विद्यार्थीको लागि स्कुल या कलेज जीवन जति रमाइलो लाग्छ, परिक्षा त्यति नै दबाबमूलक लाग्छ । तर आफ्नो पढाइ तथा परिक्षाको तयारिमा, आफ्नो बानीमा केही ध्यान दिन सक्ने हो भने परिक्षाको तनाव हट्न सक्छ र राम्रो अंक समेत प्राप्त गर्न सकिन्छ ।

परिक्षामा राम्रो अंक कसरी ल्याउन सकिन्छ ? ६ टिप्स :

पढ्दा मिती तथा मूख्य कुराहरुलाई पेन्सिलले लाइन तानेर या हाइलाइट गरेर राख्नुपर्छ। दोहोर्याएर पढ्दा ती कुराहरुमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै, त्यहाँ उल्लेख गरिएका बुँदाहरुमा विशेष ध्यान दिनुपर्छ । आफूले पढेको कुरालाई कापीमा बुँदा बनाएर लेखेर पढ्न सकिन्छ । परिक्षामा पनि महत्वपूर्ण कुराहरु बुँदागत रुपले लेख्दा आकर्षक, सफा र कापी जाँच्ने व्यक्तिको लागि सहज देखिन्छ । यसले गर्दा अंक थप्न मद्दत हुन्छ ।

पाठमा विषय अन्तर्गतका विभिन्न चित्र, डायग्राम आदि हुन सक्छन् । ती चित्रबाट त्यहाँ लेखिएको कुरा बुझ्न सजिलो हुन्छ । त्यसैले ती चित्र या डायग्रामहरु राम्रोसंग बुझ्नुपर्छ, तिनलाई कापीमा बारम्बार लेख्नुपर्छ, बनाउनुपर्छ । यसरि पहिलो त आफूले त्यहाँ लेखिएको कुरा बुझ्न सजिलो हुन्छ भने परिक्षामा ती चित्र या डायग्राम बनाउँदा राम्रो अंक पाउन सकिन्छ । चित्र भने सफा र स्पष्ट बुझिने गरि, व्याख्या सहित लेख्नुपर्छ ।

तपाईंले लेखेर मात्र हुँदैन, तपाईंले लेखेको कुरा कापी जाँच्ने व्यक्तिले स्पष्ट र सजिलो रुपले बुझ्नुपर्छ । त्यसको लागि सफा अक्षर, भाषामा शुद्धता हुनुपर्छ । घरमा पढ्दा लेख्दै पढ्ने गर्ने बानीले एउटा त सम्झिन सजिलो हुन्छ भने अर्को कुरा, अक्षर राम्रो हुन्छ र भाषामा शुद्धता बढ्न मद्दत हुन्छ । त्यस्तै, लेख्दै पढ्दै गर्ने बानीले छिटो लेख्ने बानी बस्छ । यसले गर्दा परिक्षामा समय अभाव हुने समस्याबाट बच्न सकिन्छ ।

धेरै व्यक्तिको बानी एकोहोरो पढीरहने हुन्छ । यस्तो बानीले दिमागमा दबाब बढ्छ । जसले गर्दा मानसिक रुपमा मात्र नभएर शारीरिक रुपमा समेत समस्या निम्तिन सक्छ । दिमागमा धेरै दबाब बढ्नाले स्मरणशक्ति समेत कम हुन्छ र धेरै पढेर पनि कम मात्र दिमागमा बस्छ । यसरि पढ्ने बानीले परिक्षामा बस्दा अत्तालिने, टाउको दुख्ने, पढेको सबै बिर्सिने जस्ता समस्या पनि देखा पर्छन् । त्यसैले पढ्दा ‘ब्रेक’ लिंदै पढ्नुपर्छ । समय समयमा मनोरंजन लिने या आराम गर्ने गर्नुपर्छ । परिक्षाको अघिल्लो राती धेरै समयसम्म पढेर बसिराख्नु हुँदैन । यसको लागि परिक्षा आउनुभन्दा पहिल्यै देखि पढ्न थाल्नुपर्छ ।

पढ्दै गर्दा भोक लागिरहन्छ । यस्तो समयमा जस्तो पायो त्यस्तो खाना खानु हुँदैन । स्वस्थ खाना खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । यसले गर्दा शरीर मात्र नभएर दिमाग पनि स्वस्थ रहन्छ । दिमाग फ्रेश रहन्छ, सोंच्न सक्ने क्षमता, स्मरणशक्ति बढ्छ । स्वस्थ शरीर तथा फ्रेस दिमागका कारण आत्मविश्वास बढ्छ ।

आफूले पढेको कुरा केही छिन पछि सम्झने प्रयास गर्नुपर्छ । ऐना अगाडी बसेर आफूले पढेको कुरा आफैलाई बुझ्नाउने, व्याख्या गर्ने गर्नुपर्छ । त्यस्तै, साथीहरुसंग पनि एक अर्काले पढेको कुरा छलफल गर्न सकिन्छ । यसरि आफूले पढेको कुरा सजिलोसंग बुझ्ने, सम्झने र लेख्ने क्षमतामा वृद्धि हुन्छ ।

यो पनि पढ्नुहोस् :

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text