संघर्ष पछिको सफलताको एउटा साँचो उदाहरण हुन् सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख लक्ष्मण न्यौपाने । गुल्मी जिल्लाको हालको छत्रकोट गाउँपालिका अन्तर्गत हुँगा भन्ने ठाउँमा जन्मिएका थिए न्यौपाने । गाउँले वातावरण, लाहुर जाने लहड आदिले गर्दा उनमा पनि भारत गएर पैसा कमाउने मोह जाग्यो । पढ्दा पढ्दैका उनी पढाइलाई यत्तिकै थाति राखेर भारत हानिए । भारतको गुवाटी भन्ने ठाउँमा बुवाले गाइपालन गर्दै गरेको कृषि व्यवसायले उनमा व्यवसायप्रति मोह जागिसकेको थियो ।

व्यवसाय गर्नको लागि पनि सबैकुराको पर्याप्त पूर्वतयारी थिएन, त्यसैले लक्ष्मण न्यौपाने भारतमा नै एउटा जागिरमा लागे । जागिरमा उनको काम गर्ने शैलीले प्रभावित भएर कम्पनीले उनलाई उच्च पद नै दियो । त्यही कम्पनीबाट नै अमेरिका जाने अफर समेत आयो । तर त्यतिन्जेलसम्म न्यौपानेले व्यवसाय नै गर्ने लक्ष्य बनाइसकेका थिए । आफ्नो लक्ष्यलाई मूर्त रुप दिनको लागि उनी भारत छोडेर नेपाल फर्किए । सुरुमा उनी कपडा, ट्राभल एजेन्सी सम्बन्धि व्यवसाय गर्ने सोंच बनाएर आएका थिए । तर, दाइसंगको बसाइले उनमा होटल व्यवसाय सुरु गर्ने इच्छा पलायो । होटल नै गरिरहेका दाइसंग बस्दा उनले होटल व्यवसायमा राम्रो भविष्य देखे । न्यौपाने भन्छन्, ” काम सुरु गर्दा त्यस्तो काम सुरु गर्नुपर्छ, जसको भविष्य होस् । जसलाई बढाउंदै लैजान सकियोस् । सानो कामबाट सुरु गरेर त्यसैलाई ठूलो बनाउन सकियोस् “।

सिद्धार्थ टिम

होटल नै गर्ने निश्चय गरिसकेपछि न्यौपानेलाई अब पूँजी र ठाउँको जरुरत थियो । उनले केही पैसा ऋण, सापटी खोजे र होटल गर्नको लागि भनेर उपयुक्त ठाउँ खोज्न हिंडे । उनलाई एकै पटक ठूलो लगानी गरेर साहु बन्नु थिएन । सानो कामबाट, आफ्नो मेहनतबाट अगाडी बढेर आफ्नो लक्ष्य हासिल गर्नु थियो । त्यसैले उनले आफैले भाँडा माझेर, काम गरेर होटल सुरु गर्न भनि हिंडेका थिए । त्यसको लागि उनले यस्तो ठाउँको खोजी गरिरहेका थिए, जहाँ उनलाई कसैले नचिनोस्, भाँडा माझेकोमा लज्जाबोध नहोस् र भाँडा माझेको देख्दै गर्दा कसैले नगिज्याओस् , जहाँ निर्धक्कसंग काम गर्न पाइयोस र एकोहोरो रुपमा काममा मात्र ध्यान केन्द्रित गर्न पाइयोस् । उनले सुने, यस्तो ठाउँ उनको लागि सुदुरपश्चिममा हुनसक्छ । सुदुरपश्चिम कहिल्यै नगएका न्यौपाने सुदुरपश्चिम हानिए । सुदुरपश्चिमका बजारमा उनी एक-एक रात बसेर त्यहाँको जीवनशैली, बजार आदि बुझे । त्यसपछि उनले होटल सुरुवात गर्नको लागि टीकापुरलाई उपयुक्त ठाने । टीकापुरमा बजारको सम्भावना थियो भने अर्को कुरा भनेको, त्यहाँ उनलाई चिनेका मात्र नभएर गुल्मी जिल्लाकै समेत कोही थिएनन् ।

२०५४ माघ २३ गते आफैँ मःम र चाउमिन बनाएर लक्ष्मण न्यौपानेले होटल सुरु गरेका थिए । म:म त्योभन्दा पहिले उनले खाएका थिएनन् । उनी सम्झन्छन् , ” त्यही ठाउँमा रहेको मःम पसलमा गएर आधा प्लेट मःम खाएर, बनाउने तरिका सिकेर व्यवसाय सुरु गरेको थिएँ । ” अहिले २२ वटा शाखा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका मालिक न्यौपानेले त्यतिबेला बर्दियाको राजापुरबाट चटाई (मान्द्रो) र नेपालगन्जबाट त्रिपाल खरिद गरेर ल्याएर खाजा पसल सुरु गरेका थिए । होटलमा कहिले खाजा खाएर पैसा नदिने मान्छे आउंथे, केहीले हेपाहा व्यवहार गर्थे । मानिसहरुको व्यवहारले दिक्क भएका उनले एकदिन त्यहींका शिक्षकलाई आफ्नो दुखेसो पोखे । ती शिक्षकले भनेको कुरालाई उनले आफ्नो गुरुमन्त्र बनाए, ” सहनु, तर नबिर्सनु” ।

सिद्धार्थ कटेजमा पूर्व राजा ज्ञानेन्द्र

लक्ष्मण न्यौपाने भन्छन्, ” इख नभएको मान्छेले कहिल्यै प्रगति गर्दैन । मैले यो सोंचेर काम गरें कि, जो व्यक्तिले मेरो कामका कारण मलाई हेपेका छन्, भोली तिनै व्यक्तिले मलाई मेरै कामका कारणले सम्मान गर्नेछन् ” । त्यही सोंचले नै उतार चढाव आएपनि उनी आफ्नो काममा पूर्ण रुपमा केन्द्रित भए । न्यौपानेका अनुसार, जब कोही व्यक्तिले केही प्राप्त गर्ने अठोटका साथ काम गर्न थाल्छ, उसलाई कुनै चाडपर्व, रमझम, भेटघाटले भन्दा बढी कामले उत्साहित बनाउँछ । त्यही कारण केही समय ऊ परिवार या समाजको अगाडी नराम्रो समेत देखिन्छ । तर त्यो उसको संघर्षको समय हो ।

त्यही संघर्षमा रमाउंदै म:म चाउमिनको सानो होटल संचालन गरेको एक वर्ष पछि उनले सिद्धार्थ होटल भन्ने नाम दिएर आफ्नो होटललाई एउटा तह माथी लगे। कडा मेहनतले उनको त्यो होटल पनि सफल भयो । त्यसपछि उनले उक्त होटल आफ्ना भाइलाई जिम्मा दिएर नेपालगंज गए र सिद्धार्थको नामबाट होटल खोले । त्यहाँ पनि एक वर्ष बसेपछि त्यहाँको होटलको सम्पूर्ण जिम्मा ज्वाईंलाई दिएर उनी अर्को शाखा विस्तारमा लागे । यसरि सिद्धार्थका कटेज, रिसोर्ट, क्याफे विस्तार हुँदै गए र अहिले देशभर गरेर २२ वटा पुगेका छन् । सिद्धार्थ स्थापनाको बीस वर्ष पुग्दा अहिले यो एउटा ब्राण्ड बनिसकेको छ ।

सिद्धार्थ रिसोर्ट

लक्ष्मण न्यौपाने व्यवसाय गर्ने नेपालीहरुमा धैर्यता नहुँदा उनीहरु सफलताको नजिक पुग्दा पुग्दै पनि असफल हुने बताउंछन् । उनी भन्छन् , ” मैले भाँडा माझ्दा दिक्क लागेर बीस वर्ष अगाडी नै होटल गर्न छोडेको भए या त्योभन्दा एक वर्ष पछि पनि व्यवसायबाट दिक्क लागेर छोडेको भए, म यहाँसम्म आइपुग्ने थिइन” । व्यवसायबाट आउने तनाव त छँदै थियो, व्यवसाय बढ्दै जाँदा उच्च तहको पढाइको सर्टिफिकेट आफूसंग नहुनुले उनलाई आफू कमजोर रहेको महसुस समेत भयो । तर उनले त्यो कमजोरीले आफूलाई पराजित गर्न भने दिएनन् । उनले भाषा देखि होटल ज्ञान, व्यवसायिक ज्ञान लगायत आफूलाई चाहिने सामग्रीहरु भएका किताब पढ्न थाले । दक्ष व्यक्तिहरुसंग, सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसंग बसेर छलफल गर्ने, सुझाव लिने गर्न थाले । अहिले पनि उनको झोलामा किताब कहिल्यै छुट्दैन । समय अनुसार अपडेट हुन सकिएन भने पछि परिन्छ भन्ने राम्रो जानकारी भएका उनी हरेक दिन अपडेट हुन्छन् र केही नयाँ कुरा सिक्न उत्सुक रहन्छन् ।

सिद्धार्थ कटेजमा मह जोडी

लक्ष्मण न्यौपानेको यही ज्ञान र दुरदृष्टिले गर्दा सिद्धार्थ ग्रुप अहिले कटेज र क्याफेमा मात्र सिमित नभएर कृषि, इन्स्टिच्युट तथा व्यापारमा समेत सक्रिय छ । गुल्मी जिल्ला कफीको लागि प्रसिद्ध मानिन्छ । सिद्धार्थ ग्रुपले गुल्मीमा कफी व्यवसायसंग तरकारी व्यवसाय समेत गरिरहेको छ । उक्त कफी तथा तरकारी सिद्धार्थकै होटल र क्याफेहरुमा खपत हुन्छ । होटल ट्रेनिंग तथा पढाइ सम्बन्धि इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले इन्स्टिच्युटमा कोर्स पूरा गरिसकेपछि सिद्धार्थकै होटल र रेष्टुरेन्टमा काम पाउँछन् । त्यस्तै, सिद्धार्थ ग्रुपले व्यापार तर्फ पनि, होटलसंग सम्बन्धित वस्तुहरुको व्यापार गरिरहेको छ । यसरि होटल संगै सम्बन्धित कामहरु गर्दा व्यवस्थापन गर्न सजिलो भएको न्यौपाने बताउँछन् ।

लक्ष्मण न्यौपानेका अनुसार, व्यापारमा सफल हुनको लागि बलियो टिम, विश्वास, पारदर्शिता, जिम्मेवारीबोध र अपनत्वको महसुस हुनु जरुरि छ । सिद्धार्थले विश्वासिलो र इमान्दार कामदारलाई सेयरको केही हिस्सा दिने गर्छ । अर्को कुरा, काम राम्रो हुँदा मैले गरेका कारण भन्नु र काम बिग्रिंदा उसले गरेका कारण भन्नु टिमलाई कमजोर बनाउने तथा व्यवसाय असफल हुने संकेत हो । त्यसैले आफ्नो टिमका सदस्यको प्रशंसा गर्नुपर्छ र उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । एउटा सच्चा नेतृत्वले आफू भन्दा तल्लो पदका व्यक्तिको काममा अनावश्यक हस्तक्षेप गर्नु हुँदैन । र, सबैभन्दा महत्वपूर्ण कुरा, सबैको सुझाव, गुनासा, सल्लाह सुन्नुपर्छ, तर निर्णय सधै आफ्नो मनबाट गर्नुपर्छ ।

सिद्धार्थ बिजनेस ग्रुपको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण

सिद्धार्थ ग्रुप व्यवसायमा जति सफल छ, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छ । व्यक्ति मरेर गएपनि उसले गरेको कर्म रहिरहन्छ भन्ने मान्यता राख्ने न्यौपाने सिद्धार्थले ‘ सिद्धार्थ एसोसिएसन फर केयर एण्ड रेस्पन्सिबलिटि ‘ अर्थात् साकार नाम दिएर संस्थागत रुपमै समाजसेवा गरिरहेको बताउँछन् । र, सपनाहरु अझै झाङ्गिदैछन्, पाइलाहरु अगाडी बढिरहेका छन् ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text