाडोमा त्यस्तो पातलो लुगा, च्यात्तिएका चप्पल लगाएर बाटोको चिसो भुइँमा बसेको व्यक्ति देखेर उनलाई दया जाग्यो ।

जमिन्दार सडकमा बसिरहेको व्यक्ति नजिक गएर सोधे, ” तिमीलाई चिसो लाग्दैन ? जाडो हुँदैन ? ” । तब ती व्यक्तिले जवाफ दिए, ” जाडो भएर के गर्नु ? मसंग लगाउन, सुत्न, ओढ्नको लागि कुनै लुगा छैन” । जमिन्दारलाई ती व्यक्तिप्रति दया जागेर आयो । उनले आफ्नो घरमा जान आग्रह गरे । तर ती व्यक्तिले जवाफ दिए, ” म यस्तो माग्ने, हजुरको दरबारमा कसरि जाउँ ? ममाथि अरुले शंका पनि गर्लान् । माग्दै माग्दै यहाँसम्म आइपुगें । बिहान उठेर गइहाल्छु । ” तर पनि जमिन्दारको मनले मानेन । उनले आफूले घर गएर कम्बल ल्याइदिने आश्वासन सहित घरमा गए ।

जमिन्दारको घरमा धेरै व्यक्तिहरु विभिन्न समस्या लिएर, केही योजना लिएर उनको प्रतीक्षा गरिरहेका थिए । ती व्यक्तिहरुसंग कुरा गर्दा गर्दै धेरै राती भयो । जमिन्दारले आफूले बाटोमा बसेको व्यक्तिसंग गरेको वाचा बिर्सिए । खाना खाए, सुते । बिहान भयो । र, बिहान जमिन्दारको घरको गेट बाहिर एउटा व्यक्ति मारिरहेको थियो । त्यो व्यक्ति अरु कोही नभएर, त्यही हिजो बाटोमा जाडोले काँपेर बसिरहेको व्यक्ति थियो ।

त्यो व्यक्तिले कपडा बिना नै कैयौं रातहरु कटायो । तर, उसलाई केही पनि भएको थिएन । किनकि उसले त्यो जाडो छल्नको लागि आफैले आफ्नो बन्दोबस्त गर्थ्यो । पातहरु या फोहोर जम्मा गरेर आगो बालेर बस्थ्यो । या कसैको पिंढीमा गएर सुत्थ्यो , कहिलेकाहीं पराल भएको ठाउँमा गएर सुथ्यो, पाटि पौवा या धर्मशाला भएका ठाउँ खोज्दै गएर सुथ्यो । तर त्यो दिन ऊ ती जमिन्दारले कम्बल ल्याइदिने आशा गर्दै उनलाई नै पर्खेर बसिरह्यो । पूर्ण रुपमा उनको भर पर्यो । जसको परिणाम, जीवन नै गयो ।

जो व्यक्ति अरुको पूर्ण रुपमा भर पर्छ उसले जीवनमा प्रगति गर्न सक्दैन । पूर्ण परनिर्भरताले कहिल्यै पनि जीवन दिंदैन, बरु आफ्नो अस्तित्व नै मेटाईदिन्छ । र, अरुको भर पर्ने व्यक्तिले कहिल्यै पनि आफ्नो क्षमतालाई चिन्न पाउँदैन । किनकि व्यक्तिले आफ्नो क्षमता तब चिन्छ, जब उसले कुनै समस्याको समाधान स्वयम् आफैले गर्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text